कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

धान बाली नष्ट हुने कारण केमिकल

साउन अन्तिम साताको बाढीले डुबान भएको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा एकाएक धानका बोट सुकेर नष्ट भएपछि चिन्तामा किसान
भवानी भट्ट

कञ्चनपुर — पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झन्डै ४ बिघाको धान बाली केमिकल मिसिएको पानीका कारण नष्ट भएको प्रमाणित भएको छ । धान बाली नष्ट भएको क्षेत्रको पानीको नमुना परीक्षण गर्दा केमिकल भेटिएको हो । साउन अन्तिम साताको बाढीले डुबान भएको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा एकाएक धानका बोट सुकेर नष्ट भएका थिए ।

धान बाली नष्ट हुने कारण केमिकल

‘धान बाली नष्ट भएको कारण केमिकल नै भएको पुष्टि भएको छ,’ नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले भने, ‘केमिकल कहाँबाट आएको भन्नेबारे अब छानबिन गर्नुपर्छ ।’ उनका अनुसार परीक्षण गरिएको पानीमा केमिकल अक्सिजन डिमान्ड (सीओडी) र बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) को मात्रा भेटिएको हो । बाढीपछि एकाएक धानका बोट सुक्न थालेपछि नगरपालिकाले साउन ३० र भदौ १ मा दुई पटक पानीको नमुना संकलन गरेको थियो । पहिलो पटक भीड धेरै भएकाले मुचुल्का बनाइएको थिएन । दोस्रो पटक नमुना संकलन गर्दा मुचुल्कासमेत बनाइएको थियो ।

साउन ३० मा संकलित नमुनामा सीओडीको मात्रा १४४ मिलिग्राम प्रतिलिटर र बीओडीको मात्रा ५७ मिलिग्राम प्रतिलिटर भेटिएको शाहीले बताए । उनका अनुसार दोस्रो पटक ४ दिनपछि भदौ १ मा संकलित नमुनामा सीओडीको मात्रा ११ र बीओडीको मात्रा ४ भेटिएको छ । संकलित दुवै नमुना सुदूरपश्चिम प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत भदौ ३ मा परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा पठाइएको थियो । नार्कमा पानी परीक्षण हुन नसक्ने भएपछि काठमाडौंमै निजी प्रयोगशाला वाटर इन्जिनियरिङमा परीक्षण गरिएको हो ।

‘केमिकलकै कारण धान, माछा र अन्य घाँसपात सुकेको रिपोर्टमै उल्लेख छ,’ शाहीले भने, ‘वनस्पति र जीवहरू बाँच्नलाई चाहिनेभन्दा बढी मात्रामा सीओडी र बीओडी भेटिएको छ ।’ धान सुक्न थालेपछि किसानले नजिकै रहेको भागेश्वर सुगर मिलबाट बगेर आएको केमिकलकै कारण क्षति भएको बताउँदै आएका छन् । सुगर मिल भएको क्षेत्रभन्दा माथितिरको धानमा कुनै क्षति नपुगेकाले पनि किसानदेखि प्राविधिकले मिलबाटै केमिकल बगेको हुन सक्ने अनुमान गरिरहेका छन् ।

शाहीले आइतबार नगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर केमिकलबारे थप छानबिन गरिने बताए । यस विषयमा विज्ञहरूसँग पनि आवश्यक सल्लाह गरिने उनको भनाइ छ । सुगर मिलले पानीमा भेटिएको केमिकल प्रयोग गर्छ वा गर्दैन पत्ता लगाएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जनाए । सुगर मिलभन्दा तल्लो क्षेत्रमा मात्रै धानमा क्षति पुगेका कारण सुगर मिलबाटै केमिकल बगेर आएको किसानको दाबी छ ।

‘सुगर मिलले कस्तो खालको केमिकल प्रयोग गर्छ, पानीमा भेटिएको केमिकल कहाँबाट आएको हो, यो सबै छानबिन गर्नुपर्छ,’ कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख टीकाराम थापाले भने, ‘केमिकलबाटै धानमा क्षति पुगेको प्रमाणित भएको छ ।’ दोदा नदीमा आएको बाढीपछि डुबान परेको क्षेत्र पुनर्वास–५ को सिमरी र उद्री तथा पुनर्वास–१० परासनमा ३८५ बिघा धान र २ सय १८ बिघा उखुमा क्षति भएको कृषि शाखाले जनाएको छ ।

प्रकाशित : आश्विन १६, २०८० ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?