कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पूर्वी तराईंमा जुट खेती लोप हुँदै

विनोद भण्डारी

विराटनगर — पूर्वी तराईमा नगदेबालीका रुपमा चिनिएको जुट खेती हाल लोप हुँदै गएको छ । दुई दशक पहिला मोरङमा झण्डै ४० हजार हेक्टरमा जुटखेती हुने गरेकोमा हाल ५ हजार हेक्टरमा सीमित भएको छ । पहिले मोरङका प्राय सबै स्थानीय तहमा जुटको खेती हुन्थ्यो भने अहिले सीमावर्ती क्षेत्रमा धनपालथान, जहदा, सुनवर्षी, रतुवामाई र रंगेली क्षेत्रका किसानले जुट खेतीको बिँडो मात्रै थामेका छन् । 

पूर्वी तराईंमा जुट खेती लोप हुँदै

उत्पादिन जुटले पनि उचित मूल्य पाउन सकेको छैन । गतवर्ष यो समयमा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार रुपैयाँ थियो भने यो वर्ष प्रतिक्विन्टल ९ हजार रुपैयाँ मात्र रहेको मोरङ व्यापार संघको सूची छ । जुटमा लागत अनुसार मूल्य नपाउनु, जुट तोप्ने खाडलको समस्या हुनु र खेतीका लागि आवश्यक मजदुर नपाउनु नै यो खेती विस्तारै लोप हुँदै जानुको मुख्य कारण भएको धनपालथान नोचाका किसान अकवर हुसेनको भनाइ छ ।

डेढ दशक पहिलेसम्म मोरङ, सुनसरी र झापामा झण्डै ७० हजार हेक्टरमा जुट खेती हुने गरेकोमा अहिले करिब सात हजार हेक्टरमा सीमित भएको कोशी प्रदेश कृषि निर्देशनालयको तथ्याङक छ । निर्देशनालयका अनुसार दुई दशक पहिला झण्डै ४० हजार हेक्टरमा जुट खेती हुने मोरङमा अहिले ५ हजार ७० हेक्टरमा सीमित छ । २० हजार हेक्टरमा खेती हुने गरेको सुनसरीमा अहिले १ हजार ३ सय हेक्टर र १० हजार हेक्टरमा खेती हुने झापामा अहिले ५ सय ५० हेक्टरमा खेती सीमित छ । दुई दशक पहिला यस क्षेत्रमा झण्डै ८० हजार टन कच्चा जुट उत्पादन हुने गरेकोमा हाल वार्षिक सरदर करिव १० हजार टन कच्चा जुट उत्पादन हुने गरेको निर्देशनालयको तथ्याङक छ ।

दुई दशक पहिले कच्चा जुट भारत निकासी हुने गरेकोमा अहिले ठूलो परिमाणमा भारत र बंगलादेशबाट आयात गरेर सुनसरी मोरङ औद्योगिक क्षेत्रका आधा दर्जन जुट उद्योग सञ्चालन हुँदै आएको जानकार मोहनचन्द्र घिमिरेले बताए । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा स्थापना भएका एक दर्जन जुट उद्योगमध्ये अहिले ६ वटा उद्योग मात्र सञ्चालनमा छन् । ती जुट उद्योगलाई आवश्यक पर्ने कच्चा जुटमध्ये स्थानीय उत्पादनले २० प्रतिशत मात्र धान्छ । नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाका अनुसार बाँकी जुट भारत र बंगलादेशबाट आयात हुँदै आएको छ ।

गत वर्ष ती उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरेर ८ अर्ब मूल्य बराबरको जुट सामाग्री भारत निकासी गरेको निकासी तथा प्रबद्धन केन्द्रको तथ्याङ्क छ । उत्पादित जुटले लागत अनुसारको मूल्य नपाउनु जुट खेती घट्नुको मुख्य कारण रहेको जानकार घिमिरेको भनाइ छ । कृषि ज्ञानकेन्द्र मोरङले गतवर्ष किसानलाई जुट कुहाउने खाडल खन्नका लागि जुट प्रवर्द्धन कार्यक्रम अन्तर्गत ३० जना किसानलाई प्रतिकिसान २० हजार रुपैयाँ सहयोग गरेको थियो ।


प्रकाशित : आश्विन १२, २०८० १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×