कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बिराना बन्दै पाहुना हिँड्ने बाटा

पाहुना हिँड्ने बाटा झाडीले छोपिएका छन्, अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतका महरे, पुनहिल र खोप्रातिर फाट्टफुट्ट बाह्य पर्यटक आए पनि बाँकी पदमार्गका होटल, रेस्टुराँ तथा होमस्टे विरक्तलाग्दा छन्
घनश्याम खड्का

म्याग्दी — कोरोना महामारीसँगै सुस्ताएको पर्यटन क्षेत्र फेरि ब्युँतिन नसकेपछि यहाँका पर्यटकीय पदमार्ग बिराना बन्न थालेका छन् । पाहुना हिँड्ने बाटा झाडीले छोपिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतका महरे, पुनहिल र खोप्रा पदमार्गमा फाट्टफुट्ट बाह्य पर्यटक आए पनि बाँकी पदमार्गका होटल, रेस्टुराँ तथा होमस्टे विरक्तलाग्दा छन् । 

बिराना बन्दै पाहुना हिँड्ने बाटा

धार्मिक पर्यटक, साहसिक पदयात्रा, जलयात्रा, मेडिसिन, कृषि, सिकार (हन्टिङ), पर्यापर्यटन तथा हिमाल आरोहण गर्न जानेसमेत जिल्लाका कम्तीमा १२ वटा पाहुना डुलाउने नयाँ/पुराना पदमार्ग सुनसान छन् । ‘०७२ सालको भूकम्पपछि नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको हो ।

त्यसलगत्तै भारतीय नाकाबन्दी अनि तङ्ग्रिन नपाउँदै कोरोना महामारीले थला परेको पर्यटन फेरि ब्युँझने आशा थियो, रसिया–युक्रेन युद्ध र विश्वव्यापी आर्थिक मन्दीले फेरि पर्यटन क्षेत्र प्रभावित बनेको छ,’ बेनी नगरपालिका–४ सिङ्गाका पर्यटन व्यवसायी प्रमोद श्रेष्ठले भने, ‘कोरोनापछि पर्यटकको लर्को लाग्ने विश्वासमा करोडौं खर्चेर ठूला होटलसमेतका पूर्वाधार बनाइयो । तर सोचेझैं पर्यटक आएनन् । पर्यटनमा गरेको लगानी डुबेपछि जिल्लाका दर्जनभन्दा बढी नयाँ व्यवसायी आर्थिक संकटमा छन् ।’

जिल्लामा विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गबाहेक गुर्जा, पुथा र चुरेन हिमाल बेसक्याम्प हुँदै डोल्पा निक्लने यार्चागुम्बु ट्रेल, हिडन भिलेज हुँदै रुकुम निक्लने गुर्जा ट्रेल, माओवादीले सशस्त्र विद्रोहकालमा प्रयोग भएको बेनी–ताकम–जलजल–रुकुमको मैकोट हुँदै रोल्पाको थबाङ जोड्ने गुरिल्ला ट्रेल र ढोरपाटन सिकार आरक्ष पुग्ने ढोरपाटन पदमार्गमा पछिल्ला केही वर्षदेखि पर्यटक आएका छैनन् । पर्यटक नै नआएपछि पर्यटन क्षेत्रका होटल रेस्टुराँ बन्द भई व्यवसायी विस्थापित भएका हुन् ।

‘माओवादीको द्वन्द्वकालमा पनि बरु विदेशी पर्यटक आउँथे । पर्यटन विकास गर्ने भनेर बाटा मर्मत गर्‍यौं, पर्यटकका लागि खाना, खाजा पकाउने तालिम लियौं । गाउँका घर मर्मत गरी होमस्टेसहित होटल, रेस्टुराँ बनायौं । तर कोरोनापछि गाउँमा झन् पर्यटक आउनै छाडे,’ ढोरपाटन सिकार आरक्षभित्र पर्ने धवलागिरि गाउँपालिका–२ लम्सुङस्थित लम्सुङ होटलकी ममता पुनले भनिन्, ‘ढोरपाटन सिकार आरक्ष हुँदै उपल्लो डोल्पा जाने र गुर्जा, चुरेन, पुथा हिमाल जाने पर्यटक पर्यटक छुट्टिने दोभानमा रहेको लम्सुङमा पर्यटन मन्त्रालयले बनाएको क्याम्पेन साइट र पाहुना घरमा पनि अलपत्र छ ।’

म्याग्दी खोला करिडोरबाट गरिने धवलागिरि प्रथम आरोहण गर्न सोझै बेसक्याम्पमा ओर्लने आरोहीका कारण सिजनमा चहलपहल हुने गरे पनि पदमार्ग सुनसान छन् । पदमार्गका पर्यटन व्यवसायी विस्थापित भइसके । पछिल्ला केही वर्षदेखि धवलागिरि फन्को लगाउने, धवलागिरि सेन्चुरी र धवलागिरि आइसफल हुँदै मुस्ताङको टुक्चे निक्लने आइसफल ट्रेलमा एक जना पनि पर्यटक हिँडेका छैनन् ।

नारच्याङ हुँदै अन्नपूर्णको पश्चिम फेदी र नीलगिरिको पूर्वी फेदी जोडिएको संयुक्त बेस क्याम्प तथा अन्नपूर्ण आरोहणमा पर्यटक आउने गरे पनि उनीहरू तातोपानीबाट सोझै बेस क्याम्प ओर्लने गरेका छन् । ‘अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्ने पर्यटक र अन्नपूर्ण प्रथम आरोहण गर्ने आरोहीको संख्या बढेको छ । तर न पर्यटक, न तिनका सहयोगी पैदल मार्गबाट जान्छन् ।

ट्रेकिङ एजेन्सी कम्पनीहरूले ताातोपानीबाट सोझै हेलिकोप्टरबाट पर्यटक बोक्ने भएकाले बीचका पर्यटन व्यवसायी चिन्तित छन्,’ पर्यटन व्यवसायी तेजबहादुर गुरुङले भने, ‘सहरमा पर्यटन दिवस मनाएर के गर्नु ? पर्यटन दिवस मनाउनेहरू नै एक दिनको पदयात्रा गर्दैनन् ।’

प्रकाशित : आश्विन १२, २०८० ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×