कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

स्थापनाको १२ वर्षमा लगानी बोर्डले गर्‍यो ४२ परियोजनामा साढे १२ खर्ब लगानी

काठमाडौँ — स्थापनाको १२ वर्षमा लगानी बोर्डले ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनामा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको मात्रै लगानी परिचालन भएको छ ।

स्थापनाको १२ वर्षमा लगानी बोर्डले गर्‍यो ४२ परियोजनामा साढे १२ खर्ब लगानी

शुक्रबार बोर्डको १२ वर्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी स्वीकृत गरेका आयोजनाको बारेमा जानकारी दिएका हुन् ।

लगानी बोर्डले स्वीकृत गरेका ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होङ्सी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन् । धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको भट्टले जानकारी दिए । बोर्डले स्वीकृत गरेको ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् ।

९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका बोर्डले जनाएको छ । ४५० मेगावाटको सेती नदी –६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयार हुँदैछ । यसका साथै ३२७ मेगावाटको अपर मर्स्याङ्दी – २ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ भने पीडीएको तयारी समेत भएको बोर्डको भनाइ छ ।

नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको पुनर्लगानी गर्ने भएको छ । लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपालमैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भइ वार्ता समितिले कार्य थालनी गरिसकेको भट्टले जनाए ।

यस अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक – निजी साझेदारी (पीपीपी) को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको भट्टको भनाइ छ ।

उक्त अवसरमा तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताका क्रममा विकासकर्तासँग अन्तिम चरणको वार्तामा सहभागी हुने लगानी बोर्ड तर्फको पीडीएको वार्ता टोली र विकासकर्ता समेतलाई सम्मान गरिएको थियो । त्यस्तै, विदेशी लगानी आकर्षण एवं प्रवर्द्धनका लागि लगानी बोर्डको कार्यालयसँग निरन्तर सहकार्य गरी सहयोग पुर्‍याएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।


प्रकाशित : भाद्र २२, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×