कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

रोगले सुक्न थाले सुन्तला

पिंक ढुसीजन्य रोग भएकाले एक बोटमा २५ देखि ४० प्रतिशतसम्म क्षति
विप्लव महर्जन

सल्यान — सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको बाग्चौर नगरपालिका–८ र ९ कोटमौलामा किसानले लगाएको सुन्तलामा ढुसीजन्य पिंक रोगको प्रकोप देखिएको छ । किसानले ओसिलो तथा बाक्लै सुन्तला लगाएको ठाउँमा रोगको प्रकोप देखिएको हो । रोगका कारण किसानको बगैंचामा फल लागेका सुन्तला बोट सुक्दै गएका छन् ।

रोगले सुक्न थाले सुन्तला

बाग्चौरका दुई वडामा झन्डै ३ सय किसान व्यावसायिक सुन्तला खेतीमा निर्भर छन् । उनीहरूले झन्डै २ हजार रोपनी जग्गामा एक लाखभन्दा बढी सुन्तलाका बोट लगाएका छन् । त्यसमध्ये रोगका कारण करिब २० सुन्तलाका बोट सुकेको कृषि प्राविधिकको भनाइ छ । बगैंचामा रोगको प्रकोप फैलिएपछि कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा विज्ञको टोलीसहित रोगको पहिचान र नियन्त्रण र अनुगमनका लागि किसानको बगैंचामा पुगेका थिए ।

तीन दशकदेखि व्यावसायिक सुन्तला खेती गरेर वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका किसान भरतनाथ योगीले ४५ रोपनीमा लगाएका १ हजार बोटमध्ये २ सय हाराहारी बोटमा रोग किराको प्रकोप देखिएको गुनासो गरे । ‘रोगले गर्दा बोट हाँगाबाट सुक्दै गएका छन्,’ उनले भने, ‘फल झरेका छन्, सुरुमा रोगको पहिचान गर्न सकिएन, अहिले धेरै बोटमा रोग फैलियो ।’ अर्का किसान अंगेश्वर डाँगीले पनि आफ्नो बगैंचामा लगाएका करिब ६ सय सुन्तला बोटमध्ये झन्डै १ सय बोटमा रोगको प्रकोप देखिएको जनाए ।

३५ रोपनीमा झन्डै ५ सय बोट सुन्तला लगाएका कोटमौलाकै अर्का किसान रेशम डाँगीले रोगका कारण हाँगा नसुकेका बोटमा फलेका सुन्तलासमेत पहेँलिँदै झर्दै गएको बताए । उनको बगैंचाका झन्डै ६०/७० बोट सुन्तलाका एक छेउबाट हाँगा सुक्दै गएका छन् । ‘सुन्तला बिक्री गरेर वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ, यसैले जीविकोपार्जन भइरहेको छ,’ उनले भने, ‘यसपालि फलेका फल पनि विस्तारै झर्न थाले, उत्पादन राम्रो नभए वर्षभरिको परिवारको खर्च धान्न समस्या हुन्छ ।’ ५ वर्षअघि सुन्तलामा सिट्रस ग्रिनिङ रोग फैलिएको थियो । बर्सेनि विभिन्न रोग लाग्दा सुन्तलाको उत्पादन घट्दै गएको उनको गुनासो छ ।

पिंक ढुसीजन्य रोग भएकाले एक बोटमा २५ देखि ४० प्रतिशतसम्म क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख रेसमबहादुर बस्नेतको भनाइ छ । ‘किसानले सुन्तलामा रोग लागेको जानकारी गराएपछि परीक्षणका लागि हामीले कृषि अनुसन्धान परिषद् (नार्क) मा नमुना पठाएका थियौं,’ उनले भने, ‘पिंक रोग पुष्टि भएपछि अहिले रोग नियन्त्रणका लागि किसानलाई कपर अक्सिकलराइड नामक विषादी उपलब्ध गराई सुन्तलामा छर्न लगाएका छौं ।’

झन्डै ५ सय थान विषादी किसानलाई वितरण गरिएको र थप २ सय ५० थान विषादी मगाइएको उनले जानकारी दिए । कोटमौलाका दुई वडाले मात्र सुन्तला बिक्री गरेर वार्षिक १० करोड रुपैयाँ भिर्‍याउँदै आएकामा यस वर्ष झन्डै ४० प्रतिशत उत्पादनमा गिरावट आउने उनको अनुमान छ । बाग्चौर नगरपालिका–३, छत्रेश्वरी गाउँपालिका–१ र २ दमाचौर, दहखोला, त्रिवेणी गाउँपालिकाको फलाबाङ, शारदा नगरपालिकाको कजेरी, रातामाटा, मार्केलगायत सुन्तला बढी उत्पादन हुने ठाउँमा पनि रोग किराको प्रकोप फैलिएको छ ।

प्रकाशित : भाद्र १९, २०८० २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×