कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

कैलालीमा क्वारेन्टाइन बन्दले आयात ठप्प

सुदूरपश्चिममा चामल, गहुँ लगायतका खाद्यान्न, मकै, भटमास, पिनालगायत दाना उद्योगका लागि आवश्यक वस्तुहरु, तरकारी र फलफूलको हाहाकार हुने अवस्था
व्यवसायीद्धारा आन्दोलनको चेतावनी
अर्जुन शाह

धनगढी — सुदूरपश्चिमको प्रमुख भन्सार नाका कैलालीको त्रिनगरमा सञ्चालित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र बन्द भएको छ । क्वारेन्टाइन बन्द हुँदा भारतबाट आयात हुने खाद्यान्न, फलफूल र तरकारी आयात ठप्प छ ।

कैलालीमा क्वारेन्टाइन बन्दले आयात ठप्प

गत साउन २८ देखि त्रिनगरमा सञ्चालित क्वारेन्टाइन बन्द भएको हो । निमित्त प्रमुख प्रमोद ठगुन्ना बिदामा गएपछि उक्त क्वारेन्टाइन बन्दको अवस्था आएको हो । त्रिनगर भन्सार नाकाबाट दैनिक खाद्यान्न, फलफूल र तरकारीका २० देखि २५ ट्रक आयात हुने गरेको व्यवसायीहरु बताउँछन् ।

नेपाल उद्योग वाणिज्य संघ कैलालीले त्रिनगरमा सञ्चालित क्वारेन्टाइन बन्द भएकोमा आपत्ति जनाउँदै सुदूरपश्चिममा चामल, गहुँ लगायतका खाद्यान्न, मकै, भटमास, पिनालगायत दाना उद्योगका लागि आवश्यक वस्तुहरु, तरकारी र फलफूलको हाहाकार हुने अवस्था आएको जनाएको छ । आइतबार संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पुष्पराज कुँवरले भने ‘झण्डै एक महिना हुन थाल्यो, आयात ठप्प छ । हामीले मन्त्रालयदेखि सम्बन्धित निकाय सबैतिर अनुरोध गरिसक्यौं, तर सुनुवाई हुँदैन । अब आन्दोलनमा उत्रन्छौं ।’ दसैं लगायत चाडबाड पनि नजिकिदै गएकाले संकट हुन थालेको उनले बताए ।

कैलालीका खाद्यान्न व्यवसायी मनोज अग्रवाल सुदूरपश्चिमको व्यापार व्यवसाय क्षेत्र नियोजितरूपमा धरासायी गर्ने उद्देश्यले त्रिनगरको प्लान्ट क्वारेन्टाइन बन्द गरिएको बताउँछन् । ‘चार वर्षदेखि सञ्चालित कार्यालय बन्द गर्नुपर्ने कारण के हो ? हामीले नयाँ कार्यालय मागे गरेको नभइ भएकै कार्यालय चल्नुपर्ने हुनुपर्ने माग मात्र गरेका हौं,’ उनले भने ‘कैलालीमा ५ वटा दाना उद्योग छन्, अहिले ती उद्योग प्रभावित भएका छन् । यस्तै अप्ठेरोका कारण करिब ६ अर्ब लगानीको डल्फीन दाना उद्योग कैलालीबाट विस्थापित भएर कोहलपुर सर्‍यो ।’ अर्कोतिर विस्तारै केही उत्पादनहरु निकासीतर्फ लम्किरहेको सुदूरपश्चिम यसबाट प्रभावित भएको उनको भनाइ छ ।

सम्बन्धित निकायमा यो समस्याबारे जानकारी गराउँदा नेपालगञ्ज वा गड्डाचौकी नाकाबाट आयात गर्न भनिने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष कुँवर बताउँछन् । ‘गड्डाचौकीमा गाडी ओहोरदोहार नै सीमित समय र संख्यामा हुने गरेको छ भने नेपालगञ्जबाट ल्याउँदा समय र ढुवानी खर्च महँगो हुने अवस्था छ,’ उनले भने ‘सुदूरपश्चिमलाई जसरी पनि पछाडि पार्ने नियतले काम भइरहेको देखिन्छ ।’

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रीय कार्यालय हरिहर भवनका प्लान्ट क्वारेन्टाइन नियमन तथा अनुगमन शाखाका कृषि प्रसार अधिकृत देवराज भुसालले कैलालीको त्रिनगरमा क्वारेन्टाइन कार्यालय नै नभएको बताए । ‘देशभर १५ वटा कार्यालय मात्र छन् । यसअघि महेन्द्रनगरको गड्डाचौकी क्वारेन्टाइन कार्यालयकै एक कर्मचारीले कैलालीको त्रिनगरमा पनि हेर्नुहुन्थ्यो । त्यहाँ कार्यरत प्रमोद ढुंगाना तालिममा गएपछि बन्द हुने अवस्था आएको हो,’ उनले भने, ‘खासमा त्रिनगरमा हाम्रो कार्यालय नै नभएकाले हामी त्यहाँ क्वारेन्टाइन सञ्चालन गर्न बाध्य छैनौं ।’

उनका अनुसार सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाटमा मात्र क्वारेन्टाइन कार्यालय छ । तर कैलालीको त्रिनगर नाका नै सुदूरपश्चिममा सबैभन्दा बढी काम हुने ठाउँ भएको भुसालले स्वीकारे । उपल्लो तहबाट निर्णय भए मात्र कैलालीको त्रिनगरमा क्वारेन्टाइन सम्भव हुने उनको भनाइ छ ।

क्वारेन्टाइन सञ्चालन भएका बेला त्रिनगर भन्सार कार्यालयमा दैनिक १० लाख राजस्व संकलन हुने गरेकोमा अहिले स्वतः प्रभावित भएको कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×