कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

भैरहवा नाकाबाट भारत निकासी हुन थाल्यो नेपाली गोलभेंडा

माधव ढुंगाना

भैरहवा — भैरहवा नाकाबाट नेपाली गोलभेंडा आधिकारिक रुपमा भारत निकासी हुन थालेको छ । भारतमा गोलभेंडाको उत्पादनमा कमी आइ अभाव हुन थालेपछि नेपाली गोलभेंडाले भारतमा पनि बजार पाउन थालेको हो । यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचीमा गोलभेंडा पनि समावेश गरेको थियो ।

भैरहवा नाकाबाट भारत निकासी हुन थाल्यो नेपाली गोलभेंडा

भारतमा गोलभेंडाको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महँगोमा बिक्री हुने भएकाले सिमावर्ती नेपालबाट अवैध तरिका(तस्करी)बाट नेपाली गोलभेंडा भारत जाने गर्दथ्यो ।

भैरहवा भन्सार कार्यालयका अनुसार, गत साउन २८ गतेदेखि नेपाली गोलभेंडा भैरहवा नाकाबाट भारत हुन थालेको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले एक हप्तामा भैरहवा नाकाबाट तीन पटक गरेर ७ मेट्रिक टन नेपाली गोलभेंडा भारत निकासी भएको बताए ।

नेपाली गोलभेंडा भारत निकासी हुँदा सीमा नाकामा रहेको नेपाली क्वारेन्टाइन कार्यालयबाट रोग, किरा नभएको प्रमाणित गर्नुपर्ने प्रावधान छ । ‘यस नाकाबाट औपचारिक रुपमा नेपाली गोलभेंडा भारत निकासी हुन थालेको यो पहिलो पटक हो,’ प्लान्ट क्वारेन्टाइन बेलहिया रुपन्देहीका प्रमुख कुलदिप घिमीरेले भने । उनका अनुसार, डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरले नेपाली गोलभेंडा भारत उत्तरप्रदेशको त्रिसागर फर्मर प्रोड्युसर कम्पनी लिमिटेडलाई निर्यात गरेको हो । नेपाली गोलभेंडा भारत निकासी हुँदा सिमावर्ती भारतको भन्सारमापनि बिना महसुल शून्य भन्सारमा निकासी हुने गरेको छ । नेपाली भन्सारमा पनि निकासीमा कुनै शुल्क लाग्दैन ।

नेपाली गोलभेंडाको निर्यातकर्ता डायमन्ड इन्टरनेसनल सिद्धार्थनगरका सञ्चालक सोनु खानले भैरहवामा आउने गरेको सल्यानको कपुरकोटमा उत्पादित नेपाली गोलभेंडा भैरहवादेखि भारत निकासी गरिएको र भारतबाट माग भए अनुरुप नेपाली गोलभेंडा उपलब्ध गराउन नसकिएको बताए । उनका अनुसार, हाल नेपाली गोलभेंडा भारतमा करिब एक सय भारुमा बिक्री हुने गरेको छ ।

प्रकाशित : भाद्र ३, २०८० ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×