कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एप्पल र माइक्रोसफ्ट विश्वकै मूल्यवान दुई कम्पनी

कान्तिपुर संवाददाता

काठमाडौँ — जुलाइ महिनाको अन्तिम साता प्रविधि कम्पनीहरूको सेयर मूल्यमा आएको उछालले विश्वका दुई ठूला प्रविधि कम्पनी एप्पल र माइक्रोसफ्टको कुल बजार मूल्यमा सुधार मात्रै गरेन, विश्वकै मूल्यवान कम्पनीका रूपमा समेत स्थापित गरिदिएको छ ।

एप्पल र माइक्रोसफ्ट विश्वकै मूल्यवान दुई कम्पनी

वित्तीय बजार विश्लेषण गर्ने प्लाटफर्म रिफिनिटिभ आइकोनले जुलाई ३१ को बजार मूल्यलाई आधार मानेर सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वका दश मूल्यवान कम्पनीमध्ये ६ प्रविधि वा ईकमर्स क्षेत्रका छन् भने ९ कम्पनी अमेरिकाका छन् ।

विश्वका दश मूल्यवान कम्पनीको तेस्रो स्थानमा रहेको साउदी अराम्को अमेरिका बाहिरको एकमात्र प्रमुख कम्पनी हुन पुगेको हो । जुलाइ अन्त्यसम्ममा एप्पलको बजार आकार (पुँजीकरण) ३० खर्ब अमेरिकी डलरभन्दा बढी, माइक्रोसफ्टको बजार आकार झन्डै २५ खर्ब र साउदी अराम्कोको बजार आकार झन्डै २४ खर्ब डलर बराबरको पुगेको आँकडाहरूले देखाएका छन् । १० खर्ब अमेरिकी डलरभन्दा बढीको बजार आकार सहित सो सूचीको चौथो, पाँचौ र छैटौं स्थानमा अल्फाबेट (गुगल), अमेजन र चिप उत्पादक एनभिडिया रहेका छन् । उत्कृष्ट दशमा सामेल अन्य कम्पनीमा टेस्ला, मेटा (फेसबुक), बर्कसायर हाथवे र भिसा रहेका छन् ।

स्मार्टफोनको माग र बजार २०१६ यता पहिलोपटक उल्लेख्य रूपमा घटेको रिपोर्टहरू सार्वजनिक भएका बेला पनि जुलाइ महिनामा एप्पलको सेयर झन्डै १० प्रतिशतले बढेर १५० अमेरिकी डलर अर्थात् अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । यस्तै माइक्रोसफ्टको सेयर पनि ७ प्रतिशतभन्दा बढीले, अमेजनको सेयर झन्डै ६ प्रतिशत, अल्फाबेटको सेयर झन्डै ५ र टेस्लाको सेयर झन्डै ४ प्रतिशतले बढेको छ । यी सबैको बीचमा भर्खरै आफ्नो नयाँ एप थ्रेड्स सार्वजनिक गरेको र आफ्नै एआई च्याटबट ल्याउने तयारीमा रहेको भनिएको फेसबुकको बजार आकार पनि झन्डै १० प्रतिशतले बढेको छ । साथै, यसको आम्दानी बढ्ने क्रम जारी रहने प्रक्षेपण गरिएको छ ।

उत्कृष्ट २० मा सामेल अन्य कम्पनीहरूमा चिप उत्पादक, बीमा तथा स्वास्थ्य सेवा प्रदायक, इकमर्स, मल्टिमिडिया, इन्धन उत्पादक कम्पनीहरू रहेका छन् । ठूला २० मा फ्रान्सको कम्पनी लुइ भटोनसँगै चीनको सेन्जेनमा अवस्थित बहुद्देशीय मल्टिमिडिया कम्पनी टेन्सेन्ट होल्डिङ्स र ताइपेइमा अवस्थित चिप उत्पादक ताईवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी सामेल छन् । रिफिनिटिभको तथ्यांकले ६९ प्रतिशतभन्दा बढी ठूला तथा मझौला अमेरिकी कम्पनीले भर्खरै सकिएको त्रैमासिकमा अपेक्षा गरिएको भन्दा राम्रो कमाइ गरेको देखाएको छ भने ड्यान इभ्सजस्ता विश्लेषकले आर्टिफिसियल इन्टेलिजेन्सका कारण प्रविधि कम्पनीहरूको दिन फर्किएको आँकलन सार्वजनिक गरेका छन् ।

प्रकाशित : श्रावण १७, २०८० १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×