कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

गत वर्ष सवा ८ अर्बको अलैंची निर्यात, यो वर्ष उत्पादन घट्ने अनुमान

सीमा तामाङ

काठमाडौँ — गत आर्थिक वर्ष ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ बराबरको ९९ लाख ९० हजार ८५९ किलो अलैंची निर्यात भएको छ । यो निर्यात हालसम्मकै उच्च रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालको कुल उत्पादनको ९८ प्रतिशत अलैंची निर्यात हुने र २ प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ ।

गत वर्ष सवा ८ अर्बको अलैंची निर्यात, यो वर्ष उत्पादन घट्ने अनुमान

अघिल्लो वर्ष मौज्दात राखिएको २५ प्रतिशत उत्पादन र गत वर्ष ५० प्रतिशत उत्पादन वृद्धि भएकाले निर्यात बढेको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । गत वर्ष अलैंची निर्यात बढे पनि यस वर्ष ५ अर्ब हाराहारीमा मात्रै अलैंची निर्यात हुने नेपाल अलैंची व्यवसायी महासंघको भनाइ छ । यस वर्ष अलैंची उत्पादन ५० प्रतिशत घट्ने हुँदा निर्यातसमेत स्वतः कम हुने महासंघका अध्यक्ष निर्मल भट्टराईले जनाए । ‘अलैंचीको फूल फुल्ने मौसममा गर्मी धेरै भयो, अकासे पानी परेन, सिँचाइ गर्न सकिएन,’ उनले भने, ‘अकासे पानीको भर पर्नुपर्दा अलैंची उत्पादन घट्ने अनुमान छ ।’

आर्थिक वर्ष ०७८/७९ मा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैंची निर्यात भएको विभाागको तथ्यांक छ । आर्थिक वर्ष ०७७/७८ मा ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । महासंघका अनुसार हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको छ । नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहे पनि पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । आर्थिक वर्षको अन्त्यतिर मूल्य बढ्दा गत वर्ष अलैंची धेरै निर्यात भएको र यस वर्ष करिब २ हजार टन मात्रै अलैंची मौज्दात रहेको भट्टराईको भनाइ छ ।

अलैंची आफ्नै उत्पादन र निर्यात हुने वस्तु भएकाले यसको उत्पादनका लागि सरकारले सिँचाइको व्यवस्था गरिदिनुपर्ने उनले बताए । ‘अलैंचीको फूल फुल्ने समयमा पानी चाहिन्छ । पानी भएन भने फूल फुल्दैन र उत्पादन हुँदैन,’ उनले भने, ‘अलैंची खेतीका लागि किसान आकर्षित भइरहेका बेला सरकारले सिँचाइमा जोड दिनुपर्छ ।’ नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहँदै आएकामा पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । भारतमा कच्चा पदार्थका रूपमा अलैंची जाने गरेको छ । पछिल्लो समय प्रशोधन गरी निर्यात गर्दा अनुदानसमेत पाइने हुँदा व्यवसायी त्यसतर्फ पनि आकर्षित भइरहेको महासंघका अध्यक्ष भट्टराईले जनाए ।

कृषि तथा पशुपन्छी डायरी ०८० अनुसार आर्थिक वर्ष ०७८/७९ मा ८ हजार ७ सय १४ टन अलैंची उत्पादन भएको थियो । उक्त वर्ष १५ हजार ९ सय ७६ हेक्टर जग्गामा अलैंची खेती गरियो । आर्थिक वर्ष ०७७/७८ मा १५ हजार ६ सय ६८ हेक्टर जग्गामा अलैंची खेती हुँदा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा ९ हजार ५ सय ४५ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा भने ७ हजार ९ सय ५४ टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ ।

अलैंची खेती गर्ने सबै जिल्लामा रोग लागेको अलैंची विकास केन्द्रका प्रमुख राजन परियारले बताए । ‘ढुसीका कारण डढुवा लाग्छ, त्यसबाट धेरै बगान सखाप भए,’ उनले भने, ‘अलैंची उत्पादन हुने सबै जिल्लामा यो रोग पुगिसकेको छ, इलामका धेरै ठाउँमा बगान सखाप भएका छन् ।’ यी रोग ‘रेसिस्टेन्ट’ भइसकेकाले विषादी हाल्दामेत ठीक नहुने गरेको उनको भनाइ छ । ‘अलैंचीमा डढुवा रोग पुरानो भइसक्यो, विषादी हाल्दासमेत रोग बसिररहन्छ,’ उनले भने, ‘त्यसैले प्रांगारिक उत्पादनबाहेकको विकल्प नै छैन । केन्द्रले पनि यससम्बन्धी अध्ययन गरिरहेको छ ।’

प्रकाशित : श्रावण १०, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×