कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ट्विटरमा भद्रगोल भएको मौका छोपी मेटाले 'थ्रेडस्' एप ल्याउँदै

काठमाडौँ — मेटाले यही साता इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लाटफर्म सार्वजनिक गर्ने भएको छ । पछिल्लो पटक ट्विटरका मालिक इलन मस्कले दैनिक पढ्न मिल्ने ट्विटमा समेत कोटा सिस्टमको घोषणा गरिदिएपछि यसले ट्विटरलाई ठूलो क्षति हुने अनुमान छ । यही मौकामा मेटाले थ्रेड्स नामक इन्स्टामा आधारित एप प्रयोगकर्तामाझ ल्याउने भएको हो ।

ट्विटरमा भद्रगोल भएको मौका छोपी मेटाले 'थ्रेडस्' एप ल्याउँदै

आफ्नो सञ्जालको डेटा दुरूपयोग भएको भन्दै इलनले तत्काल लागू हुने गरी भेरिफाइड प्रयोगकर्ताले ६ हजार, अन्य प्रयोगकर्ताले ६०० र नयाँ प्रयोगकर्ताले ३०० वटा मात्रै ट्विट पढ्न मिल्ने नयाँ व्यवस्था गरिएको शनिबार जानकारी दिएका थिए । उनको यो घोषणा पछिल्लो पटकको अपडेटमा १० हजार, १ हजार र ५०० मा पुगेको छ । धेरै विश्लेषकले यसलाई ट्विटरमा अपुरणीय क्षति पुर्‍याउने कदमको रूपमा व्याख्या गरेका छन् । धेरै प्रयोगकर्ताले ट्विटरको विकल्प खोज्न सुरू गरेको र मास्टडन, ब्लुस्काइजस्ता प्लाटफर्ममा भिडभाड बढेको बिजनेस इनसाइडरले उल्लेख गरेको छ ।

केही समयअघि इन्स्टाग्राममा आधारित ट्विटरजस्तै प्लाटफर्म निर्माण गर्ने घोषणा गरेको मेटाले यही मौकामा आफ्नो एप 'थ्रेड्स' बिहीबार सार्वजनिक गर्ने भएको छ । गुगल प्लेस्टोर र एप्पल एपस्टोर दुवैमा उपलब्ध हुने भनिएको उक्त टेक्स्ट सेयरिङ प्लाटफर्मका कैयौं फिचर ट्विटरसँग मिल्दाजुल्दा छन् । जुलाई १ मा केही समयका लागि खेलाडी, फिल्म निर्मातालगायत सीमित व्यक्तिलाई कम्पनीले सो एप प्रयोग गर्न दिएको थियो । उक्त माइक्रोब्लगिङ एप आफ्नो इन्स्टाग्राम प्रयोगकर्ताका डेटामा आधारित रहेर निर्माण गरिएको र त्यसमा ५०० अक्षरसम्मका पोस्ट, तस्बिर र भिडियो सेयर गर्न मिल्ने बताइएको छ ।

'इन्स्टाग्रामको टेक्स्टमा आधारित कुराकानी गर्न मिल्ने एप थ्रेड्समा आएर आफ्ना कुराहरू भन्नुहोस्, यो विभिन्न समुदायका व्यक्तिले आफूलाई मन लागेका विषयमा निर्धक्क बोल्न सकिने प्लाटफर्म हो,' मेटाले भनेको छ, 'आफ्नो रूची मिल्नेहरूसँग जोडिने र आफ्ना विचार संसारलाई सुनाउन मिल्ने गरी हामीले यो एप निर्माण गरेका छौं ।' आफ्नो रूचीको आधारमा फिडमा के आउँछ भनेर डिजाइन गर्न मिल्ने सो एपमा पोस्टहरू २४ घण्टापछि आफै हराउने र आफ्नो पोस्ट कस्ले हेर्न मिल्छ भनेर तोक्न पनि सकिने सुविधा हुने बताइएको छ ।

मेटाको यो घोषणाबारे ट्विटरले कुनै आधिकारिक प्रतिकृया दिएको छैन । तर मे २२ मा सो एप निर्माण भइरहेको घोषणाबारेको टेकक्रन्चको समाचारमा कमेन्ट गर्दै ट्विटरकी नयाँ प्रमुख लिन्डा याक्करिनोले 'गेम अन' अर्थात् प्रतिस्पर्धा स्वीकार छ भन्ने आशयको ट्विट गरेकी थिइन् । थ्रेड्सबारेको एक ट्विटमा जवाफ दिँदै ट्विटरका मालिक मस्कले पनि प्रयोगकर्ताहरूको असन्तुष्टिलाई छिट्टै समाधान गर्न नसके थ्रेड्सलाई फाइदा पुग्ने बताएका छन् । 'घुसपैठ गर्नेहरूलाई तथ्यांक दुरूपयोग गर्न जरूरी छ भन्ने मलाई थाहा छ तर त्यो प्रयोगकर्तालाई नै आजित बनाउने हदमा आउनुहुँदैन,' मस्कको भनाइ छ, 'ट्विटरले आफ्ना प्रयोगकर्ता र कन्टेन्ट क्रियटरहरूले बिनाझन्झट प्लाटफर्म प्रयोग गर्न सक्ने गरी यो समस्याको समाधान निकाल्न जरूरी छ ।'

प्रकाशित : असार १९, २०८० १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×