२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

विश्वका ठूला प्रविधि कम्पनीको भारत विस्तार

इन्टरनेट प्रयोगकर्ताको बढ्दो जनसंख्या, सस्तो श्रमशक्ति, सरकारी सहुलियत, सूचना प्रविधिका दक्ष जनशक्तिको उपलब्धता, पूर्व र पश्चिमेली देशहरूबीचको रणनीतिक भूअवस्थितिले भारतमा प्रविधि कम्पनीहरूको चासो बढायो
सजना बराल

काठमाडौँ — गतसाता आफ्नो अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक भेटघाट र अन्य नियमित सार्वजनिक समारोहसँगै ठूला अमेरिकी प्रविधि व्यवसायीहरूसँगको भेटघाटलाई पनि प्राथमिकतामा राखे । त्यसै सिलसिलामा स्पेसएक्स र टेस्लाका मालिक अर्बपति इलन मस्कसँग भेटेका मोदीलाई मस्कले ‘म मोदीको ठूलो प्रशंसक हुँ’ समेत भन्न छुटाएनन् ।

विश्वका ठूला प्रविधि कम्पनीको भारत विस्तार

मोदीसँगको भेटमा मस्कले भारतमा टेस्लाले छिट्टै ठूलो उपस्थिति जनाउने र त्यसका लागि उपयुक्त समय कुरिरहेको बताए । मोदीले विश्वकै धनी व्यक्तिलाई भारतमा आफ्नो लगानी बढाउन अनुरोध गरेका थिए । गएको महिना रोयटर्समा प्रकाशित एक समाचारमा टेस्लाले भारतमा आफ्नो विद्युतीय सवारी र त्यसको ब्याट्री उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको जनाएको थियो । राजनीतिक प्ररिप्रेक्ष्यमा अत्यन्तै महत्त्वसाथ हेरिएको मोदीको सन् २०१४ यताको पहिलो औपचारिक भ्रमणमा उनलाई भेट्ने मस्क एक्ला व्यावसायिक नेतृत्वकर्ता थिएनन् ।

अमेरिकी राष्ट्रपति निवास अर्थात् ह्वाइट हाउसमा मोदीले एप्पलका प्रमुख टिम कुक, अमेजनका मालिक जेफ बेजोस, माइक्रोसफ्टका प्रमुख सत्य नाडेला, अल्फाबेटका प्रमुख सुन्दर पिचाई, च्याटजीपीटीका निर्माता ओपेनएईका साम अल्ट्म्यान, सेयर बजारका बादशाह भनिने वारेन बफेटसँगै भारतीय उद्योगपति मुकेश अम्बानी र आनन्द महिन्द्रालाई समेत बोलाएर भेटघाट गरे । भेटघाटपछिको आफ्नो प्रतिक्रियामा एप्पल प्रमुख टिम कुकले भारतलाई अत्यन्तै ठूलो अवसरको स्थान भएको भन्दै आफूहरूले भारतमा लगानी र व्यवसाय दुवै विस्तार जारी राख्ने बताए ।

गत शुक्रबार आयोजित उक्त बैठकलगत्तै गुगलले पनि इन्डियन इन्स्टिच्युट अफ साइन्ससँगको सहकार्यमा आर्टिफिसियल इन्टेलिजेन्स मोडलहरूका लागि स्पिच डेटा ओपन सोर्स गर्न काम सुरु गर्ने बताइएको छ । गुगलले सन् २०२५ सम्ममा सञ्चालनमा ल्याउने गरी कर्नाटकमा नयाँ डाटा सेन्टर स्थापनाका लागि १ अर्ब डलर लगानी गर्ने भनेको छ । यति मात्र नभएर केही समयअघि चीनमा प्रतिबन्ध खेपेको अमेरिकी चिप निर्माता कम्पनी माइक्रोनले मोदीको भ्रमणकै अवसर पारेर उनको गृहराज्य गुजरातमा ठूलो लगानीमा एक प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ ।

आफ्नो आपूर्ति संयन्त्रलाई बलियो बनाउने उद्देश्यले करिब ८२५ मिलियन अमेरिकी डलरको लगानीमा निर्माण हुने माइक्रोनको उक्त प्लान्टले ५००० प्रत्यक्ष र १५००० अप्रत्यक्ष रोजगारीसँगै भारतको अर्थतन्त्रमा डेढ अर्ब डलरको आम्दानी र २५० मिलियन डलरको वार्षिक निर्यात थप्ने अपेक्षा गरिएको छ । भारत सरकारले निर्माणको आधा खर्च बेहोर्ने उक्त प्लान्टको सुरुवातसँगै ल्याम रिसर्चले ६० हजार भारतीय इन्जिनियरलाई प्रशिक्षण दिने घोषणा गरेको छ ।

मोदीसँगको भेटपछि नै अमेजनले सन् २०३० सम्ममा २६ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले मोदीसँग भारतीय स्टार्टअप कम्पनीलाई सघाउनेदेखि रोजगारी सिर्जना, निर्यात सहजीकरण, डिजिटाइजेसन र व्यक्ति तथा साना व्यवसायलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने विषयमा छलफल गरेको अमेजनको ब्लग पोस्टमा उल्लेख छ ।

भारतमा ७५ करोडभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता रहनु प्रविधि कम्पनीका लागि सुखद

पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनी र उद्यमी एकपछि अर्को गर्दै भारतमा लगानी बढाउने र कारखाना विस्तारको होडमा देखिन्छन् । इन्टरनेट प्रयोगकर्ताको बढ्दो जनसंख्या, सस्तो श्रमशक्ति, सरकारी सहुलियत, सूचना प्रविधिका दक्ष जनशक्तिको उपलब्धता, पूर्व र पश्चिमेली देशहरूबीचको रणनीतिक भूअवस्थितिका कारण भारतमा प्रविधि कम्पनीहरूको चासो बढेको बताइन्छ । सन् २०२५ भित्र त्यहाँ इन्टरनेट प्रयोगकर्ताको संख्या ९५ करोड पुग्ने अनुमान छ । अहिले नै भारतमा ७५ करोडभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता रहनु प्रविधि कम्पनीका लागि स्वाभाविक रूपले असाध्यै सुखद कुरा हो ।

विश्वको सबैभन्दा द्रुतगतिमा वृद्धि भइरहेका अर्थव्यवस्थामध्ये एक भारतमा लगानी गरेर प्रविधि कम्पनीहरूले यो बढ्दो बजारमा पहुँच स्थापित गर्ने मात्र नभई चीनसँगको निर्भरता कम गर्न पनि भारततर्फ ध्यान दिएको हुनुपर्ने अर्को विश्लेषण छ । सन् २०२० को सुरुवाती महिनादेखि चीनले प्रविधि कम्पनीहरूको नियमनमा कडाइ र जरिवाना गर्नसमेत थालेको थियो । त्यसअघि तुलनात्मक रूपमा निर्बाध चल्ने इन्टरनेटका कारण गुगल र फेसबुक जस्ता कम्पनीका सेवा पहुँचयोग्य रहेको हङकङलगायत स्थानमा लागू गरिएको राष्ट्रिय सुरक्षा कानुन जस्ता नीतिले पनि प्रविधि कम्पनीलाई अन्य बजारको खोजीमा प्रेरित गरेको सीएनएन बिजनेसमा ऋषि आएंगरले लेखेका छन् ।

कोभिड महामारीका बेला चीनले व्यवसायहरूमा समेत कडा प्रतिबन्ध लगाएपछि कतिपय प्रविधि कम्पनीले त्यहाँ काम गर्न गाह्रो भएको प्रतिक्रिया दिएका थिए । प्रतिबन्धका कारण एप्पललगायत केही टेक कम्पनीले चीनमा आफ्ना प्लान्ट केही समयका लागि बन्द नै गर्नुपरेको थियो । पछिल्लो समय भने चीनले प्रतिबन्ध फुकुवा मात्रै गरेको छैन, अमेरिकीसहित अन्य ठूला प्रविधि कम्पनीलाई आफ्नो देशमा लगानी बढाउन उत्तम वातावरण रहेको अनेक जनाउ दिइरहेको छ । ती कम्पनीका प्रमुखलाई चीनमा बोलाउँदै भव्य स्वागत गरेको पनि देखिन्छ ।

यता भारतमा पनि केही समयअघि मात्रै गुगल र माइक्रोसफ्टका प्रमुख दुई महिनाको अन्तरालमै प्रधानमन्त्री मोदी भेट्न लगातार दिल्ली आए । भ्रमणपछिको एक ट्वीटमा गुगल प्रमुख पिचाईले मोदीको नेतृत्वमा भइरहेको भारतको प्रविधि विकासको तीव्र गतिबाट आफू प्रेरित भएको उल्लेख गरे । माइक्रोसफ्टका नडेलाले पनि सोही प्रकृतिको ट्वीट गरेका थिए । भारत सरकारले पिचाई र नडेला दुवैलाई पद्मभूषण अवार्डसमेत प्रदान गरेको थियो ।

प्रविधि उद्योगलाई प्रोत्साहन गर्न र वैदेशिक लगानी आकर्षित गर्ने गरी भारत सरकाले विभिन्न नीति लागू गरेको छ । सरकारले विदेशी लगानीकर्ताहरूलाई कर छुट र अन्य प्रोत्साहन प्रदान गर्ने गरी विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२० मा पाँच वर्षमा सम्पन्न गर्ने गरी सूचना प्रविधिसहितका १४ प्रमुख क्षेत्रमा प्रोडक्सन लिंक इन्सेन्टिभ (पीएलआई) योजनाहरूका लागि १.९७ लाख करोड भारु खर्च गर्ने घोषणा गरेकी थिइन् । सरकारले सेमिकन इन्डिया प्रोग्राममार्फत ठूला चिप निर्माता कम्पनीलाई पनि भारतमा उत्पादन बढाउन प्रेरित गरिरहेको छ ।

नयाँ लगानीका आयोजनामा स्वीकृति लिने प्रक्रियालाई पनि सरकारले सहज बनाउँदै ठूला प्रविधि कम्पनीले तिर्नुपर्ने विभिन्न शीर्षकका करको संख्या घटाइदिएको छ । प्रविधिले हाँकेको आर्थिक विकासलाई बजेटबाट नै सरकारले प्राथमिकतामा राख्दै आएको विषयमा भारतका प्रविधि उद्यमीले सरकारको प्रशंसा गर्ने गरेका छन् । इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेसन्स र फार्मसुटिकल्सलगायत क्षेत्रका कम्पनीलाई समेत गरी भारतले सेजमा स्थापना भएका र अन्य केही सर्त पूरा गर्ने उत्पादनमूलक कम्पनीलाई पहिलो पाँच वर्ष आयकरमा शतप्रतिशत छुट दिनेलगायत नीति अवलम्बन गरेको छ ।

ठूलो भारतीय बजार ठूला प्रविधि कम्पनीहरूका लागि बेवास्ता गर्न नमिल्ने बन्दै गइरहे पनि कतिपय नियमन दबाबले समस्या थपिरहेको प्रविधि पत्रकार पोउलोमी च्याटर्जीले ‘ह्वाई आर बिग टेक ब्वाइज भिजिटिङ इन्डिया ?’ शीर्षकको लेखमा भनेकी छन् । गतवर्ष वित्तसम्बन्धी संसदीय स्थायी समितिले अनलाइन प्लाटफर्महरूमा प्रतिस्पर्धाविरोधी अभ्यास नियमन गर्न डिजिटल प्रतिस्पर्धा कानुनको सिफारिस गर्दै प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा सरकारले डिजिटल प्रतिस्पर्धामा कडाइ गर्न स्टिम्याटिकल्ली इम्पोर्टेन्ट डिजिटल इन्टरमेडियरिज (डिजिटल मध्यस्थकर्ता) को व्यवस्था गर्नुपर्ने उल्लेख थियो । कुनै कम्पनीको नाम उल्लेख नभए पनि अल्फाबेट, एप्पल, मेटा र अमेजन जस्ता कम्पनीलाई यसको दायरामा ल्याउने प्रयास गरिएको प्रस्ट बुझिन्थ्यो ।

प्रकाशित : असार १७, २०८० ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?