कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

गोलभेंडाको मूल्य बढ्दै, प्याजको घट्दै

होलसेल बजारमा केही सुधार आए पनि बिचौलियाका कारण उपभोक्ता (खुद्रा) मूल्य भने अझै घटेन
राजु चौधरी

काठमाडौँ — होलसेल बजारमा प्याजको मूल्य घट्न थाल्दा गोलभेंडाको भाउ भने बढ्न थालेको छ । भ्याटको बहानामा प्याजमा कृत्रिम मूल्य बढाएका व्यापारीले अहिले मूल्य घटाउन थालेका छन् । मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा गोलभेंडा फालेर विरोध गरेका किसानले उत्पादन तीन दिन बजारमा पठाएनन् ।

गोलभेंडाको मूल्य बढ्दै, प्याजको घट्दै

बजारमा केही अभाव गराएका किसानले अहिले गोलभेंडाको मूल्यमा सुधार आएको बताउँछन् । किसानले पाउने मूल्य बढेपछि होलसेल बजारमा गोलभेंडाको भाउ बढ्न थालेको छ । त्यस्तै प्याजको मूल्यमा भने केही गिरावट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

‘व्यवसायीहरूले प्याज भित्र्याउन थालेका छन्, आपूर्ति सहज भएलगत्तै प्याजको मूल्य घट्न थालेको हो,’ कालीमाटी तरकारी समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘गोलभेंडाको होलसेल मूल्यमा सामान्य वृद्धि देखिन्छ ।’ नेपाल कृषि उपज आलु, प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याजको माग नभएकाले मूल्य थप घट्न सक्ने बताए । गजुरेलका अनुसार कालीमाटीमा २१ टन क्षमताका ३/४ गाडी प्याज दैनिक भित्रिएको छ । सहज आपूर्तिसँगै होलसेल मूल्य पनि घटेको हो । यद्यपि, खुद्रामा भने प्रतिकिलो ७० देखि ८० रुपैयाँमै बिक्री भइरहेको उनले बताए । ‘केही बाहिरी तत्त्वले गर्दा बीचमा चलखेल भयो, भ्याट लगाउने निर्णयपछि त्यसको गलत फाइदा बीचका तत्त्वले लिए,’ गजुरेलले भने, ‘स्वच्छ रूपमा कारोबार गर्ने व्यापारीले मूल्य बढाएका थिएनन् ।’

पछिल्लो समय भारतीय गोलभेंडाको मूल्य पनि बढ्न थालेको छ । त्यसको प्रभाव यहाँ पनि पर्न थालेको छ । समितिको विवरणअनुसार असार ३ मा कालीमाटी तरकारी बजारमा टनेलको गोलभेंडाको होलसेल भाउ न्यूनतम ६ रुपैयाँदेखि अधिकतम १० रुपैयाँ थियो । भाउ नपाएको भन्दै सोही दिन किसानले कालीमाटीमा गोलभेंडा फालेर विरोध जनाएका थिए । पछि केही सुधार भएको जनाउँदै भक्तपुरका किसान रमेश फ्यालले भने, ‘सामूहिक निर्णय गरी ३ दिन बजारमा गोलभेंडा पठाएनौं, टनेल गोलभेंडाको मूल्य प्रतिकिलो ४ रुपैयाँबाट बढेर १० पुगेको छ । तर यो मूल्य पनि थोरै हो, यसले लागत उठ्दैन ।’

समितिले बुधबार टनेल गोलभेंडाको न्यूनतम १२ र अधिकतम २० रुपैयाँ तोकेको छ । उपभोक्ता मूल्य (खुद्रा बिक्री) भने प्रतिकिलो ४० रुपैयाँसम्म छ । किसानको बारीदेखि बजारसम्म हुने विभिन्न तह (बिचौलिया) का कारण उपभोक्ता मूल्य बढी परेको हो । तर, नियामक निकायले ध्यान नदिएको उपभोक्ताकर्मी बताउँछन् । बजार मूल्य हस्तक्षेप गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग हो । तर, विभागले बजार अनुगमनमा त्यति चासो दिएको छैन । फलस्वरूप खुद्रा मूल्य पसलैपिच्छे फरक परेको छ ।

टनेल गोलभेंडाबाहेक समितिले ठूलो गोलभेंडाको न्यूनतम ४५ र अधिकतम ५० रुपैयाँ तोकेको छ । ठूलो गोलभेंडा सलादका रूपमा प्रयोग हुन्छ । यी गोलभेंडा ठूला होटल, रेस्टुरेन्टले खरिद गर्ने गरेको व्यवसायी बताउँछन् । जानकारका अनुसार असारपछि गोलभेंडाको मूल्य थप बढ्न सक्छ । किसानको उत्पादन सकिँदै गएकाले बजार भाउ बढ्न सक्ने जनाइएको छ ।

प्याजको होलसेल भाउ घटे पनि खुद्रा मूल्य भने अझै महँगो नै छ । समितिको विवरणअनुसार जेठ १५ मा प्याजको न्यूनतम ३४ र अधिकतम मूल्य ३५ रुपैयाँ थियो । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि व्यवसायीले मूल्य बढाएका थिए । जेठ १६ मा न्यूनतम मूल्य ३९ र अधिकतम ४० रुपैयाँ रहेको प्याज जेठ २२ सम्म आइपुग्दा न्यूनतम मूल्य ५८ र अधिकतम ६० रुपैयाँ पुग्यो । त्यसपछि केही व्यापारीले मूल्य बढाएर बिक्री गरेका थिए । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा बिक्री भइरहेको प्याज छोटो अवधिमा नै बढेर ९० देखि १ सय रुपैयाँसम्म पुग्यो ।

भारतबाट औसतमा दैनिक ८० देखि ९० टन प्याज भित्रिन्छ । भारतबाट आयात नभएपछि समितिभित्र कारोबार हुन छाडेको थियो । मूल्य वृद्धिको चौतर्फी विरोधपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले कानुनविपरीत बढी मूल्यमा बिक्री गरे कारबाही गर्ने जनायो । त्यसपछि भने मूल्यमा केही सुधार देखिएको विभागको दाबी छ । व्यवसायीले असार ५ मा कालीमाटीमा प्याज भित्र्याएसँगै मूल्य घटेको छ । असार ५ मा कालीमाटी बजारले न्यूनतम ५० र अधिकतम ५२ रुपैयाँ तोकेको थियो । प्याजको होलसेल मूल्य घटेर बुधबार न्यूनतम ४३ र अधिकतम ४५ रुपैयाँ पुगेको छ ।

संघका अध्यक्ष मोहन बानियाँले खुला सीमाका कारण भारतबाट चोरीको प्याज प्रशस्त भित्रिएको बताए । ‘कालीमाटीमा प्याज नहुँदा उपत्यकामा समस्या भएको थियो, त्यसको फाइदा उठाउँदै तस्करीबाट आयात गरेकाहरूले मूल्य बढाए,’ उनले भने । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म ११ करोड १ लाख ७४ हजार रुपैयाँको प्याज आयात भएको छ । भारतबाट मात्रै ६ करोड ७६ लाख ५५ हजार रुपैयाँ र चीनबाट ४ करोड २५ लाख १९ हजार रुपैयाँको आयात भएको छ ।

प्रकाशित : असार १४, २०८० ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×