कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

पोखरामा ‘ड्रागन’ पाइला

‘ड्रागन बोट रेस फेस्टिभल’ चीनबाहिर दक्षिण एसियामै पहिलोपल्ट पोखरामा
पोखरा विमानस्थल सञ्चालनको ६ महिनापछि भएको पहिलो अन्तर्राष्ट्रिय उडानबाट पर्यटन व्यवसायी उत्साहित
दीपक परियार

पोखरा — फेवातालमा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ का सहभागी लिएर सिचुवान एयरलाइन्सको एयरबस–३१९ चीनको छेङ्दुबाट बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ ।

पोखरामा ‘ड्रागन’ पाइला

विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय चार्टर उडान भएको हो । छेङ्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट २ घण्टा ५० मिनेटको उडानपश्चात् बिहान ९ बजेर ६ मिनेट जाँदा उक्त विमान पोखरा विमानस्थल अवतरण गरेको हो । विमानमा फेस्टिभलमा सहभागी हुन आएका लिन्जी नगरका प्रमुख, सिचुवान नगरका उपप्रमुख, खेलाडी, सञ्चारकर्मी, चिनियाँ अधिकारी, चालकदलसहित ८४ जना थिए । चीन भ्रमणमा पुगेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना नेतृत्वको ७ सदस्यीय टोली पनि उक्त विमानबाट पोखरा झरेका थिए । पोखरामा २ घण्टा बसेर उक्त विमान बुधबार काठमाडौंका लागि उड्यो ।

अन्तर्राष्ट्रिय उडानबाट पहिलोपल्ट पोखरा आएका पाहुनालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । पाहुनाको स्वागतमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पोखरा महानगर प्रमुख धनराज आचार्य, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छन सोङ पोखरा विमानस्थल पुगे ।

पहिलो अन्तर्राष्ट्रिय उडान हुनुले पोखराका पर्यटन व्यवसायी उत्साहित छन् । ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ चीनबाहिर दक्षिण एसियामै पहिलोपल्ट नेपालमा हुन लागेको हो । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना यो उत्सव शुक्रबार र शनिबार फेवातालमा हुँदै छ । शीतनिद्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्षअघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ । ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् । पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् ।

प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ टोलीले भाग लिँदै छन् । नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसियसन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् । तालमा ५ सय मिटर र २ सय मिटरको दुई विधामा प्रतियोगिता हुने छ । सहभागी आठवटै टोलीले वरीयताका आधारमा पुरस्कार पाउने छन् । पहिलो हुने टोलीले ५ लाख ५० हजार/५ लाख ५० हजार पाउने छन् । पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुनेछ । नेपाली टोलीलाई र्‍याफ्टिङ तथा कायाकिङका राष्ट्रिय प्रशिक्षक निमबहादुर मगरले प्रशिक्षण गराइरहेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार फेस्टिभलका लागि चीनबाटै नेपालको केरुङ नाका हुँदै आठ वटा विशेष खालका डुंगा पोखरा ल्याइएको छ । अन्य आवश्यक सामग्री र प्रशिक्षक एक साताअघि नै पोखरा आइपुगेका थिए । चीनले यस प्रकारको डुंगा दौड उत्सव ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आइरहेको छ । यस वर्षदेखि हरेक वर्ष ड्रागन बोट रेस फेस्टिभल पोखरामा हुनेछ । ‘नेपालमा पहिलोपल्ट आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपालकै पर्यटनमा नयाँ आयाम थप्छ,’ परिषद् अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यसलाई हरेक वर्ष निरन्तरता दिने गरी नै योपल्ट कार्यक्रम आयोजना गरिएकाले पोखराको पर्यटनमा यो नयाँ प्रडक्टका रुपमा थपिने छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिब्बती राजा स्रङचङ गम्पो र नेपालकी राजकुमारी भृकुटीबीचको विवाहको प्रसंग निकाले । ‘नेपालमा चिनियाँ आउँदा हामीलाई पाहुना आएजस्तो लाग्दैन, भान्जाभान्जी आएजस्तो लाग्छ,’ उनले चिनियाँ पर्यटकतिर फर्किएर सोधे, ‘के तपाईंहरूलाई मामा घर आएजस्तो लाग्दैन ?’ उनले बीपी कोइराला र माओबीच भएका सम्झौताहरूको स्मरण गर्दै प्राकृतिक सिमानाजस्तै चीन र नेपालबीचको सम्बन्ध पनि अग्लो रहेको बताए । चार्टर्ड उडान लामो यात्राको पहिलो पाइला भएको बताउँदै उनले व्यावसायिक उडानलाई निरन्तरता दिनु ठूलो कुरा रहेको उल्लेख गरे ।

राजदूत छन सोङले अन्तर्राष्ट्रिय चार्टर उडानले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’ को नयाँ अध्याय सुरु भएको बताए । ‘कनेक्टिभिटी बीआरआईको महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘ट्रान्स–हिमालय बहुआयामिक कनेक्टिभिटी सञ्जालको महत्त्वपूर्ण पक्षका रूपमा पोखरा विमानस्थल सञ्चालन भएको छ ।’ महानगर प्रमुख धनराज आचार्यले विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको मित्रता थप प्रगाढ बन्ने र लिन्जी, सिचुवानलगायत चीनका अन्य नगरसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । ‘चीनले भावी दिनमा पनि त्यहाँका विभिन्न मुख्य सहरबाट नियमित उडान भर्न प्रेरित गर्ने अपेक्षा छ,’ उनले भने, ‘पोखराको उद्योग, पर्यटन र पूर्वाधारको विकासमा लगानी वृद्धि गर्न पोखरा महानगरपालिकाका तर्फबाट अनुरोध गर्छु ।’

नेपालमा चिनियाँ पर्यटक बढाउने फेस्टिभलको उद्देश्य रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए ।

कार्यक्रमकै अवसरमा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी पनि हुनेछन् । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर बसेको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि सघाउ पुग्नेछ,’ उनले भने ।

कोभिड–१९ अघि नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी पर्यटक आउने मुलुकमा चीन थियो । अहिले कोभिडपछि यो संख्या घटेको छ । चीनले नेपाललाई पनि खुला गरेकोले पछिल्लो दिनमा नेपालमा आउने पर्यटकको संख्या बढ्दै गइरहेको छ । सन् २०२३ को मे महिनामा नेपाल आउने पर्यटकमा भारत, अमेरिकापछि चीन तेस्रो स्थानमा छ । मे महिनामा ४ हजार ६ सय ६७ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना अघि पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत चिनियाँ रहेको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी सम्झन्छन् । ‘नेपाल आउने चिनियाँमध्ये ९० प्रतिशत पोखरा आउँछन्,’ उनले भने, ‘चिनियाँ पर्यटक बढाउन सके पोखराको पर्यटन थप उकासिन्छ ।’

पोखरामा व्यवसाय गर्ने चिनियाँ संगठित भएर ओभरसिज चाइनिज एसोसिएसन नामक संस्था नै गठन गरेका छन् । पर्यटन व्यापार विस्तारकै लागि पोखरा र चीनका विभिन्न सहरबीच भगिनी सम्बन्ध पनि कायम भएका छन् । अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित भइसकेका सहरबाट विभिन्न विकास निर्माण तथा आर्थिक, भौतिक सहयोग भित्र्याउने उद्देश्यसाथ सम्बन्ध कायम गरिएको हो । अहिले पोखरा महानगरपालिका र चीनको कुनमिङ, गोन्जाओ र तिब्बतस्थित लिन्जी सहरबीच भगिनी सम्बन्ध स्थापित भएर सहयोगसमेत आइसकेका छन् । पहिलोपल्ट लिन्जीसँग २०६४ मा सम्बन्ध गाँसिएको थियो । सन् २०१३ मा नेपालमा छायांकन भएको चिनियाँ फिल्म ‘अप इन द वाइन्ड’ प्रदर्शनमा आयो । सांघाइमा काम गर्ने महिला पत्रकारले नेपाल यात्राबारे लेख्न काठमाडौं, चितवन र पोखरा घुमेको कथा फिल्ममा छ । काठमाडौंका पुरातात्त्विक स्थल, चितवनको जंगल सफारी र पोखराका साहसिक गतिविधि र सुन्दर दृश्य फिल्ममा देखाइएको छ । तेङ हुआताओको निर्देशनमा बनेको फिल्ममा नि नि र जिङ बोरान मुख्य भूमिकामा छन् । सन् २०१९ मा चर्चित चिनियाँ अभिनेत्री सु–छिङसमेत पोखरा भ्रमणमा आएकी थिइन् ।

उक्त फिल्ममा देखाइएको लोभलाग्दा दृश्यले चिनियाँ पर्यटक पोखरा भित्र्याउन सहयोग पुगेको व्यवसायी बताउँछन् । फिल्ममा पोखराको सराङकोटबाट गरिने प्याराग्लाइडिङसमेत समावेश भएपछि साहसिक पर्यटनले थप फड्को मारेको नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताए । उनका अनुसार कोभिड महामारी अघि प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये ५० प्रतिशत चिनियाँ हुने गर्थे । ‘प्याराग्लाइडिङ धानेकै चिनियाँ पर्यटकले थियो,’ उनले भने, ‘पोखरा आउनेमध्ये ८० प्रतिशत चिनियाँले प्याराग्लाइडिङ गर्छन् । अब चिनियाँ पर्यटक बढ्दा प्रत्यक्ष फाइदा साहसिक गतिविधिमा हुनेछ ।’ प्याराग्लाइडिङबाहेक अल्ट्रालाइट, बन्जीजम्प, जिपलाइन,

र्‍याफ्टिङमा पनि चिनियाँ पर्यटकको योगदान रहेको उनी सुनाउँछन् । पछिल्लो समय पदयात्रा गर्ने चिनियाँ पर्यटकको संख्या बढिरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘चिनियाँहरू छोटो पदयात्रा गर्न रुचाउँछन्,’ उनले भने, ‘अहिले अन्नपूर्ण आधार शिविर, मर्दी, घोरेपानी–पुनहिल पदयात्रामा चिनियाँ देखिएका छन् ।’

प्रकाशित : असार ७, २०८० ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×