२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एसएमएसबाट किसानलाई खडेरीको सूचना

किसानलाई एसएमएस गरी खडेरी सहन सक्ने धानको बीउ राख्न अपिल
यस वर्ष देशैभरि सरदरभन्दा ३५ देखि ५५ प्रतिशतसम्म कम वर्षा हुने एआईटीसीको आकलन
जे पाण्डे

नेपालगन्ज — यतिबेला देशभरिका किसानका मोबाइलमा खडेरीबाट बच्ने र यससँग जुध्नेबारेको एसएमएस सन्देश बजिरहेको छ । कृषि विभागअन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्र (एआईटीसी)ले उक्त सन्देश प्रवाह गरिरहेको हो । यस वर्ष खडेरी पर्न सक्नेतर्फ सचेत गराउँदै सुख्खा सहन सक्ने धानको ब्याड राख्न पनि एसएमएसमार्फत सचेत गराइएको छ । 

एसएमएसबाट किसानलाई खडेरीको सूचना

एआईटीसीले एकैपटक २४ हजार किसानलाई खडेरी सहन सक्ने धानको बीउ राख्न छोटो सन्देश पठाएको हो । एआईटीसी सन्जालमा जोडिएका किसानलाई पठाइएका एसएमएस सन्देशमा यस वर्ष देशैभरि सरदरभन्दा ३५ देखि ५५ प्रतिशतसम्म कम वर्षा हुने सम्भावना रहेको बताइएको छ । तसर्थ, असिञ्चित अर्थात् कुलो पानी नलाग्ने र आकाशे पानीको भरमा खेती गर्नुपर्ने क्षेत्रका किसानलाई खुख्खा सहन सक्ने धानको ब्याड राख्न सचेत गराइएको हो ।

यस्तो सूचना प्राप्त गरेका नेपालगन्जका किसानले खडेरीबाट जोगिन सुख्खा सहन सक्ने धानको ब्याड राख्न थालेका छन् । ‘मेरो मोबाइलमा पनि एसएमएसको घन्टी बज्यो । त्यही म्यासेज हेरेर मैले पनि सुख्खा सहन सक्ने राधा–४ धानको बीउ राखेको छु,’ खजुरा गाउँपालिका बहादुरपुरका मगनसिंह थापा मगरले भने, ‘अहिलेसम्म वर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्ने किसानलाई एसएमएसले धेरै राहत पुर्‍याएको छ ।’ यसबाट पानी धेरै चाहिने धानको बीउ राख्दा हुन सक्ने क्षतिबाट किसान जोगिन सक्ने उनले सुनाए ।

मध्य नेपालसम्म मनसुन छाइसक्दा पश्चिम तराईका जिल्लामा अझै पानी परेको छैन । जसका कारण खेतबारी सुकेर धूलो उड्न थालेको छ । हिलाम्मे हुनुपर्ने खेत फुङ्ग धूलो उड्दा किसान चिन्तित छन् । तर, एसएमएस प्राप्त गर्ने किसानहरूले खुख्खा सहन सक्ने धानको बीउ राख्नुका साथै मोबाइलमा सन्देश प्राप्त नगर्नेहरूलाई पनि कम पानीमा उत्पादन हुने धानको बीउ राख्न सल्लाह दिएको बताए ।

देशभरिका सबै किसानले भने त्यस्तो सन्देश प्राप्त गर्न सकेका छैनन् । वर्षा कम हुँदा र सिंचाइ सुविधा नभएका क्षेत्रमा कस्तो खालको धानको बीउ राख्नु पर्छ भन्ने जानकारीसम्म नपाएका किसानमध्ये बाँकेको उदयपुरका दुखी लोनिया एक हुन् । उनले खडेरीबारे जानकारी नपाएकाले धेरै पानी चाहिने धानको बीउ राखेका छन् । ‘हामीलाई त थाहै छैन । सबै किसानलाई एसएमएस पठाउँदा राम्रो हुन्थ्यो,’ उनले भने, ‘गरिब किसानको त कुनै मतलब नै छैन । ठूलाबडा किसालाई मात्र सूचना दिए पुग्यो ?’

बाँके बहादुरपुरका अर्का किसान सुरेन्द्र थापाको मोबाइलमा पनि २४ हजार किसानलाई झै खडेरीको एसएमएस प्राप्त भएन । किनभने, उनी उक्त सन्जालमा जोडिएका छैनन् । तर, उनले त्यस्तो सूचना प्राप्त गर्ने किसान साथीहरूबाट खडेरी सहन सक्ने धानको बीउ राख्नु पर्छ भन्ने जानकारी भने पाएको बताए । ‘ढिलो गरी साथीहरूबाट सूचना पाएँ,’ उनले भने, ‘मैले त धेरै पानी चाहिने मसिनो धानको बीउ राखिसकें ।’ सबैले एकै जातको धान रोप्दा किरा सबैतिर बाँडिएर धान जोगिने पनि उनले सुनाए । एक जनाले मात्र छिटो फल्ने धान रोप्दा त भएभरका किरा आएर बाली खाई दिने खतरा देखिएपछि आफूले मसिनो धानको बीउ राखेको उनले सुनाए ।

उनी पनि कृषि सूचना तथा प्रशिक्षण केन्द्रको सूचना प्रणालीमा जोडिएर एसएमएसमार्फत कृषिका बारेमा अग्रिम जानकारी प्राप्त गर्न चाहन्छन् । ‘नेटवर्कमा कसरी जोडिने हो, थाहा छैन,’ उनले भने, ‘तर, सूचना पाएका साथीको सल्लाहमा थोरै भए पनि खडेरी सहन सक्ने राधा–४ जातको बीउ पनि राख्ने सोचेको छु ।’

तर, एआईटीसीले बिनापक्षपात देशभरिका किसानलाई आफ्नो सन्जालमा जोड्ने प्रयास गर्दै आएको जनाएको छ । प्रदेश सरकारसँगै सबै स्थानीय तह, जिल्लाका कृषि ज्ञान केन्द्रहरूलाई किसानको विवरण पठाउन आग्रह गरेको छ । ‘छिट्टै ५/७ हजार किसान एसएमएस सन्जालमा जोड्ने तयारीमा छौं,’ एआईटीसीका प्रमुख ईश्वरीप्रसाद पाण्डेले भने, ‘धेरै किसानलाई कृषिसम्बन्धी जानकारीमूलक सूचना पठाउन सक्थ्यौं । तर, सबैको विवरण उपलब्ध भएन ।’

मुख्य अन्नबाली धान रोप्ने बेलामा वर्षा नभएपछि खेतबारी त सुक्ने नै भए । खोला र नदीमा समेत जलाशय घटेको छ । नदी छेउकै खेतमा धाँजा फाटेको देखिन्छ । खडेरीको खतरा देखिएका क्षेत्रमा यस वर्ष धानबालीका लागि मौसम प्रतिकूल देखिएको कृषि ज्ञान केन्द्रहरूले पनि जनाएका छन् ।

यस वर्ष धानबालीका लागि मौसम प्रतिकूल देखिएकाले राधा–४, हर्दिनाथ–४, घैया–२, सुख्खा–४, ५ र ६ जातको धानले खडेरी सहन सक्ने हुँदा यी जातको धानको ब्याड राख्न किसानलाई अनुरोध गरेको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख शकिल अहमदले बताए । ‘पानी कम भएको ठाउँमा यस्ता जातको धानबाली लगाउँदा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

यहाँको डुडुवा गाउँपालिका हिरमिनियाका किसान जयपाल मौर्यले सूचना प्राप्त गरेसँगै गाउँमा किसानको बैठक बोलाएर यस वर्ष औसत भन्दा कम वर्षा हुने भएकाले खुख्खा सहन सक्ने जातको धानको बीउ राख्न जानकारी दिएको बताए । ‘म्यासेजले धेरै फाइदा पुगेको छ । कुन बेला कस्तो मौसम रहन्छ, कस्तो खेती गर्नु पर्छ, कुन किटनाशक औषधि प्रयोग गर्नु पर्छ भन्नेजस्ता कुरा थाहा पाइन्छ,’ उनले भने, ‘सम्भावित खतराबाट जोगिन र प्रतिफल प्राप्त गर्न एसएमएसले सघाउने निश्चित छ ।’

प्रकाशित : असार ६, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?