कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

१ महिना बाँकी रहँदा विराटनगर भन्सारबाट आधा मात्रै उठ्यो राजस्व

विनोद भण्डारी

विराटनगर — चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा विराटनगर भन्सारले लक्ष्यको आधा मात्रै राजस्व संकलन गरेको छ । चालु वर्ष ६० अर्ब ३ करोड राजश्व असुली लक्ष्य राखेको यो भन्सारले जेठसम्म ३० अर्ब ६४ करोड मात्र असुली गरेको छ । गत वर्ष ४९ अर्ब लक्ष्य राख्दा ४० अर्ब राजस्व असुली भएको थियो ।

१ महिना बाँकी रहँदा विराटनगर भन्सारबाट आधा मात्रै उठ्यो राजस्व

जोगबनी नाकाबाट हुने आयात गत वर्षको तुलनामा यस वर्ष १६ प्रतिशतले घटेकाले राजस्व प्रभावित भएको हो । त्यसबाहेक भारत लगायत तेस्रो मुलुकबाट आयात भएका व्यापारिक सामानमा एजेन्टले सन्दर्भ मूल्य न्यून देखाएर भन्सार जाँचपास गराउँदा पनि राजस्व असुली प्रभावित हुँदै आएको छ ।

गत वर्षको तुलनामा आयात घटनु, आयात भएका वस्तुको भन्सार एजेन्टले सन्दर्भ मूल्य न्यून तोक्नु, तस्करी लगायतका कारण राजस्व असुली प्रभावित भएको भन्सारको दावी छ । भन्सारका अनुसार यो नाकाबाट हुने आयात गत वर्षको तुलनामा यस वर्ष १६ प्रतिशतले घटेको छ ।

जोगबनी नाकाबाट ८० प्रतिशत औद्योगिक कच्चा पदार्थ र २० प्रतिशत व्यापारिक सामान आयात हुन्छ । भारत र तेस्रो मुलुकवाट आउने ट्रेडिङका वस्तुको एजेन्टले सन्दर्भ मूल्य न्यून देखाएर भन्सार जाँचपास गराउने प्रवृत्ति चर्को रहेको र सँगै आयात घट्दा राजस्व प्रभावित भएको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले बताए । वैशाख र जेठमा मात्र एजेन्टले घोषणा गरेको न्यून सन्दर्भ मूल्यलाई रद्द गरेर भन्सारले यथार्थ मूल्य तोकेर ४० करोड थप राजश्व असुली गरेको उनले बताए ।

‘दुई महिनामा झण्डै दुई दर्जन फर्मले आयात गरेका ट्रेडिङका सामानको भन्सार जाँचपास गराउने क्रममा एजेन्टले न्यून सन्दर्भ मूल्य तोकेर पेस गरेका थिए’ उनले भने ‘ती फर्मले आयात गरेका वस्तुको यथार्थ मूल्य तोकेर कार्यालयले थप ४० करोड भन्दा बढी राजश्व असुली गरेको हो ।’

ती फर्मले हाल यो नाकाबाट सामान आयात नै गर्न छाडेको ढकालले जानकारी दिए । एजेन्टले न्यून सन्दर्भ मूल्य घोषणा गरेकाले मात्र भन्सारको राजस्व असुली प्रभावित भएको होइन । भन्सार कर्मचारीको मिलोमतोमा जाँचपास हुनु र कार्यालय परिसर आसपासबाट चौबीसैं घण्टा हुने अवैध पैठारी पनि राजस्व घट्नुको कारण रहेको स्रोत बताउँछ ।

स्रोतका अनुसार भन्सार परिसर छेउका टिकुलीया र मटेरुवा नाकाबाट रातभर मोटरपार्टस् र लत्ता कपडा तस्कर गरी भित्रिन्छ तर सम्बद्ध निकायले यसलाई अहिलेसम्म देखेको छैन । ‘भन्सारको तथ्याङ्कमा कपडा आयात अत्यन्तै न्यून छ, तर बजारमा चाइनिज र भारतीय कपडा प्रशस्त देखिन्छ । कपडामा १३ प्रतिशत भ्याटसहित पाँचदेखि २५ प्रतिशतसम्म भन्सार महसुल कायम रहँदा यसको तस्करी अत्याधिक बढेको भन्सार स्रोतको दाबी छ ।

गत फागुनमा मोरङ प्रहरीले विराटनगरबाट राजस्व छली भएको आशंकामा ३३ लाखको मोटर्स पार्टपूर्जासहितको भारतीय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको थियो । राजस्व अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट भन्सारले पास गरेर छोडेको सामानमा सन्दर्भ मूल्यभन्दा कम राजस्व दाखिला गरी एजेन्ट मार्फत भन्सार कर्मचारीको मिलेमतोमा छली भएको पुष्टि भएको थियो ।

विराटनगरका ८ वटा फर्मले आयात गरेको उक्त सामानमा सर्न्दभ मूल्यभन्दा कम मुल्याङ्कन गरेको पाइएपछि राजस्व कार्यालयले हरेक फर्मलाई जनही २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । यो प्रकरणमा जानकी प्रसाद केन्द्रले आठ वटा प्रज्ञापन पत्रबाट ३२ वटा आइटम सामान आयात गरेको थियो ।

त्यसअघि भन्सार कार्यालयदेखि निस्किएको सामानमा न्यून मुल्यांकन र भेइकल एन्ड कन्साइन्मेट ट्रयाकिङ सिस्टम (भीसीटीएस) पनि नगरेको भेटिएपछि विराटनगरको शिवम् मोटर्स पार्टस् र मारुती हार्डवेयरलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले कारबाही गरेको थियो । भीसीटीएस नगरी सामान आयात गर्ने फर्मलाई ३ लाख र न्यून मूल्याङ्कन गरी भन्सार छलेको कसुरमा ३ लाख १८ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

गत असोजमा भीसीटीएसमा गाडी नम्बर उल्लेख नगरी भन्सार जाँचपास गरेर यार्डबाट निस्किएको ३४ लाख मूल्यको कपडा, मोटर्सको पार्टपूर्जा र हार्डवयरको सामान लोड गरिएको बीआर ३८ डी ३२४३ नम्बरको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो ।

त्यसअघि १८ लाख भन्सार महसुल कम तिरेर लत्ता कपडा, विद्युतीय सामाग्री र मोटर पार्टस् बोकेर भन्सारबाट निस्किएका दुईवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बुझाएको थियो । ‘विगतमा यस्ता कमजोरी भएका थिए होलान्’ प्रमुख भन्सार अधिकृत ढकालले भने ‘पछिल्लो तीन महिनायता विराटनगर भन्सारमा कुनैपनि शंकास्पद गतिविधि भएका छ्रैनन् ।’ उनले भन्सार राजस्वमा पूर्ण रुपमा कडाई गरिएको दावी गरे ।


प्रकाशित : असार ५, २०८० १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×