कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

लम्पीको मार : उपचार गर्न दाता गुहार्दै सरकार

राजु चौधरी

काठमाडौँ — भारत हुँदै भित्रिएको भए पनि नेपालले ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि पूर्वतयारी नगर्दा अवस्था भयावह बनेको छ । नेपालमा तीन वर्षदेखि देखिन थालेको यस रोगलाई बेवास्ता गर्दा लाखौं गाईभैंसीमा रोग फैलिएको र हजारौं पशु मरेको पशु सेवा विभागले जनाएको छ । 

लम्पीको मार : उपचार गर्न दाता गुहार्दै सरकार

नेपालमा पछिल्लो समय लम्पी फागुन अन्तिम वा वैशाखतिर देखिएको थियो । गर्मीमा तीव्र रूपमा फैलिने रोग नियन्त्रणका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटमा कुनै कार्यक्रम समावेश गरेन । रोग महामारीकै रूपमा फैलिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दाता गुहार्ने तयारी थालेको छ । ‘३ वर्षअघि नै देखिएको भए पनि सरकारले यसमा चासो नै दिएन,’ नेपाल भेटेरिनरी एसोसिएसनका निवर्तमान अध्यक्ष शीतलकाजी श्रेष्ठले भने, ‘रोग तीव्र रूपमा फैलिरहँदा सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्न सक्थ्यो । तर केही भएन ।’

सरकारले व्यावसायिक रूपमा भ्याक्सिन आयातको अनुमति दिनबाहेक केही नगरेको श्रेष्ठको भनाइ छ । सरुवा रोग भएकाले भ्याक्सिनबाहेक अन्य विकल्प छैन । ‘भारतसँग पहल गर्दा २०/२५ दिनमा उपलब्ध गराउन सक्छ । तर सरकार बेमतलबी बन्यो,’ श्रेष्ठले भने, ‘अहिले किसान आफ्नै बलबुताले काम गरेका छन् ।’ जानकारका अनुसार भ्याक्सिनबाहेक जैविक सुरक्षाको विधि अपनाएर पनि सुरक्षित राख्न सकिन्छ । त्यसका लागि विदेशबाट आयात गर्दा केही दिन क्वारेन्टिनमा राखेर अध्ययन गर्न सकिन्छ । एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्दा नियन्त्रित रूपमा गर्नुपर्थ्यो । तर, त्यो हुन नसकेको श्रेष्ठको बुझाइ छ ।

कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले पनि सरकारी ध्यान अन्यत्रै हुँदा लम्पी नियन्त्रणबाहिर गएको बताए । ‘भारतबाट ०७७ मै आएको रोग हो । प्रकोप पूर्ण रूपमा निर्मूल पार्न भ्याक्सिनदेखि औषधिमा ध्यान दिनुपर्थ्यो,’ अध्यक्ष बस्नेतले भने, ‘अहिले प्रकोपका रूपमा फैलिएको छ । तर नियन्त्रणका कुनै उपाय छैनन् ।’ महासंघका अनुसार बिमा कम्पनीले पशुको बिमा गर्न मानेका छैनन् । बिमा गरिसकेका किसानलाई भुक्तानी प्रक्रियामा समस्या छ ।

‘एकातर्फ गाईभैंसी मर्ने, अर्कोतर्फ क्षतिपूर्ति, राहत नपाउने अवस्था छ,’ बस्नेतले भने, ‘किसानलाई जसरी पनि पीडा मात्रै छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकास सचिव दीपककुमार खरालले पूर्वतयारीमा कमजोरी भएको स्विकारे । ‘भारतबाट रोग आएपछि बजेट छुट्याउनुपर्थ्यो । एक वर्षअघि किसानलाई औषधि दिँदै सचेत गराउनुपर्थ्यो । अहिले ढिला भएकै हो,’ उनले भने, ‘यद्यपि, रोग नियन्त्रण गर्न लागिपरेका छौं । स्थानीय तह, प्रदेशसँगको समन्वयमा काम गरिरहेका छौं ।’

लम्पी रोग पहिलो पटक ०७७/७८ मा ८ जिल्लाका ११ गाउँपालिकामा देखिएको थियो । त्यस बेला १ हजार ४ सय ५८ गाईभैंसी संक्रमित थिए । तीमध्ये १३ वटा मरेको विभागले जनाएको छ । त्यसपछि ०७८/७९ मा ९ जिल्लाको १९ गाउँपालिकामा देखियो । लम्पीबाट १ हजार ८ सय ३८ गाईभैंसी संक्रमित भए पनि पशु मरेनन् । पछिल्लो समय भने महामारीकै रूपमा फैलिएको छ । ३ लाख ५३ हजार बढी गाईभैंसीमा रोग र ९ हजार ४ गाईभैंसी मरिसकेको विभागले जनाएको छ । यो प्रारम्भिक तथ्यांक भएकाले अझै बढ्न सक्ने विभागले जनाएको छ ।

‘रोगबारे जानकारी पाएपछि सबै स्थानीय तह, गाउँपालिकामा सूचना प्रवाह गरेका छौं । किसानलाई सचेत गराउने, सहजीकरण गर्ने काम गरिरहेका छौं,’ सचिव खरालले भने, ‘रोग फैलिएपछि भ्याक्सिन (खोप) को माग बढ्न थाल्यो, खोप ल्याउन सहजीकरण गरेका छौं ।’ मन्त्रालयका अनुसार अहिले ४ कम्पनीले भ्याक्सिन आयात गरिरहेका छन् । ती कम्पनीले करिब १ लाख भ्याक्सिन आयात गरेको मन्त्रालयले जनाएको छ । भ्याक्सिन महँगो पर्ने हुँदा किसानको मागअनुसार आयात र वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।

‘किसानले माग गरेको अवस्थामा भ्याक्सिन सहजै उपलब्ध हुन्छ । तर, किसानको चाहना खर्च स्थानीय सरकार र केन्द्रले नै बेहोर्नु भन्ने छ । केन्द्र सरकारले बर्डफ्लुपीडित किसानलाई ५८ करोड राहत वितरण गरेकाले थप पैसा थिएन,’ सचिव खरालले भने, ‘केही स्थानीय तहले आफ्नो बजेटबाट उपलब्ध गराएका छन् । मन्त्रालयले विभाग र आयोजनामा खर्च नभएको रकम अर्थ मन्त्रालयको सहमतिमा रकमान्तरण गरी किसानलाई औषधि, मलम उपलब्ध गराउने प्रक्रियामा छौं ।’

असार ८/९ मा कृषि क्षेत्रमा काम गर्ने वैदेशिक सहायता (दाता) सँग पनि छलफल गरिने जनाइएको छ । ‘छलफलका क्रममा रोग नियन्त्रणमा सहयोग गर्ने, फन्डिङ गर्ने अपेक्षा राखेका छौं,’ उनले भने, ‘किसानलाई सहयोग गर्न तीनै तहका सरकारको सहकार्यमा हामी पनि लागिपरेका छौं ।’ भारतले ६ महिनाभित्र ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्दै छ । भारतले उत्पादन गरेको भ्याक्सिन नेपाल भित्र्याउन लागिपरेको उनले बताए ।

पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले पनि गाउँ–गाउँमा सचेतना कार्यक्रम गरिरहेको बताए । रोग नियन्त्रणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगर, पोखरा, जनकपुर, धनगढी, सुर्खेतमा रहेको प्रयोगशालाबाट रोग पत्ता लगाउने काम भइरहेको उनको भनाइ छ । ‘स्थानीय तहको सहकार्यमा विज्ञ टोलीहरू खटाएका छौं, रोग फैलिएको ठाउँमा तत्काल गर्नुपर्ने कार्यमा समन्वय गरिरहेका छौं,’ ढकालले भने ।

रोग नियन्त्रण गर्नकै लागि चालु आर्थिक वर्षमा सबै पालिकामा १/१ लाख रुपैयाँ बजेट पठाइएको उनले बताए । ‘स्थानीय तह आफैंले पनि बजेट विनियोजन गर्छ, विभागका तर्फबाट पनि प्रत्येक पालिकालाई १/१ लाख रुपैयाँको दरले बजेट पठाएका छौं,’ उनले भने । विभागका अनुसार लम्पी रोग देखिनेबित्तिकै गाईभैंसीलाई बथानबाट छुट्याएर अलग्गै राख्नुपर्छ । ज्वरो आएको पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने र प्रशस्त मात्रामा सफा पानी खान दिनुपर्छ ।

रोग लागेपछि ज्वरो घटाउन पारासिटामोल (वा मेलोक्सिकेम) प्रयोग गर्नुपर्छ । घाउ चिलाउन कम गर्न प्राविधिकको सल्लाहअनुसार उचित औषधिको प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम प्रयोग गर्नुपर्छ ।

प्रकाशित : असार १, २०८० ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×