कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीडीसीले इलामका किसानको दुई करोड दिएन

चैत १५ यता ४४ लाख ८० हजार लिटर दूधको भुक्तानी पाउन बाँकी
विप्लव भट्टराई

इलाम — दुग्ध विकास संस्थानले नियमित भुक्तानी नगर्दा समस्या भएको किसानले गुनासो गरेका छन् । जिल्लाभरका किसानको रोकिएको रकम मात्र २ करोड ३० लाख हाराहारी रहेको दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेमप्रसाद कट्टेलले जनाए । चैत १५ यता ४४ लाख ८० हजार लिटर दूधको भुक्तानी पाउन बाँकी देखिएको हो ।

डीडीसीले इलामका किसानको दुई करोड दिएन

गाउँमा दूध संकलन गरेर चिस्यान केन्द्रतर्फ लैजाने तयारी गर्दै इलामको रोङ–१ शान्तिपुरका किसान । तस्बिर : विप्लव/कान्तिपुर

सात वटा चिस्यान केन्द्रबाट दैनिक इलामबाट ५ हजार २ सय लिटर दूध विराटनगरस्थित दुग्ध वितरण आयोजनामा जाने गरेको छ । डेढ वर्षअघिदेखि किसानले यस्तो समस्या भोग्दै आएको कट्टेलको भनाइ छ । ‘हरेक १५ दिनमा किसानले भुक्तानी पाउनुपर्ने हो,’ उनले भने, ‘तर अहिले दुई महिनासम्म किसानको पैसा होल्ड गरेर राखिने गरेको छ ।’ यसले किसानलाई दैनिकी चलाउन र गाईको दानापानी जुटाउन पनि समस्या परेको किसान बताउँछन् ।

संस्थानले बेलामा पैसा नदिँदा झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम र तेह्रथुमका किसान मारमा छन् । कुनै बेला विराटनगर वितरण आयोजनामा ७५ प्रतिशतसम्म दूध इलामबाट जाने गरेको थियो । अहिले भने समयमा मूल्य नपाएको र निजी डेरी, चिज उद्योग, ललिपप उद्योगलगायत कारण आन्तरिक रूपमै दूधको खपत धेरै हुने गरेको छ ।

संस्थानअन्तर्गत इलामको बिब्ल्याँटे, पुवाखोल, शान्तिडाँडा, लक्ष्मीपुर, तीनघरे, फिक्कल र हर्कटेमा दुग्ध चिस्यान केन्द्र छन् । तर केही किसानले मात्र संस्थानलाई दूध बिक्री गर्ने गरेका छन् । पछिल्लो समय दूधको मूल्यमा भएको वृद्धिले भने किसानले राहत महसुस गरेका छन् ।

३.० फ्याट र ८.० एसएनएफ भएको दूधको मूल्य प्रतिलिटर ५८ रुपैयाँ छ । गुणस्तरअनुसार किसानले यसभन्दा बढी मूल्य पाउँछन् । यसबाहेक दैनिक ८० लिटरभन्दा धेरै दूध दिने किसान या सहकारीले प्रतिलिटर अतिरिक्त २ रुपैयाँ मूल्य पाउँछन् ।

प्रकाशित : जेष्ठ २१, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?