कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भारत–विराटनगर कार्गो रेल सेवा सुरु

नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट नेपाल–भारतका प्रधानमन्त्रीले उद्घाटन गरेपछि कार्गो रेलको औपचारिक सुरुवात
देवनारायण साह

मोरङ — भारत–विराटनगर कार्गो रेल सेवा बिहीबारदेखि सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको रेल विराटनगर आइपुगेको हो । नयाँदिल्लीस्थित प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवा औपचारिक रूपमा सुरु गरेका हुन् ।

भारत–विराटनगर कार्गो रेल सेवा सुरु

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको रेलमा आरती स्ट्रिप्स उद्योगको जस्तापाता बनाउने एचआर क्वाइल २ हजार ४ सय मेट्रिक टन कच्चा पदार्थ ढुवानी गरिएको छ । भारतीय रेल्वेका लोको पाइलट अशोककुमार र सहायक लोको पाइलट मुकेशकुमार शर्माले उक्त रेल बथनाहाबाट नेपाल कस्टम यार्डसम्म चलाएर ल्याएका थिए । बथनाहादेखि १३ मिनेटमा आइपुगेको उनीहरूले बताए । नवनिर्मित यो रेलमार्गमा रेल सञ्चालनका लागि कुनै समस्या नभएको पनि उनीहरूको भनाइ छ ।

एकीकृत भन्सार जाँच चौकीमा रेल्वे यार्ड निर्माण भएदेखि कोशी प्रदेशका उद्योगी व्यवसायीले कोलकाताबाट विराटनगरको एकीकृत जाँच चौकीसम्म मालसामान ढुवानीका लागि खुला गर्न माग गर्दै आएका थिए । कार्गो रेल सञ्चालन भएपछि विराटनगरलगायत यस प्रदेशका उद्योगी व्यवसायी हर्षित भएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले एकीकृत जाँच चौकीसम्म सञ्चालन भएको रेल सेवाले उद्योगका लागि कच्चा पदार्थ आयात र यहाँका उत्पादित वस्तु निर्यातमा ढुवानी खर्च कम लाग्ने बताए । ‘कार्गो रेलले विलम्ब शुल्कलगायतको अनावश्यक खर्च घटाउँछ,’ उनले भने, ‘जसले यहाँ उत्पादित वस्तुको लागत मूल्य घट्ने र बजारमा प्रतिस्पर्धा गर्न सहज हुन्छ ।’


उद्योग संगठन मोरङका प्रथम उपाध्यक्ष अनुपम राठीले अब ढुवानी लागत मूल्य न्यूनतम ३०/४० प्रतिशत घट्ने बताए । ‘कोलकाताबाट बिनारोकटोक एकीकृत जाँच चौकीसम्म मालसामान आउने भयो,’ उनले भने, ‘यसको प्रत्यक्ष लाभ यहाँका उपभोक्ताले पाउनुका साथै उत्पादित मालवस्तु बजारमा प्रतिस्पर्धी बन्न सहज हुन्छ ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयका कामु सचिव अर्जुनजंग थापा कार्गो रेल सेवा सञ्चालनले यस क्षेत्रमा व्यापारिक, औद्योगिक र आर्थिक गतिविधिमा वृद्धि हुनेमा आशावादी छन् । ‘नयाँ उद्योग थपिने र स्थानीयले रोजगारको अवसर प्राप्त गर्ने भएकाले आर्थिक उन्नतिको ढोका खुल्ने अपेक्षा छ,’ उनले भने ।

भारतको बथनाहाबाट विराटनगरको एकीकृत जाँच चौकी स्टेसनसम्म आठ किलोमिटर रेलमार्गको २०७५ कात्तिक ८ मा परीक्षण भइसकेको थियो । बुधबार पुनः परीक्षण गरेर कार्गो सेवा सञ्चालनमा आएको रेल विभागका महानिर्देशक रोहितकुमार मिश्रले बताए । ‘अब भारतबाट कार्गो रेल नियमित सञ्चालन हुन्छ,’ उनले भने, ‘कटहरीमा स्टेसन सञ्चालन भएपछि त्यहाँसम्म नै रेल चल्छ ।’ आउँदो वर्ष कटहरीमा स्टेसन उद्घाटन हुन सके कार्गो र यात्रु सेवा सञ्चालन हुने उनको भनाइ छ ।

बथनाहा–विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भए पनि मुआब्जा विवादले निर्माण सम्पन्न हुन सकेको छैन । कटहरी गाउँपालिका–२ महेशपुरका २२ परिवारले मुआब्जा कम भएको भन्दै सर्वोच्च अदालतमा दिएको मुद्दा विचाराधीन रहेकाले रेल्वे निर्माण अघि बढ्न नसकेको महानिर्देशक मिश्रले बताए ।


भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भइरहेको हो । बथनाहा–विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेसन निर्माणका लागि भारतले तीन अर्ब ७३ करोड भारतीय रुपैयाँमा इरकोण इन्टरनेसनललाई ठेक्का दिएको छ । कुल लम्बाइमध्ये भारततर्फ ५ र नेपालतर्फ १३ किलोमिटर रेल्वे, एकीकृत जाँच चौकी, रंगेली–विराटनगर सडकखण्ड नजिक र महेशपुरमा गरी तीन ठाउँमा स्टेसन बन्नेछ । एकीकृत जाँच चौकीमा स्टेसन निर्माण भइसकेको छ भने रंगेली–विराटनगर सडक खण्ड नजिक निर्माण अन्तिम चरणमा पुगेको छ । उत्तरतर्फ भने मुआब्जा विवादले काम अघि बढेको छैन ।

हाल जनकपुर–जयनगर रेलमार्ग सञ्चालनमा छ । नेपालका विभिन्न ६ स्थानमा रेलमार्ग निर्माणका लागि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा सम्झौता भएको थियो ।

प्रकाशित : जेष्ठ १९, २०८० ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×