१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विराटनगर भन्सारसम्म रेल यार्ड सञ्चालन गर्न प्रधानमन्त्रीसँग आग्रह

विनोद भण्डारी

विराटनगर — सुनसरी मोरङ क्षेत्रका उद्योगीले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष विराटनगर भन्सारसम्म निर्माण सम्पन्न भएको कार्गो ब्रोडगेज रेल यार्ड सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन् । भारतले पटकपटक अनुरोध गरे पनि नेपाल पक्षले चासो नदिँदा रेल्वे यार्ड हस्तान्तरण प्रक्रिया अघि बढ्न सकेको छैन ।

विराटनगर भन्सारसम्म रेल यार्ड सञ्चालन गर्न प्रधानमन्त्रीसँग आग्रह

उक्त यार्ड सञ्चालनमा नआउँदा यस क्षेत्रका उद्योगीले कच्चा पदार्थ आयात र तयारी वस्तुको निर्यात गर्दा महँगो ढुवानी भाडा तिर्दै आएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालका अनुसार कष्टम यार्डसम्मको रेल्वे सेवा सञ्चालनमा आए उद्योगीलाई झण्डै ३० देखि ४० प्रतिशतसम्म ढुवानी लागत कम पर्छ । प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा उक्त यार्ड उद्घाटन गर्न यस क्षेत्रका उद्योगीले आग्रह गरेका छन् । भारतको बथनाहबाट नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर लम्बाइ रहेको उक्त रेल्वेमार्ग करिब चार अर्ब भारुको लागतमा भारतको इरकोन कम्पनीले सन् २०११ मा बनाउन सुरु गरेको थियो । सन् २०१७ मा सम्पन्न हुनुपर्ने उक्त योजना नेपाल पक्षको कमजोरीका कारण अहिले पनि अधुरै छ ।

निर्माण सुरु भएको १२ वर्ष बित्दा बथनाहदेखि विराटनगर आईसीपीसम्मको ८ किलोमिटर मात्रै रेलमार्ग पूरा भएको छ । निर्माण सम्पन्न भएको क्षेत्र भारतीय पक्षले नेपाललाई लिन आग्रह गर्दै आए पनि नेपाल पक्षले जिम्मा लिएको छैन । कष्टम यार्डसम्म बनेको उक्त रेलमार्ग सरकारले जिम्मा लिएर बथनाहदेखि विराटनगर भन्सारसम्म रेल आउन दिने हो भने औद्योगिक पदार्थको निकासी, पैठारीमा सहज हुने उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।

कार्गो रेल्वे मार्ग निर्माणका लागि नेपाली पक्षले १ सय १९ बिघा जमिन अधिग्रहण गरेर निर्माण कम्पनीलाई उपलब्ध गराउनु पर्ने दुईपक्षीय सहमति थियो । तत्कालीन मुआब्जा निर्धारण समितिले प्रतिकठ्ठा दुई लाखका दरले जग्गा अधिग्रहण गरेको थियो ।

तर कटहरी गाउँपालिका–१ का २२ जग्गाधनीले उक्त मुआब्जामा आफ्नो ६ बिघा जमिन अधिग्रहण गर्न नदिने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । अदालतले पाँच वर्ष अघि प्रतिकठ्ठा ८ लाखका दरले मुआब्जा उपलब्ध गर्न दिएको आदेशलाई सरकारले अहिलेसम्म कार्यान्वयन नगर्दा निर्माण कार्य अवरुद्ध भएको छ । सरकारले कटहरीको ६ बिघा जमिनको मुआब्जा विवाद नसुल्झाउँदा रेल्वे मार्ग निर्माण कार्य नै अवरुद्ध भएको रेल्वे विभागका इन्जिनियर रोशन देवले बताए । त्यो जमिनमा रेल्वे यार्ड, रेल्वे भवन र कर्मचारीको भवन निर्माण गरिनुपर्ने उनले बताए । निर्माण कम्पनीले त्यहाँ रेल्वे यार्ड र रेल्वे भवन निर्माण सुरु गरे पनि जग्गाधनीको अवरोधका कारण अवरुद्ध भएको देवको भनाइ छ । भारतीय भन्सार बिन्दुबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्मको ८ किलोमिटरमा विभिन्न संरचना निर्माण भइसकेको छ । यो योजना भारततर्फ पाँच किलोमिटर र नेपालतर्फ १३ किलोमिटर पर्छ ।

भारतको बथनाहा रेल्वे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दूरीमा पहिलो पटक २०७६ कात्तिकमा भारतीय पक्षले रेल्वे लिग परीक्षण गरेको थियो । साइड इन्जिनियर देवका अनुसार नेपालतर्फ रेलको लिग, सिल्पर र वालास ओछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । उनका अनुसार मुआब्जा बिवाद सुल्झेमा निर्माण पनि चाँडै सकेर पुरै योजना नेपाललाई हस्तान्तरण हुन्छ । नेपाल र भारतबीच कुटनीतिक रुपमा हस्तान्तरणको विषय धेरै पटक उठे पनि रेल्वे यार्ड र स्टेसन निर्माण नहुँदा हस्तान्तरण हुन सकेको छैन । केही पहिला सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा तथा भारतीय राजदूत नविन श्रीवास्तवले चैत पहिलो साता विराटनगरमा बथनाहदेखि विराटनगर आईसीपीसम्म करिब ८ किलोमिटर रेल्वे तयार रहेको र त्यसको हस्तान्तरण गरिने बताएका थिए ।

भारतीय रेल्वे विभागले बथनाहबाट आईसीपीसम्मको रेल्वे ट्र्याक पटकपटक परीक्षण गरी पास गरिसकेको छ । निर्माण सम्पन्न भए जति रेल्वे क्षेत्र हस्तान्तरण गर्न भारतीय पक्ष तयार छ । तर नेपाल पक्षले आनाकानी गर्दा भन्सार यार्डसम्म कार्गो ब्रोडगेज रेल सञ्चालन हुन सकेको छैन । उद्योगी रिजालका अनुसार सरकारले रेल्वेको जिम्मेवारी नलिँदा यस क्षेत्रका उद्योगी महँगो ढुवानी खर्च तिर्न बाध्य भइरहेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८० १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?