१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गर्मी छल्न भारतीय पर्यटक पोखरामा

अनिश भट्टराई

गण्डकी — पर्यटकीय नगरी पोखराको ड्यामसाइडमा शुक्रबार भेटिए भारतबाट आएका मयंक तिवारी । ८ जनाको समूहमा एक साताका लागि नेपाल आएका उनी आइतबारसम्म पोखरा बस्ने योजनामा छन् । पोखरामा घुमिवरी उनको टोली पशुपतिनाथ मन्दिरमा पूजा गर्न काठमाडौं जानेछ । भारतको हपहपी गर्मी छल्न तिवारीको टोली नेपाल आएको हो ।

गर्मी छल्न भारतीय पर्यटक पोखरामा

अहिले पोखरामा भारतीय पर्यटकको लर्को देखिन्छ । लेकसाइडका बाटो, फेवाताल छेउ लाग्ने आरती, फुटट्र्याक तथा पोखराका अन्य पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको उपस्थिति उल्लासमय छ । भारतमा गर्मी बढेपछि उनीहरू गर्मी छल्न बर्सेनि नेपाल आउने गरेका छन् ।

भारतबाटै गर्मी छल्न पोखरा आएका छन्, झारखण्डका सुबोध दास । ६७ वर्षीय दासले पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरिसकेका छन् । ‘भारतमा अहिले गर्मीले बस्नै गाह्रो छ । नेपालमा आएपछि बोर्डरमा केही गर्मी थियो, बोर्डर कटेपछि गर्मी लागेन,’ दासले भने । दास र उनको टोली भारतकै टुर्स एन्ड ट्राभल कम्पनीबाट एक गाडी लिएर नेपाल आएको हो ।

बर्खा लागेसँगै पोखरामा अहिले भारतबाहेक अन्य देशका पर्यटक नगण्य छन् । प्रि–मनसुन लाग्न थालेपछि पदयात्राका लागि आएका पर्यटक फर्किने तरखरमा छन् । पदयात्राका लागि आउने पर्यटक अब मनसुन सकिएपछि नै नेपाल आउँछन् । यसबीचमा भारतीय पर्यटकको आगमनले न्यून भए पनि राहत मिलेको पर्यटन व्यवसायी बताउँछन् ।

भारतीय पर्यटक वृद्धिले उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन नसकेको र तेस्रो मुलुकका पर्यटक नआउँदा भारतीय पर्यटकको आगमनले पर्यटनमा केही भरथेग मिलेको उनले जनाए ।

भारतीय पर्यटक पोखरामा भेटिए पनि रेस्टुराँ र होटलको अकुपेन्सी भने उल्लेख्य छैन । अहिले पोखरामा २५ प्रतिशत मात्र होटल अकुपेन्सी रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । भारतीय पर्यटक आफ्नै गाडी लिएर आउने र केहीले खाना पनि बाटोमै पकाएर खाने गरेको पर्यटन व्यवसायीको गुनासो रहने गरेको छ । अहिले पोखराका रेस्टुरेन्ट प्रायः खाली रहेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?