वाणिज्य विभागले भन्यो : खानेतेलको अवैध आयात गरे कारबाही हुन्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाने तेलको अवैध रुपमा आयात गरी कारोबार गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय नेपालभन्दा भारतमा खानेतेल सस्तो भएपछि केही व्यापारीले भारतबाट अवैध रुपमा आयात गर्ने गरेको भन्दै स्वदेशका उद्योगी व्यवसायीले गुनासो गर्दै आएका छन् । 

उद्योगी व्यवसायीको गुनासोपछि विभागले सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । भारतमा कर घटाइँदा खानेतेलको मूल्य नेपालमा भन्दा सस्तो पर्ने गरेको छ, जसले गर्दा उतैबाट तेल अवैध रुपमा आयात हुने गरेको स्वदेशी उद्योगहरुको गुनासो छ ।

विभागले एक सूचना जारी गर्दै भनेको छ ‘इजाजत नलिई गुणस्तरहीन तोरीको तेल अवैध तरिकाले भित्र्याई तराईका बजारहरुमा बिक्री वितरण भइरहेकोले नेपाली उद्योगहरु बन्द हुने स्थितिमा पुगेको भनी नेपाल चामल, तेल, दाल उद्योग संघको पत्र आएको हुँदा सम्बन्धित निकायलाई निगरानीको लागि लेखी पठाइसकिएको छ ।’ त्यसरी भित्र्याइएको तेल कतै सञ्चित भेटिएमा वा थोक तथा खुद्रा बिक्री वितरण गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।


प्रकाशित : जेष्ठ १२, २०८० १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

गणतन्त्र दिवसमा शारदा नगरपालिकामा पढाई मेला

विप्लव महर्जन

सल्यान — यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा शारदा नगरपालिका सल्यानले पढाई मेला आयोजना गर्ने भएको छ ।

नगरपालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न सदरमुकाम खलंगाको लुहापिङ्गस्थित सबैभन्दा पुरानो त्रिभुवन जनमाध्यमिक विद्यालयमा पढाई मेला गर्ने भएको हो । मेला संचालनका लागि नगरपालिकालाई शिक्षासँग सम्बन्धित कार्यक्रम रुम टु रिडले सहयोग गरेको छ ।

सानै उमेरदेखि मोबाइलतर्फ ध्यान दिँदा शैक्षिकस्तर खस्कँदै गएकाले त्यसमा सुधार तथा बालबालिकालगायत युवामा पढ्ने बानी विकास गर्न पढाई मेला गर्न लागेको शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारीले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार नगरपालिकाभित्र ५७ सामुदायिक र ११ निजी विद्यालय छन् । नगरभित्रका २० भन्दा बढी विद्यालयबाट विकास गरिएका बालकेन्द्रित, नविनतम् र आकर्षक पठन सामग्री, बाल खेलसहितका स्टल राखिने छ । मेलामा नगरभरिका सबै विद्यालयका एक हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले पुस्तक पढाईप्रति बालबालिका उत्साहित गर्न पहिलोपटक पढाई मेला गर्न लागेको पत्रकार सम्मेलनमा बताए । ‘मेलामा बाल पुस्तकालय, पढाई मापन तथा डिजिटल पुस्तकालय, हिँडाई पढाई र चौतारामा बसेर पढाईलगायत कक्षा पुस्तकालय, स्वतन्त्र पठन, लेखन तथा कथा वाचन कार्यक्रम हुनेछ,’ उनले भने । गणतन्त्र दिवसमा अन्य कार्यक्रम गरेर समय बिताउनुभन्दा पढाई मेला गर्दा प्रभावकारी हुने उनको विश्वास छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×