२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अलैंची निर्यात हालसम्मकै उच्च

चालु आर्थिक वर्षको १० महिनामा ८९ लाख २१ हजार किलो अलैंची विदेश निर्यात
सीमा तामाङ

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ७ अर्ब २८ करोड १४ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो १० महिनामा ८९ लाख २१ हजार ६ सय ७९ किलो अलैंची निर्यात भएको हो, जुन हालसम्मकै उच्च हो ।

अलैंची निर्यात हालसम्मकै उच्च

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई अहिलेसम्मकै उच्च निर्यात रहेको उल्लेख गर्दै भन्छन्, ‘१० महिनामै ७ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ, अझै २ महिना बाँकी छ । यो वर्ष ८ अर्बको हाराहारीमा निर्यात हुन सक्छ ।’ यसअघि आव ०७७/७८ मा पनि ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो । गत आवमा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४ सय ४३ किलो अलैंची निर्यात भएको विभागको तथ्यांक छ । अलैंची निर्यात बढे पनि किसानले पाउने मूल्य भने क्रमशः घट्दै गएको छ ।

यस वर्ष अलैंची उत्पादन बढे पनि समयसापेक्ष बजार र मूल्य नपाएको ताप्लेजुङका बाल्मणी बराल बताउँछन् । पहिलाको तुलनामा किसानले पाउने मूल्य न्यून भएको उनले सुनाए । ‘कुनै बेला ताप्लेजुङमा मात्रै अलैंची बेचेर ६ अर्ब रुपैयाँ भित्रिन्थ्यो । अहिले देशभरमा त्यति भित्रिन्छ । कहिलेकाहीँ त्यही पनि आउँदैन,’ उनले भने ।

प्रतिमन (४० किलो) १ लाख रुपैयाँभन्दा बढीमा समेत बेचेको अलैंची यस वर्ष मुस्किलले २४ हजारदेखि सुरु भई ३४ हजारसम्म पुगेको उनको दाबी छ । ताप्लेजुङमा मात्रै यस वर्ष २८ हजारदेखि ३० हजार टन अलैंची उत्पादन भएको महासंघका पूर्वसदस्यसमेत रहेका बरालले जनाए । गत वर्ष २४ सयदेखि २५ सय टन उत्पादन भएको थियो । तर आगामी वर्ष उत्पादन घट्ने उनको अनुमान छ । ‘मौसम राम्रो भयो, अलैंचीको बोट सुक्न पाएन । त्यसकारण उत्पादन बढ्यो । तर अलैंचीमा रोग लागेको हुँदा आउने वर्ष उत्पादन घट्छ,’ उनले भने ।

गत वर्ष मौज्दात राखिएको २५ प्रतिशत उत्पादन र यस वर्ष ५० प्रतिशत उत्पादन बढेकाले निर्यातसमेत बढेको उनको भनाइ छ । ‘अलैंचीका लागि राम्रो मौसम भयो । खेती विस्तार हुँदै छ,’ उनले भने, ‘त्यसैले उत्पादनसँगै निर्यात पनि बढ्यो ।’ मुलुकमा अझै २ हजार टन अलैंची मौज्दातमा रहेको बरालले जनाए । कृषि मन्त्रालयले ०७७/७८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर १५ हजार ६ सय ६८ हेक्टर जग्गामा अलैंची खेती हुन्छ । यसबाट ८ हजार २ सय ८९ टन अलैंची उत्पादन हुन्छ । आर्थिक वर्ष ०७६/७७ मा १६ हजार ५ सय ६२ हेक्टर जमिनबाट ९ हजार ५ सय ४५ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा १५ हजार ५५ हेक्टर जमिनमा अलैंची खेती भएको थियो । उक्त वर्ष ७ हजार ९ सय ५४ टन उत्पादन भएको कृषि तथ्यांक छ ।

अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादित २ प्रतिशत अलैंची मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहँदै आएकोमा पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । भारतमा कच्चा पदार्थका रूपमा अलैंची जाने गरेको छ । पछिल्लो समय प्रशोधन गरी निर्यात गर्दा अनुदानसमेत पाइने हुँदा व्यवसायी त्यसतर्फ पनि आकर्षित भइरहेको महासंघका अध्यक्ष भट्टराईले बताए ।

प्रकाशित : जेष्ठ ११, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?