२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

राष्ट्रिय गौरवको बबई आयोजनाको काम बजेट अभावमा रोकियो

कमल पन्थी

बर्दिया — राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना चालु आर्थिक वर्षमा पुँजीगत बजेटको अभावमा एक महिनादेखि निर्माण व्यवसायीले भुक्तानी नपाउँदा काम रोकिएको छ । निर्माण व्यवसायीले रनिङ बिल पेस गरे पनि करिब ३५ करोड रुपैयाँ भुक्तानी दिन नसक्दा काम रोकिएको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको बबई आयोजनाको काम बजेट अभावमा रोकियो

चालु आवमा १ अर्ब ५२ करोड ८४ लाख बजेट विनोयोजित भएकोमा संशोधित बजेट १ अर्ब ३४ करोड ८४ लाख घटेर आएको छ । बजेटको अभावमा पूर्वी नहर प्रणाली अन्तर्गत हुलाकी सडकदेखि दक्षिणतर्फको विस्तार कार्य रोकिएको छ ।

आयोजना निमित्त प्रमुख राम कृष्ण घोरासैनीले पश्चिम नहर प्रणाली अन्तर्गत मधुवन र ठाकुरबाबा नगरपालिकाभित्रका विभिन्न कमाण्ड क्षेत्र विस्तार तथा नहर सुदृढीकरणको काम रोकिएको बताए । बबई नदीको दायाँ र बायाँ किनारामा निर्माणाधीन नियन्त्रण सम्बन्धी कार्य रोकिएको छ,’ उनले भने ‘आव ०८२/०८३ मा सम्पन्न गर्नुपर्ने आयोजनाको बजेट कटौती हुँदै जाँदा कहिले सम्पन्न हुने हो निश्चित छैन ।

आयोजनाको सिलिङ दायित्व नै भुक्तानी अपुग हुँदा नयाँ ठेक्का व्यवस्थापनमा चुनौती थपिएको छ । बजेट अभावमा पूर्वी क्षेत्रको हुलाकी सडकभन्दा दक्षिणतर्फ झण्डै ३ हजार ५ सय हेक्टर क्षेत्रफल कमाण्ड क्षेत्र विस्तार कार्य, पश्चिमतर्फ गुलरियाको विस्तार कार्य लगायत अत्यावश्यक नदी नियन्त्रणका काम ओझेलमा परेको छ । यसैगरी पश्चिमतर्फको नहर विस्तारका लागि आवश्यक पर्ने करिब १ सय १० हेक्टर जग्गा प्राप्तिका लागि बजेट उपलब्ध नहुने भएको आयोजनाले जनाएको छ ।

पूर्वतर्फको २१ हजार हेक्टर र दक्षिणतर्फ १५ हजार हेक्टर क्षेत्रफल कृषि योग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यका साथ ०५१ सालदेखि काम सुरु भएको हो । बबई सिँचाइ आयोजना अन्तर्गत पूर्वी मूल नहर ३४ किमी सम्पन्न भएको छ । पश्चिमी नहर ४३ किमी निर्माण गर्ने लक्ष्य रहेको छ । हालसम्म २८ किमी पश्चिम मूल नहर निर्माण भइसकेको छ । आयोजनाको काम सम्पन्न गर्न सरकारले कुल १८ अर्ब ९६ करोड ३० लाख रकम स्वीकृत गरिए पनि बजेट कटौतीले समयमा सम्पन्न नहुने भएको छ ।

मूल नहर र तटबन्धको सम्पूर्ण काम सम्पन्न हुन पाँच वर्ष लाग्ने भएको छ । जग्गा अधिग्रहण र मुआब्जाका विवादले पूर्वी मूल नहरले गति लिन ढिलासुस्ती भएको हो । विवाद समाधान भएपछि कामले तीव्रता पाएको आयोजनाले जनाएको छ । कोभिडका कारण देखाउँदै ठेकेदार कम्पनीको ढिलासुस्तीले निर्माणको काम सुस्त भएको हो । अहिले कामले गति लिएकाले समयभित्र पूर्वी नहर सम्पन्न हुने दाबी आयोजनाका निमित्त प्रमुख घोरासैनीले बताए । पश्चिम मूल नहर गुलरिया रत्नापुरसम्मको लम्बाइ ४३ किमी छ । आव ०८२/०८३ सम्म उक्त मूल नहर लगायत शाखा, प्रशाखा लगायत संरचना बनाइसक्ने लक्ष्य रहेको उनले जनाए ।

०५१ सालमा राष्ट्रिय अभियानका रुपमा पूर्वी क्षेत्रमा मूल नहर निर्माण सुरु भएको थियो । २०४५सालमा बबई सिँचाइको बाँधसहितको पुल पूर्वपश्चिम राजमार्गको परेवाओडारमा ६३ करोड ८५ लाख लागतमा निर्माण सम्पन्न भएको थियो ।

प्रकाशित : जेष्ठ १, २०८० १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?