कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

अमेरिकामा १० औं पटक बढ्यो ब्याजदर 

काठमाडौँ — अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले मुद्रास्फिति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । योसँगै अमेरिकी फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत विन्दु कायम गरेको सञ्चार माध्यम सीएनबीसीले उल्लेख गरेको छ । यसअघि यस्तो ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म थियो । 

अमेरिकामा १० औं पटक बढ्यो ब्याजदर 

अमेरिकाको यो ब्याजदर १६ वर्ष (सन् २००७ अगस्ट) यताकै उच्च हो । १६ वर्षअघिको सन्दर्भ ब्याजदर पनि यहीं विन्दुमा थियो । साथै बैंकले ब्याजदर वृद्धिको चक्र अन्तिम चरणमा रहेको पनि स्पष्ट पारेको छ । फेडरल ओपन मार्केट कमिटीले सन्दर्भ ब्याजदर बढाएसँगै अमेरिकामा अन्य सबै प्रकारका कर्जाको ब्याजदर स्वतः बढेको छ ।

फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोम पावेलले ब्याजदर घटाउनुपर्ने अवस्था तत्काल नरहने स्पष्ट पारेका छन् । उनले भनेका छन् ‘तत्कालै मुद्रास्फिति लक्षित सीमामा ल्याउन नसकिने हाम्रो धारणा छ, तसर्थ ब्याजदर तत्काल कटौती गर्न उपयुक्त हुने छैन ।’ यद्यपि ब्याजदर वृद्धिको चक्र पनि अन्तिम चरणमै रहेको उनको भनाइ छ । हाल ५ प्रतिशत हाराहारीमा रहेको मुद्रास्फिति (मूल्यवृद्धि) लाई केन्द्रीय बैंकले २ प्रतिशतको सीमामा झार्ने लक्ष्य लिएको छ । सन् २०२३ को अन्त्यसम्म ३.३ प्रतिशतसम्म झार्ने लक्ष्य छ ।

सुरुवाती चरणमा ब्याजदर वृद्धिले मूल्यवृद्धि नियन्त्रणमा जति प्रभावकारी सघाउ पुगेको थियो, पछिल्ला महिनाको ब्याजदर वृद्धिले पर्ने सकारात्मक प्रभाव घट्न थालेको बैंकले जनाएको छ । पावेलले घर परिवार तथा व्यवसायीलाई ब्याजदर वृद्धिले केही असर पारे पनि समग्र अर्थव्यवस्थाका लागि उपयुक्त कदम भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : वैशाख २१, २०८० १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×