२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वायुसेवा निगम खाने ‘खुम्लेकिरा’ त मन्त्री नै पो रहेछन् : मन्त्री किराती

काठमाडौँ — संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगम खाने खुम्ले किरा विगतका पर्यटनमन्त्रीहरू नै रहेको बताएका छन् । नयाँ आएपछि वायुसेवा निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको भन्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

वायुसेवा निगम खाने ‘खुम्लेकिरा’ त मन्त्री नै पो रहेछन् : मन्त्री किराती

नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकलाई बिहीबार सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । ‘म मन्त्री भएको सय दिन भयो । यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो । वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ । यति भन्दैमा फेरि निगमको कर्मचारीहरू चाहिँ चोखो छन् भन्ने होइन । नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन‚ करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यावसायिक कार्ययोजना होइन पैसा असुल्ने नै कार्ययोजना बनाउँछन् ।’

मन्त्री किरातीले निर्देशनात्मक रुपमा आफूलाई पैसा मन नपर्ने तर आफ्नो चासो भने सधैं कामसँग हुने बताए । ‘म वर्ग र जातपात हेर्दिनँ । खाली मेरो सम्बन्ध कामसँग हुनेछ । म व्यवहारमा नरम र नीतिमा कठोर मान्छे हो । अरु मन्त्रीलाई जस्तो मलाई पैसा होइन‚ एउटा चक्लेट पनि चाहिँदैन । किनभने मलाई मृत्यु थाहा छ- म मरेपछि जम्माजम्मी पशुपतिमा अलिकति धुवाँ बन्छु, त्योभन्दा ठूलो अरु केही हुँदैन‚’ उनले भने‚ ‘म मरेपछि पनि अजम्बरी हुन चाहन्छु‚ त्यसैले मसँग लोभ छैन । अब विगतमा जे भयो अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ । तपाईंहरूसँग मलाई विश्वास छ । अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ ।’

निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्नेसमेत मन्त्रीले बताएका छन् । मन्त्री हुनका लागि आफू नजन्मिएको भन्दै उनले पद जोखिममा राखेर भए पनि निगमलाई सुधारेर नै छाड्ने दाबी गरे । वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिँदै मन्त्री किरातीले भने‚ ‘अब तपाईंलाई यो काम गर्ने अवसर हो । म अब तपाईंलाई कारबही गर्छु तपाँईले क-कसलाई कारबही गर्ने हो‚ गर्नुस् । यदि काम गर्न सक्नुभएन भने सल्लाह गरेर नै छाडेर जानुस् । तर‚ अब तपाईंले काम गर्नुहुन्छ भन्नेमा मलाई आजबाट अलिकति आशा जागेको छ । आज तपाईंले जसरी मुखले प्रतिबद्धता गर्नुभयो सोहीअनुसार काम गर्नुहोला । बाहिर शक्तिको ढोका न चहार्नुहोला राम्रो काममा सधैं मेरो तपाईंप्रति सहयोग र संरक्षण रहनेछ ।’

मन्त्री किरातीले बोर्डका सदस्यहरू सुविधाका लागि होडबाजी गर्ने भन्नेबारे आफूले सुनेको बताउँदै भने‚ ‘निगमलाई सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने अनि सुविधाका लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो‚ होइन भने पैसा कमाउन व्यापार गरे हुन्छ । सुविधाका लागि झगडा गर्ने बोर्ड सदस्यहरूलाई अब बाँकी राखिन्न ।’

मन्त्री किरातीले भने आफू यो युगको परीक्षामा रहेको बताउँदै भने‚ ‘म परीक्षामा छु । यो परीक्षामा पास गराउने जिम्मा तपाईंहरूको हो । अब वायुसेवा निगमलाई पुरानो अवस्थामा ल्याउनुपर्छ । घडी हेरेर प्लेन हेर्ने होइन‚ निगमको जहाज हेरेर मानिसहरू आफ्नो घडी मिलाऊन् ।’

प्रकाशित : वैशाख १४, २०८० १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?