कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

सूचनाबिनै औद्योगिक क्षेत्रमा चुलियो विद्युत् कटौती समस्या

तालिकाबिना बिजुली कटौती भएपछि समस्या समाधानका लागि तराई क्षेत्रमा विद्युत् कार्यालय घेराउसम्मका कार्यक्रम
कमल धिताल

काठमाडौँ — सुक्खायाम लम्बिएसँगै यस वर्ष विद्युत् उत्पादन, आयात र आपूर्तिमा असन्तुलन देखिएको छ, फलस्वरूप औद्योगिक क्षेत्र समस्यामा परेका छन् । वीरगन्ज, भैरहवा, सुनसरी, चितवन, हेटौंडालगायत क्षेत्रका उद्योग विद्युत् कटौतीको समस्यामा छन् । नदी प्रवाही आयोजना र भारतीय बिजुलीको भरमा रहेको हिँउदको विद्युत् प्रणालीमा उत्पादन, आयात र मागको समस्या देखिएपछि उद्योगमा बिजुली अनियमित हुन थालेको हो ।

सूचनाबिनै औद्योगिक क्षेत्रमा चुलियो विद्युत् कटौती समस्या

औद्योगिक क्षेत्रले यति बेला प्रतिदिन ८ देखि १२ घण्टासम्म बिजुली कटौतीको समस्या भोगिरहेको उद्योगी बताउँछन् । नेपाल विद्युत् प्राधिकरणले बिनातालिका बिजुली कटौती गर्न थालेपछि उद्योग धराशायी अवस्थामा पुगेको उद्योगीहरूको भनाइ छ । प्राधिकरणले जानकारी नदिई बिजुली कटौती गरेको भन्दै तराईका उद्योगीले समस्या समाधानका लागि भन्दै विद्युत् कार्यालय घेराउसम्मका कार्यक्रम सुरु गरेका छन् ।

तालिकाबिना बिजुली कटौती गरेको भन्दै मोरङ व्यापार संघले आइतबार प्राधिकरणको सुनसरी दुहबी शाखा घेराउको कार्यक्रम राखेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरमा बारम्बार लाइन कटौती भएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । ‘प्रत्येक वर्ष सिजनका बेला हाम्रा उद्योगमा बिनाजानकारी पटकपटक गरी दिनकै १० देखि १२ घण्टासम्म बिजुली जान्छ । प्राधिकरणमा जाँदा माथि भन्नुहोस् भन्ने जवाफ आउँछ,’ उनले भने, ‘प्राधिकरणको नेतृत्वमा कुरा गर्दा केही दिनमा समस्या समाधान हुन्छ भन्ने आश्वासन आउँछ ।’ तर प्राधिकरण समस्यामा गम्भीर नभएपछि आफूहरू शान्तिपूर्ण आन्दोलन गर्न बाध्य भएको रिजालको भनाइ छ । अनियमित, अपर्याप्त एवं अनिर्धारित विद्युत् आपूर्तिबाट सिर्जित समस्याका कारण उद्योगी, व्यवसायीलगायत वर्ग समस्यामा रहेको र उद्योगहरू धराशायी अवस्थामा पुगेको उनले बताए ।

प्राधिकरणले तालिका दिन पनि नमानेका कारण समस्या भएको रिजालको भनाइ छ । ‘हामीलाई कति दिन बत्ती आउँदैन, त्यसको तालिका दिए पनि मजदुरहरूलाई छुट्टी दिन हुन्थ्यो,’ उनले भने, ‘कुन बेला बत्ती आउँछ र उद्योग सञ्चालन गरौंला भनेर बस्नुपर्ने अवस्था छ ।’ बत्ती अनियमित हुँदा यसले उत्पादन घट्नुका साथै लागत उच्च हुन गएको उनले जनाए ।

विद्युत् अनियमितताले उद्योगी निकै समस्यामा परेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् । प्राधिकरणले केही ठूला उद्योगीलाई नियमित बिजुली दिएको छ । तर साना उद्योगमा भने कटौती गरेको हुँदा व्यवसायबाट नै पलायन हुनेसम्मको अवस्था आएको उनको भनाइ छ । ‘पानी नपरेर प्राधिकरणलाई पनि समस्या भएको होला, तर हामीलाई कुन बेला बत्ती जान्छ र कुन बेला आउँछ मात्रै भन्दिए पनि त्यहीअनुसार उद्योग चलाउन हुन्थ्यो,’ शर्माले भने, ‘एक त बिजुलीको समस्या, त्यसमाथि बैंकको ब्याजदर, उद्योगी अब पलायन हुन मात्र बाँकी छ ।’

उद्योगमा विद्युत् कटौतीका साथै ट्रिपिङको समस्याले पनि निकै दुःख दिएको अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवाल बताउँछन् । ‘कटौती समस्या भइहाल्यो, उद्योग सञ्चालन गरेपछि हुने ट्रिपिङले पनि निकै समस्या पारेको छ,’ उनले भने, ‘ठूला उद्योगमा एकै पटक ५/६ सय वटा मोटर चलेका हुन्छन् । ट्रिपिङले समस्या झन् जटिल बनाइदिन्छ ।’ ठूला मेसिनमा बिजुली जाँदै–आउँदै गर्नाले पनि चाँडो बिग्रने गरेको उनको भनाइ छ ।

मुख्य माग हुने बेला नै उद्योगले बिजुली कटौतीका समस्या बेहोरिरहेको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल बताउँछन् । ‘गर्मीयाममा ८० प्रतिशतसम्म माग बढ्ने बेला विद्युत् कटौती हुन्छ,’ उनले भने, ‘कुलमान घिसिङजी लोडसेडिङ शब्द सुन्न मन पराउनुहुन्न । अब उहाँका लागि लोडसेडिङको अर्को शब्द खोज्नुपर्ने भयो ।’ प्राधिकरणले उद्योगीहरूका समस्या राम्रोसँग नसुनेको प्याकुरेलको आरोप छ । ‘पहिलो कुलमानजीले उद्योगका समस्याबारे चासो लिनुहुन्थ्यो अब त उद्योगीहरू नचाहिने जस्तो गर्नुहुन्छ,’ उनले भने ।

मकवानपुर क्षेत्रका उद्योग पनि विद्युत् कटौतीको मारमा परेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल बताउँछन् । हेटौंडालगायतका क्षेत्रमा रहेका उद्योगमा पनि विद्युत् कटौतीले समस्या पारेको उनको भनाइ छ । वाग्मतीमा भने अन्य प्रदेशको जस्तो १२ घण्टासम्मा कटौतीको समस्या नरहेको अग्रवालको भनाइ छ ।

यता प्राधिकरण पनि अघिल्ला वर्षको तुलनामा यस पटक सुक्खायामका कारण विद्युत् वितरण प्रणालीमा समस्या आएको स्विकार्छ । गत वर्षको तुलनामा यस वर्ष हिउँदमा पानी र हिउँ नपरेका कारण पनि यस्तो अवस्था सिर्जना भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । पूर्वी क्षेत्रको विद्युत् आपूर्तिमा समस्या आएका कारण पनि उक्त क्षेत्रका उद्योगीलाई बिहान र बेलुका बिजुली काट्ने जानकारी दिने गरेको उनको दाबी छ ।

‘ढल्केबरबाट आयात गरेर पूर्व पठाउन सकिँदैन । पूर्वमा २ सय मेगावाट जति जान्छ । यसले गर्दा उच्च माग हुने समयमा बिजुली कटौती भएको हो,’ घिसिङले भने, ‘गत वर्षको तुलनामा यस वर्ष उत्पादन पनि ३० प्रतिशतले घटेको छ । त्यसकारण केही समस्या भएको हो । १०/१५ दिनमा यस्तो समस्या समाधान हुन्छ ।’ १३२ केभीको लाइनबाट २ सय मेगावाटभन्दा बढी प्रसारण गर्न नसकिने भएका कारण पनि पूर्वी क्षेत्रमा समस्या रहेको घिसिङको भनाइ छ । उक्त क्षेत्रमा लाइन चुँडिएका कारण पनि समस्या भएको उनको दाबी छ ।

भारतमा पनि हाल उच्च माग भएपछि बढी माग हुने बेला नेपालतर्फको निर्यात बन्द गरेका कारण पनि समस्या परेको घिसिङको भनाइ छ । ‘भारतमा पनि अत्यधिक गर्मी छ । त्यहाँ बिजुलीको माग उच्च छ । त्यसैले उसले लाइन सबै काटिदिएको छ,’ उनले भने, ‘हाल आयात जति सबै ढल्केबरबाट मात्र भएको हुँदा पनि प्रसारण लाइनको समस्याले यस्तो अवस्था आएको हो ।’

प्रकाशित : वैशाख १०, २०८० ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×