बिजुली प्रसारण गर्न चाहिने संरचना प्रसारण लाइनमा चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा १८७१.१६ किमि बढोत्तरी भएको छ । गत असार अन्त्यसम्म २७०५.४४ किमि रहेको प्रसारण लाइन गत फागुनसम्म ४५७६.६ किमि पुगेको छ । यो चार्ज भई सञ्चालनमा रहेको प्रसारण लाइन हो । केही महिनामा थप ६७५ किमि चार्ज भई सञ्चालन हुने अन्तिम तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपालमा निर्माणाधीन पूवार्धार आयोजनाहरूमा विस्फोटक पदार्थको अभाव भएको छ । ठूला पूर्वाधार आयोजनामा अत्यावश्यक पर्ने विस्फोटक पदार्थ उपलब्ध नहुँदा निर्माणाधीन आयोजना समस्यामा परेका छन् ।
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षभित्र बिजुली उत्पादन सुरु गर्ने तयारी गरेको छ । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको आयोजना निर्माण ०७० माघबाट सुरु गरिएको हो । ०७६ सालमै निर्माण सक्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दीलगायत समस्याले निर्माणमा अवरोध भएपछि समय थपिएको आयोजना प्रमुख नरनाथ न्यौपानेले जनाए ।
संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा उत्पादनतर्फ उलेख्य प्रगति भए पनि प्रसारण लाइनको प्रगति भने सुस्ताएको छ । बिजुली उत्पादनको कार्यप्रगति ६५ प्रतिशत हाराहारीमा सकिए पनि प्रसारण लाइन निर्माणको काम भने करिब १५ प्रतिशत मात्रै सकिएको छ । प्रसारण लाइनको काममा मुआब्जालगायतको विवादले पनि ढिलाइ भएको हो ।
भारतमा बिजुली पठाउन महत्त्वपूर्ण मानिएको हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माण नसकिए आउँदो बर्खामा ५ सय मेगावाट बिजुली खेर जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको उक्त प्रसारण लाइन सन् २०१३ मा करिब ११ अर्ब रुपैयाँ लागतमा ३ वर्षभित्र सक्ने लक्ष्य लिइएको थियो ।
नेपालको जलविद्युत् विकासमा सात मन्त्रालय र २२ विभाग धाउनुपर्ने भन्दै निजी क्षेत्रले पटक–पटक एकद्वार प्रणालीका लागि सरकारसँग आग्रह गर्दै आएको छ । निजी क्षेत्रको दुःख एक ठाउँमा होला । तर मन्त्रालय र सरकारी स्वामित्वको संस्थानसँग समेत समन्वय नहुँदा विकासमा बाधा देखिएको छ ।
निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो नदी प्रवाही (आरओआर) जलविद्युत् परियोजना सोलु खोला दूधकोशीले व्यावसायिक उत्पादन थालेको छ । १५ दिन परीक्षण उत्पादनपछि ८६ मेगावाटको आयोजनाले व्यावसायिक उत्पादन थालेको हो । मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना उद्घाटन गरे ।
नेपाल–भारत क्रसबोर्डर प्रसारण लाइनअन्तर्गत नेपालतर्फको काम सकिए पनि भारतले समयमै काम नगरिदिँदा बिजुली आयात–निर्यातमा समस्या भएको छ । नेपाली भूभागतर्फ सबै काम अर्थात् प्रसारण लाइन निर्माण भइसकेर पनि सबस्टेसनसम्म बनिसकेको छ । भारततर्फ भने कताकतै टावर गाड्ने काम भए पनि अरू थप प्रगति नभएको बताइएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले कर्णाली करिडोर ४ सय केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कल्पतरु इन्डिया पावर ट्रान्समिसन लिमिटेडसँग सम्झौता गरेको छ । प्रसारण लाइनको लगानीका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि कम्पनीले भारतीय कम्पनीसँग सम्झौता गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा गत साउनदेखि फागुनसम्म ३५१ मेगावाट विद्युत् थप भएको छ । प्रसारण लाइनमा जोडिएका १५ जलविद्युत् आयोजनाको २३१.०७ मेगावाट व्यावसायिक उत्पादन र कारोबारसमेत सुरु भइसकेको छ ।