कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९

सुनकोसी–मरिन डाइभर्सनमा रकम अभाव

सरकारले समयमै रकम निकासा नगरिदिँदा निर्माण व्यवसायीले काम रोक्ने गर्छन्
राजकुमार कार्की

मरिन, सिन्धुली — बिल पेस भएको डेढ महिना हुन लाग्दासमेत समयमा रकम निकासा नहुँदा सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम प्रभावित हुने भएको छ । सरकारले समयमै रकम निकासा नगरिदिँदा निर्माण व्यवसायीले काम रोक्ने गरेको पाइएको छ ।

सुनकोसी–मरिन डाइभर्सनमा रकम अभाव

पछिल्लो पटक सुरुङ निर्माण गर्ने चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) लाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था सिर्जना हुन लागेको छ । सुरुङ निर्माण कम्पनी कोभेकले ७० करोडको बिल आयोजनामा पेस गरेको एक महिना १० दिन भएको छ । आयोजना कार्यालयका अनुसार ४८ दिन कटे प्रतिमहिना बिल रकमको ५ प्रतिशत ब्याज दिनुपर्छ, जुन रकम नेपाल सरकारले नै बेहोर्नुपर्छ । यस्तो रकम प्रतिमहिना तीन करोड ३० लाख हुन्छ ।

समयमै बिल भुक्तानी नहुँदा काम प्रभावित हुने त छँदै छ, करोडौं रकम ठेकेदार कम्पनीलाई पेनाल्टी भर्नुपर्ने हुन्छ । काम नहुँदा सुस्त गति भन्ने अनि काम द्रुत गतिमा हुँदा भुक्तानी समस्या देखिएकाले चुनौती बढेको आयोजनाले जनाएको छ । यसअघि समयमा रकम दिन नसक्दा कोभेकले दुई दिन काम रोकेको थियो । सरकारले थप रकम एक अर्ब निकासा गरिदिएपछि काम पुनः सुरु भएको हो ।

मजदुरको पारिश्रमिक, निर्माण सामग्रीको भुक्तानीलगायत काम देखाएर निर्माण व्यवसायीले आयोजनामा बिल पेस गरेपछि भुक्तानी दिनुपर्छ । आयोजनामा बिल आएपछि प्राविधिक जाँच गरेर सिँचाइ विभाग हुँदै अर्थ मन्त्रालयमा पेस हुने र त्यहाँबाट अर्थ मन्त्रालयमा जाने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । अर्थले निकासा दिएपछि आयोजनाले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्छ ।

यस वर्ष सरकारले आयोजनाका लागि छुट्याएको दुई अर्ब ७१ करोडले नपुगेर एक अर्ब थप रकम अर्थ मन्त्रालयबाट निकासा भई भुक्तानी भएको छ । कामको रफ्तार बढेकाले चार अर्ब ५९ करोड ९८ लाख २६ हजार रुपैंयाँ यस आर्थिक वर्षका लागि खर्च हुने भएकाले थप रकम निकासाका लागि अर्थ मन्त्रालयसँग आयोजनाले माग गरेको छ । ४६ अर्ब १९ करोड लागतको आयोजना भएकाले कामका आधारमा रकम बर्सेनि बढ्दै जाने आयोजना प्रमुख बरालको भनाइ छ । आयोजनाले हालसम्म ६ अर्ब ८२ करोड ८२ हजार रकम खर्चिएको छ ।

१५ अर्ब ५९ करोड ४० लाख लागतको सुरुङ खन्ने कामलाई कोभेकले १० अर्ब ५ करोडमा ठेक्का सकारेको थियो । हालसम्म ३६ प्रतिशत सुरुङको काम सकिएको छ । पैसा भुक्तानी हुन्छ, काममा ढिलासुस्ती नगरौं भनेर थामथुम पार्दै निर्माण व्यवसाायीलाई काम लगाउने गरेको बरालले जनाए । देश नै संकटमा रहेका बेलामा रकम भुक्तानीमा केही ढिलो हुनुलाई अन्यथा लिनु नुहने उनको तर्क छ ।

आगामी आर्थिक वर्षबाट सुनकोसीमा बाँध बाँध्ने ड्यामको कामका लागि निर्माणस्थलमा क्याम्प निर्माण सुरु भएको छ । यो कामसमेत रफ्तारमा जाँदा बजेट अझ बढ्ने आयोजनाले जनाएको छ । सुनकोसीमा बाँध बाँधेर ड्याम बनाउने, पावर हाउस निर्माण, बीपी सडक माथि सार्ने, सरसाफ्ट निर्माणलगायत कामका लागि ठेक्का पाएको पटेल–रमण जेभीले क्याम्प निर्माणको काम रामेछापको हात्तीटारमा सुरु गरेको छ । १७ अर्ब ७५ करोड लागतको काम निर्माण कम्पनीले ३२ दशमलव ३२ प्रतिशत घटेर १२ अर्ब १ करोडमा सकारेको छ । अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरिएकाले ठेक्का लगाउने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणमा अघिल्लो आर्थिक वर्षसम्म ९ प्रतिशत भौतिक प्रगति रहेकामा १० महिनामा ४ दशमलव ५ प्रतिशत बढेर १३ दशमलव ८३ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षको भौतिक प्रगति ८० प्रतिशत हुने लक्ष्य राखिएकामा बढेको आयोजनाको दाबी छ । सुनकोसी नदीमा १६ मिटर उचाईको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ घनमिटर पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको उद्देश्य हो ।


प्रकाशित : वैशाख ९, २०८० २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×