कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

तुलसी सहकारी ठगी प्रकरण : क्षेत्रीय प्रबन्धक र दुई सञ्चालकलाई थुनामा राख्ने आदेश

विनोद भण्डारी

विराटनगर — बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालत मोरङले विराटनगरमा मुख्यालय रहेको तुलसी बहुउद्देश्य सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक र दुई सञ्चालकलाई शुक्रबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश प्रकाश कोइरालाको इजालसले क्षेत्रीय प्रबन्धक मन्दिप खवाससहित सञ्चालक समितिका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई थुनामा राख्ने आदेश दिएको हो । उनीहरु प्रहरी नियन्त्रणमा थिए ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जनाविरुद्ध सरकारी वकिल कार्यालयले ६७ करोड ८६ लाख २१ हजार बिगो दाबी माग गर्दै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो । अध्यक्ष शर्मासहित बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा फरार छन् ।

सहकारीका संचालकहरुले ३ हजार ६३ जना सर्वसाधरणको जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

संस्थाका अध्यक्ष शर्माले आफ्ना विभिन्न ३३ निजी कम्पनीमा बचतकर्ताको अर्बभन्दा बढी रकम लगानी गर्दा बचतकर्ताको रकम डुबेको प्रहरीको अनुसन्धानले ठहर गरेको छ । त्यसैगरी अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको प्रहरीको अभियोगपत्रमा उल्लेख छ ।

मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीको झापाको दमक, उदयपुरको गाइघाट र सिरहाको गोलबजारमा शाखा कार्याललय छन् । डेढ महिनादेखि ती सबै शाखा पनि बन्द छन् । ती सबैमा गरेर १ अर्ब ४८ करोड ५५ लाखभन्दा बढी सर्वसाधारणको बचत रहेको र उक्त रकम सञ्चालक समिति र कर्मचारीले हिनामिना गरेको प्रहरीको अनुसन्धान छ । संस्थाका २१ हजार ७ सय १३ जना सदस्य छन् ।

विराटनगरका मात्र १ हजार २ सय ९७ जना बचतकर्ताले ५० करोड ६३ लाखभन्दा बढी आफ्नो बचत हिनामिना गरेको मोरङ प्रहरीमा उजुरी गरेपछि प्रहरीले संस्थाका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, लेखापरीक्षक शितल चन्द, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा रहस्य खुलेको हो ।

अध्यक्ष शर्माले बचतकर्ताको रकम विराटनगर-१९ स्थित तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरादहमा भएको चिउरा र चामल मिलमा ३४ करोड, झापाको दमक बजारमा रहेको गार्डेन मार्ट, उदयपुर जिल्लाको गाईघाटमा रहेको गार्डेन मार्ट र मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा गरी जम्मा २५ करोड र सिराहाको गोलबजारमा मार्ट खोल्न तयारीका लागि १ करोड लगानी गरेका प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अभियोगपत्रमा उल्लेख छ ।

यस्तै शिव शिखर अर्गनाइजेसन प्रालिमा ८ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । नटराज एग्रो प्रा.लि, नटराज इन्टरप्राइजेज प्रा.लि.लाई बिनाधितो पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरी बचतकर्ताको रकम हिनामिना गरेको प्रहरीको अनुसन्धानले ठहर गरेको छ ।


प्रकाशित : चैत्र २४, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×