कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

बन्दीपुरमा बाह्य पर्यटक बढ्न थाले

सम्झना रसाइली

तनहुँ — पर्यटकीय नगरी बन्दीपुरमा बाह्य पर्यटकको आगमन बढ्न थलेको छ । कोरोनाका कारण सुस्ताएको पर्यटकीय गतिविधि पछिल्लो समय लयमा फर्कन थालेको छ । केही महिना यता आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढ्न थालेपछि व्यवसायीलाई राहत मिलेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।

बन्दीपुरमा बाह्य पर्यटक बढ्न थाले

‘बन्दीपुरको पर्यटन व्यवसाय धरासयी बन्दै गएको थियो’, उनले भने, ‘पहिलाको जस्तै पर्यटकहरुको आगमन नभए पनि अहिले दैनिकजसो करिव २ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका कारण केही राहत मिलेको छ ।’ उनका अनुसार अहिले बन्दीपुरमा बाह्य पर्यटकहरु प्याकेजमा दैनिक १५/२० जना र घुमन्तेका रुपमा ५/१० जनाको संख्यामा आउने गरेका छन् । आन्तरिक पर्यटकको संख्या पनि उल्लेख्य रहेको उनले बताए । सर्वजानिक बिदा र शनिबारको दिनमा आन्तरिक पर्यटकको आगमन बढ्ने भएपनि बस्ने गरी पर्यटकहरु आउन नसकेको बन्दीपुरका होटल व्यवसायीहरु बताउँछन् । ‘दिउँसोको समयमा बन्दीपुरमा पर्यटकहरुको चहलपहल देखिए पनि होटल तथा लजहरु खाली नै रहने गरेका छन्’, होटल व्यवसायी बिपिन प्रधानले भने, ‘पहिले पर्यटक धेरै आउँथे, व्यवस्थापनमा पनि समस्या हुने गर्दथ्यो, तर अहिले त्यस्तो अवस्था छैन । सामान्य रुपमा पर्यटकीय गतिविधि अगाडि बढेको छ ।’

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मन, मलेसिया, थाइल्याण्ड लगायतका मुलुकबाट पर्यटक आउने गर्दछन् । बाह्य पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर तथा यहाँको प्राकृतिक सुन्दरताले आकर्षित हुने गर्दछन् । परम्परागत शैलीका घर, यहाँको रहनसहनले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन वडा नम्बर २ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्म मिनी ग्रेटवालका रुपमा मुकुन्देश्वारी पर्खाल निर्माण कार्य अगाडि बढाएको अध्यक्ष सुरेन्द्र थापाले बताए ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन तथा पर्यटकको बसाई लम्ब्याउनका लागि आकर्षक पुर्वधारहरु निर्माण कार्य थालनी गरेको छ । गाउँपालिकाले बन्दीपुरको प्रचारप्रसारका लागि र बन्दीपुरका विषयमा जानकारी लिन सहज बनाउन विभिन्न १० भाषामा क्युआर कोर्ड मार्फत प्रचारप्रचार सामाग्री तयार गरेको थापाले बताए । बन्दीपुरमा थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजनालाई अगाडि बढाइएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट करिव ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि उकृष्ट गन्तव्यका रुपमा बन्दीपुर परिचित छ ।


प्रकाशित : चैत्र १९, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?