३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मुद्दती खातामा पैसा बढ्यो, बचतमा घट्यो

काठमाडौँ — वाणिज्य बैंकहरुमा खोलिएका मुद्दती खातामा रकम बढेको छ भने बचतमा घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ मसान्तसम्म विभिन्न मुद्दती खातामा कुल २७ खर्ब ५९ अर्ब रुपैयाँ जम्मा भएको छ । यो रकम कुल निक्षेपको ५८ प्रतिशत हो ।

मुद्दती खातामा पैसा बढ्यो, बचतमा घट्यो

गत वर्षको माघसम्म मुद्दतीमा जम्मा भएको रकम कुल निक्षेपको ५२.७५ प्रतिशत मात्रै थियो । रकमसागै मुद्दती निक्षेपको हिस्सा बढ्दै गएको बैंकर्स संघको तथ्यांक छ । बचत खातामा भएको रकम भने घट्दै गएको छ । गत वर्षको माघ मसान्तसम्म कुल १३ खर्ब ९ अर्ब रुपैयाँ बचत खातामा संकलन भएकोमा यो माघ मसान्तसम्म १२ खर्ब ३९ अर्बमा झरेको छ । कुल निक्षेपमध्ये बचत खाताको रकम हिस्सा २६.१४ प्रतिशत हो । गत वर्षको माघमा बचत खातामा भएको रकमको हिस्सा ३०.३८ प्रतिशत थियो ।

बचतसँगै चल्ती र कल खाताको हिस्सा पनि घटेको छ । गत माघ मसान्तसम्म चल्ती खातामा भएको रकमको हिस्सा कुल निक्षेपको ९.२५ प्रतिशत थियो भने अहिले ८.८५ प्रतिशतमा झरेको छ । त्यस्तै कल खाताको ६.४७ प्रतिशतबाट ५.६६ प्रतिशतमा झरेको छ । बचतको तुलनामा मुद्दती निक्षेपमा पाइने ब्याजदर उच्च भएकाले मुद्दतीप्रति निक्षेपकर्ताको आकर्षण देखिएको छ । साधारणतया मुद्दतीको ब्याजदर बचतकोभन्दा ५ प्रतिशत विन्दुले बढी हुने गरेको छ । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खातामा वार्षिक ११ प्रतिशत ब्याज दिन्छन् तर बचतमा ६ देखि ७ प्रतिशतसम्म दिने गरेका छन् ।


प्रकाशित : चैत्र १७, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?