सरकारले सहकारी समस्या समाधान गर्न उच्चस्तरीय समिति बनाउँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — सहकारी संस्थाहरुमा देखिएको समस्या तथा विकृति समाधान गर्न उच्चस्तरीय समिति बनाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा संसदमा यस्तो जानकारी गराएका हुन् । नगद अभावका कारण कतिपय सहकारीले हाल बचतकर्तालाई रकम फिर्ता दिन सकेका छैनन् । 

दाहालले लघुवित्त क्षेत्रमा नियामकीय सुधारका लागि नेपाल राष्ट्र बैंकले चाल्ने आवश्यक कदममा सरकारले सहयोग गर्ने पनि बताए । मुलुकमा तरलताको स्थितिसँगै ब्याजदरमा क्रमिक रुपमा सुधार भइरहेको दाहालको दाबी छ । ‘गत आर्थिक वर्षमा झण्डै ३ खर्ब बराबरको शोधनान्तर घाटा र पुँजीगत खर्चमा न्यूनताले वित्तीय प्रणालीमा तरलता अभाव, उच्च ब्याजदर र कर्जा अभावजस्ता समस्या जन्माए’ दाहालले भने ‘अब शोधनान्तर सकारात्मक भएसँगै तरलता र ब्याजदरमा पनि क्रमिक सुधार हुँदैछ ।’

अहिले विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगमनजस्ता क्षेत्रमा सुधार भइरहेकाले वाहृय क्षेत्र सन्तुलनमा आएको उनले बताए । काम सम्पन्न भएर पनि निर्माण व्यवसायीले समयमै भुक्तानी नपाउने विषयलाई सरकारले गम्भीर रुपमा लिएको दाहालले बताए । सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकताप्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिनेगरी बजेटको काम सुरु भइसकेको उनको भनाइ छ । ‘खर्च नियन्त्रणका लागि अत्यावश्यकबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको छ’ उनले भने ।


प्रकाशित : चैत्र ६, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्

वैशाख १५ भित्रै फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआओस् : लिङदेन

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले बिनाकारण बाटो फेरेपछि समर्थन फिर्ता लिएको बताएका छन् । प्रधानमन्त्रीको विश्वासको मतमाथिको प्रस्तावमा भएको छलफलमा भाग लिँदै उनले नयाँ यात्राका लागि शुभकामना दिए ।

'प्रधानमन्त्रीलाई अर्को यात्राका लागि शुभकामना छ । तपाईँले बिनाकारण बाटो फेर्नुभयो । जुहारी चलाउने मन छैन । भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । २ महिनामा २ पटक विश्वासको मत लिनु भएको छ । वैशाख १५ भित्र फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआओस्,' उनले भने ।

उनले सरकारमा सबैलाई सहभागी गराउने र पदको भागबण्डा गर्ने अहिलेको व्यवस्था नभएको पनि बताएका थिए ।

यस क्रममा लिङदेनले प्रधानमन्त्री दाहालले बाटो फेरेको र धोका दिएको आरोप लगाएका थिए । साथै नैतिकता बिर्सेको उनको भनाइ थियो । 'हामीले होइन तपाइँले बाटो फेर्नुभयो । नैतिकता भन्ने चिज पनि हुन्छ । यो इतिहासमा छलफल र मूल्यांकन हुनेछ,' लिङदेनले भने, 'हिजो अस्ति मात्रै फरकमत राखेर हिँडेको त्यसैले विश्वासको मत दिन सकिँदैन ।'

प्रकाशित : चैत्र ६, २०७९ १५:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×