सात महिनामा ८४ अर्बको डिजेल र ३८ अर्बको पेट्रोल आयात 

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षकाे पहिलाे सात महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेल आयात गरिएकाे छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा यस वर्षकाे साेही अवधिमा १५.९७ प्रतिशतले डिजेल आयात बढेको हो ।

गत आर्थिक वर्ष साउनदेखि माघसम्म मुलुकमा ७२ अर्ब ९६ कराेड १९ लाख रुपैयाँ बराबरको ९ लाख ६८ हजार ५५७ किलाेलिटर डिजेल आयात गरिएकाे थियाे । डिजेलसँगै चालु आर्थिक वर्षकाे सात महिनामा पेट्रोल समेत १५‍.३९ प्रतिशतले बढी आयात भएकाे विभागकाे तथ्यांक छ । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकमा ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको पेट्रोल आयात गरिएकाे छ । गत आर्थिक वर्ष ३३ अर्ब ५६ कराेड ५५ लाख रुपैयाँ बराबरकाे पेट्रोल आयात गरिएको थियो । रकमका आधारमा पेट्रोलको आयात बढेको देखिए पनि परिमाणका आधारमा भने घटेको छ । साउनदेखि माघसम्म ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत वर्षको यसै अवधिमा ४ लाख २१ हजार १७२ किलाेलिटर पेट्रोल आयात गरिएकाे थियाे । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण रकम र परमाणमा यस्तो अन्तर देखिएको हो ।


प्रकाशित : चैत्र ६, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्

एमालेबिनाको राष्ट्रिय सहमतिले देशलाई द्वन्द्वमा लैजान्छ : उपाध्यक्ष पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सहयात्री दललाई सरकारबाट घोक्र्याएर निकालिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिका लागि दिएको अभिव्यक्तिमा तालमेल नभएको बताएका छन् ।

दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहिसकेका पौडेलले प्रधानमन्त्रीको व्यवहार र अभिव्यक्तिबीच मेल नखाने बताएका थिए ।

'प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठूलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ?' पौडेलले भने, 'एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको छ । जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति चाहेको होइन ।'

विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय सहमतिको विषय उठाउँदा एमाले र राप्रपा सरकारबाट बाहिरएको र समर्थन फिर्ता लिएको विषयमा नेतृत्वले जवाफ दिनुपर्ने धारणा राखेका थिए ।

सोमबार संघीय संसद्‍मा पौडेलले एमालेलाई किराना लगाउने, कर्नर पार्ने, एक्ल्याउने र प्रहार केन्द्रित गर्ने काम भएको बताएका थिए । 'प्रधानमन्त्री बन्नका लागि एमालेको समर्थन लिने र प्रधानमन्त्री भएको भोलिपल्टदेखि एमालेसँग कटुता र शत्रुताको प्रयास गर्ने जुन प्रकारको कोसिस भयो, प्रधानमन्त्रीबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेका छन्,' पौडेलले भने ।

उनले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सहमति एमाले बाहेक सम्भव छ कि छैन भन्दै प्रश्न गरेका थिए । 'एमाले बाहेकको राष्ट्रिय सहमति खोजिएको हो भने त्यो देशलाई द्वन्द्वतर्फ लैजाने कोसिस हो भन्ने बुझ्नुपर्छ' पौडेलले भने, 'यस प्रकारको गलत परिभाषा हुनु हुँदैन ।'

प्रकाशित : चैत्र ६, २०७९ १४:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×