रारामा बढ्यो पर्यटकीय चहलपहल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रारामा बढ्यो पर्यटकीय चहलपहल

रारामा हवाईमार्गबाट प्रतिदिन ३० जनासम्म पर्यटक, सडकमार्गबाट आउने त्यसभन्दा बढी
राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा पर्यटकीय चहलपहल सुरु भएको छ । हिउँद सकिएसँगै रारामा आन्तरिक तथा बाह्य चहलपहल बढ्न थालेको हो । अहिले रारामा हवाईमार्गबाट प्रतिदिन ३० जनासम्म पर्यटक आइरहेका छन् । सडकमार्गबाट आउनेको संख्या पनि बढिरहेको छ । एक साताअघि ११ जना इटालीयन नागरिकको टोली रारा भ्रमणमा आएको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए ।

रारा घुम्न आएका विदेशी पर्यटक । तस्बिर : राजबहादुर/कान्तिपुर

पैदलमार्गबाट पनि दैनिक ५० जनासम्म पर्यटक पोखरा, काठमाडौं, नेपालगन्ज, विराटनगर, चितवनलगायत ठाउँबाट आइरहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । यस पटक एक सय विदेशी पर्यटकले एक महिनाभित्र रारा आउने गरी होटल बुक गराएको श्रेष्ठले जनाए ।

झन्डै ७ महिनापछि पर्यटकले कोठा बुक गर्न थालेको माझघट्ट होमस्टेका सञ्चालक रत्नसिंह रोकायाले बताए । ‘पर्यटक बढेपछि खानपिन, सरसफाइ र अन्य व्यवस्थापनको तयारी थालिएको छ,’ उनले भने । पर्यटक बढ्न थालेपछि होटल व्यवसायी, डुंगा सञ्चालक र घोडा व्यवसायी उत्साही बनेको उनको भनाइ छ । लामो समय कामविहीन बनेका घोडाले बल्ल काम पाउन थालेको व्यवसायी गोर्ख रोकायाले जनाए । हिजोआज उनले औसतमा १५ जना पर्यटकलाई आसपासका गाउँ घुमाइरहेका छन् ।


पर्यटकका लागि यसै वर्ष मुर्माटपमा इको रिसोर्टसमेत निर्माण गरिएको छ । इको रिसोर्ट निर्माण भएपछि पर्यटक मुर्माटप पुगेर आसपासका हिमाल र बस्तीको दृश्यावलोकन गर्ने गरेका छन् । पर्यटकलाई हिमशृंखलाको अवलोकन गराउन सुविधायुक्त रिसोर्ट बनाइएको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले जनाए । अब रारामा काफल र विभिन्न फूल फुल्ने, गुच्चीच्याउ उम्रिने मौसम सुरु भएको उनको भनाइ छ ।


जाडो मौसममा तालको गहिरो भागमा लुकेर बस्ने असला माछा माथि आउन थालेपछि पर्यटकले ‘फिसिङ’ को सुविधा पनि पाउनेछन् । फागुनदेखि जेठसम्म हवाई र सडकमार्गबाट सक्दो पर्यटक भित्र्याउन विभिन्न ट्राभल एजेन्सी, उद्योग वाणिज्य संघ र स्थानीय तहहरूसँग समन्वय भइरहेको उनको भनाइ छ । रारा घुमफिरको मौसम सुरु भएसँगै नेपालगन्ज विमानस्थलबाट सीता, तारा, समिट र नेपाल एयरलाइन्सले नियमित उडान भरिरहेका छन् ।

पदमार्ग ओझेलमा

बजेट अभावमा खप्तड–रारा–डोल्फु–शे–फोक्सुन्डो हिमाली पर्यटकीय पदमार्ग ओझेलमा परेको छ । पदमार्गको रेखांकन भए बाटो निर्माण नहुँदा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्न सकेको छैन । सरकारले सुदूरपश्चिमको पर्यटकीय स्थल खप्तडदेखि रारा हुँदै डोल्फु लेकबाट शे–फोक्सुन्डो जोड्ने हिमाली पर्यटकीय पदमार्ग बनाउने भने पनि अहिलेसम्म निर्माण सुरु भएको छैन । खप्तड घुमेर पर्यटक बाजुराको मार्तडी हुँदै कोल्टी भएर मुगुको सुकाढिकबाट खत्याड भेग अवलोकन गर्दै रारा पुग्ने गरी पदमार्गको रेखांकन गरिएको पर्यटन व्यवसायी रोकायाले बताए । त्यसरी आएका पर्यटक रारामा १/२ दिन घुमफिर गरी डोल्फु भएर डोल्पाको शे–फोक्सुन्डो पुग्ने गरी पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो । तर पदमार्ग निर्माण नहुँदा खप्तड आएका पर्यटक राराबाट सोझै नेपालगन्ज फर्किने गरेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्

बेनी–जोमसोम सडकको भीरकाटेमा सुरुङ बनाइने

दायाँतिर कडा पहाड र बायाँ किनारामा कालीगण्डकीले निरन्तर कटान गरेकाले सडक सुरक्षाका लागि सुरुङमार्गको डिजाइन
घनश्याम खड्का

म्याग्दी — कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर खण्डको भीरकाटेमा सुरुङ (टनेल) निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर नजिक भीरकाटेमा सडकको डिजाइन परिवर्तन गरी ३ सय ५० मिटर लामो सुरुङमार्ग बनाइने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

दायाँतर्फ अग्लो ओडार परेको कडा पहाड र बायाँ किनारामा कालीगण्डकी नदीले निरन्तर कटान गरेकाले सडक सुरक्षाका लागि सुरुङमार्गको डिजाइन गरिएको हो ।

‘भीरकाटे खण्डमा सडक कालीगण्डकी नदी किनारामै रहेकाले बर्खाका बेला बर्सेनि कालीगण्डकीले सडक बगाउने र यातायात अवरुद्ध बनाउने गर्छ । कुनापट्टि ओडार परेको अग्लो कडा पहाड छ, जुन विस्फोटन वा अन्य विधिबाट काटेर सडकको लेभलमा ल्याउन सम्भव छैन । त्यसैले यहाँ सुरुङ नै उत्तम विकल्प हो,’ बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘भीरकाटे खण्डमा सडकको बेस छैन । नदी किनारामा ढुंगा राखेर डाइभर्सनले काम चलाएका छौं । डिजाइन अप्रुभ भएको छ । अब ठेक्का लगाउने प्रक्रियामा छौं ।’

भीरकाटेमा ३ सय ५० मिटर लामो सुरुङमार्ग बनाउन ८० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने प्रारम्भिक अनुमान रहेको आयोजनाले जनाएको छ । जोमसोम–कोरला १ सय १० किमि लामो सडकमध्ये म्याग्दीमा पर्ने बेनी (गलेश्वर)–घाँसा खण्डको ३८ किमिमध्ये १५ किमि अति कठिन क्षेत्र हो ।

अर्को दुई किमि सडकमा रहेका १० वटा पहिरोको पनि थप अध्ययन भइरहेको छ । भीरकाटे नकी टिम्मुरे भन्ने स्थानमा करिब एक सय मिटर सडक भने अर्धसुरुङ (अंग्रेजी अक्षरको सी आकार) मा निर्माण हुनेछ । उक्त खण्डमा सडकको देब्रे किनारामा कालीगण्डकी साँघुरो घाटी भएर बगेको र दायाँ कुना भाग अग्लो पहाड भएकाले विस्फोट गरी पूरै भीर काट्न सकिने अवस्था छैन ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×