राष्ट्र बैंकले रिपोमार्फत् १५ अर्ब रुपैयाँ बजारमा पठाउँदै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

राष्ट्र बैंकले रिपोमार्फत् १५ अर्ब रुपैयाँ बजारमा पठाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — वित्तीय प्रणालीमा तरलताको अवस्था सहज नभएको भन्दै राष्ट्र बैंकले बिहीबार रिपोमार्फत् १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । यसअघि गत फागुन १७ मा राष्ट्र बैंकले रिपोमार्फत १४ दिनका लागि बजारमा पठाएको २० अर्ब रुपैयाँको परिपक्व अवधि फागुन ३० मा सकिएको छ । उक्त रिपोको परिपक्व अवधि सकिएपछि राष्ट्र बैंकले पुनः १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो ।

दुई साता अघिको तुलनामा अहिले वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएपनि अझै १५ देखि २० अर्ब कम (सर्टफल) रहेको निष्कर्षका आधारमा राष्ट्र बैंकले आज रिपो मार्फत १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यसपटक पनि राष्ट्र बैंकले १४ दिनका लागि बजारमा पैसा पठाउन लागेको हो ।

राष्ट्र बैंकले बुधबार सूचना जारी गरेर बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको हो । सूचना अनुसार आज राष्ट्र बैंकले रिपो जारी गर्नेछ । रिपोमा क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमा सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ देखि ५ करोड रुपैयाँसम्म रकमक लागि बोलकबोल गर्न सक्नेछन् ।

प्रकाशित : चैत्र २, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

कृषि विकास बैंकले ऋणीको साइकोमेट्रिक स्कोरिङ सोलुसन परीक्षण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — कृषि विकास बैंकले संभावित ऋणीको व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर मूल्याङ्कन गर्ने विधि 'साइकोमेट्रिक स्कोरिङ सोलुसन' परीक्षण गर्ने भएको छ । यो परीक्षणका लागि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ ।

वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैक्री बनाई सहज, सरल र जोखिममुक्त बनाउन मद्दत पुग्ने बैंकले जनाएको छ ।

व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त नवप्रवर्तन विधिको परीक्षण चरणका लागि नेपाल राष्ट्र बैंक र आईएफसीबीच सम्झौता भई नेपालको वित्तीय प्रणालीमा उक्त विधि दुई वर्ष परीक्षण गर्न लागिएको हो । साइकोमेट्रिक स्कोरिङ सोलुसनले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्न मद्दत गर्दछ ।


प्रकाशित : चैत्र २, २०७९ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×