रासायनिक मलमा किसानले पाउँदै आएको अनुदान घट्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रासायनिक मलमा किसानले पाउँदै आएको अनुदान घट्यो

किसानलाई रासायनिक मल महँगो पर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाएको छ । मल खरिदमा अरबौं रकम खर्च भएपनि सोही अनुपातमा परिमाण बढाउन नसकेपछि सरकारले समग्र अनुदान ११.८ प्रतिशतले घटाएको हो । अनुदान घटेसँगै अब किसानले किन्ने मलको भाउ बढ्नेछ ।

हाल रासायनिक मलमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । आयात बिन्दुमा युरिया प्रतिकिलो १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास प्रतिकिलो ३१ रुपैयाँ बिक्री प्रयोजनको लागि तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो रकम खरिद मूल्यको आधारमा युरियामा ८० प्रतिशत, डीएपीमा ५९.०४ र पोटासमा ५८.२ प्रतिशत अनुदान हो ।

मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मध्यान्ह १२ बजेदेखि आयात हुने बिन्दुमा मूल्य बढाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार किसानलाई युरिया प्रतिकिलो २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ, पोटास ४० रुपैयाँ पर्नेछ । ‘यसअघि समग्रमा ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब समग्रमा ५९.०४ प्रतिशत कायम भएको छ । जसअनुसार साबिकको तुलनाामा करिब ११.८ प्रतिशत मात्र अनुदान मूल्य समायोजन हुन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो दरलाई अर्थ मन्त्रालयको निर्देशनअनुसार क्रमशः ५० प्रतिशतसम्म कायम गरिनेछ ।’


प्रकाशित : फाल्गुन २९, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्

सिलिकन भ्यालीपछि अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकामा सञ्चालनमा रहेको अर्को बैंक सिग्नेचर पनि बन्द भएको छ । त्यहाँको नियामक निकायले आइतबार साँझ विज्ञप्ति निकालेर सिग्नेचर बैंक बन्द भएको घोषणा गरेको हो । अमेरिककै ठूला बैंकमध्येको एक सिलिकन भ्याली बन्द भएको २ दिन पछि सिग्नेचर बैंक पनि बन्द भएको घोषणा गरिएको छ । 


अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले आइतबार संयूक्त विज्ञप्ति जारी गर्दै सम्भावित बैंकिङ संकट रोक्नका लागि न्यूयोर्कस्थित सिग्नेचर बैंक बन्द गराएको जानकारी दिएका हुन् । यो बैंक बन्द भएसँगै अमेरिकामा तेस्रो ठूलो बैंकिङ असफलता (दुर्घटना) भएको विज्ञप्तिमा उल्लेख छ ।

बैंक बन्द भए पनि उक्त बैंकमा रहेका निक्षेपकर्ताको सबै निक्षेप सुरक्षित हुने पनि नियामक निकायहरुले बताएका छन् । क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैंकमध्ये सिग्नेचर बैंक पनि एक हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसका अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.४ बिलियन अमेरिकी डलर र कुल निक्षेप ८८.६ बिलियन डलर रहेको छ । यो बैंक न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिनाभर ३८ वटा निजी ग्राहक कार्यालय भएको न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो । बैंकको स्थापना सन् २००१ मा स्थापना भएको थियो ।


प्रकाशित : फाल्गुन २९, २०७९ १५:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×