१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

बिमा नगरी १ वर्षदेखि जनकपुर - जयनगर रेल सञ्चालन

न रेलको बिमा न यात्रुको
रासस

काठमाडौँ — जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको एक वर्ष हुन लाग्दा  पनि व्यवस्थापकीय पक्षद्वारा बिमा नगरी रेल सञ्चालन गरेको पाइएको छ ।  विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन् ।

बिमा नगरी १ वर्षदेखि जनकपुर - जयनगर रेल सञ्चालन

सो मार्गमा सञ्चालित दुईवटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नुपरेको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए । उनले भने, 'रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन ।' दुवै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा १५ लाख र गत आवमा ३० लाख विनियोजन गरिएको थियो । एउटा बोगिसहितको रेलको बिमाका लागि ९० लाख आवश्यक पर्छ । रकम अभाव भएपछि बिमा गर्न नसकिएको साहको भनाइ छ ।

'दुवै रेलको बिमाका लागि एक करोड ८० लाख आवश्यक पर्छ', रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने । बिमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए । झाले भने, 'एकातिर यहाँका बिमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बिमा गर्न बजेट अभाव छ । यात्रुको मात्रै बिमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बिमा गराउन सकेका छैनौँ ।'

जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुवै रेल रेल्वे विभागको नाममा छन् । विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिए । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो । रेल खुल्न लागेको समयमा टिकट नलिइ चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो । उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले कम्पनी दैनिक लाखाैं रुपैयाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बिमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिएको थिएन ।

प्रकाशित : फाल्गुन २१, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?