कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

अमलटारी हुँदै चितवन निकुञ्ज घुम्ने पर्यटक बढे 

नारायण शर्मा

पूर्वी नवलपरासी — चितवन निकुञ्ज क्षेत्रमा प्रवेश सहज बनाइएपछि यहाँ आउने पर्यटकको संख्या वृद्धि भएको छ । चितवन निकुञ्जको पश्चिम सेक्टरमा पर्ने अमलटारीबाट निकुञ्जमा जिप सफारी संचालन गर्न अनुमति दिएको एक महिनाको अवधिमा यो क्षेत्रमा आन्तरिक तथा वाहृय पर्यटकको संख्या बढेको हो ।  

अमलटारी हुँदै चितवन निकुञ्ज घुम्ने पर्यटक बढे 

निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत रजहरको कुजौली रेन्ज पोस्ट र अमलटारीबाट निकुञ्ज प्रवेश गर्न पाइन्छ । कुजौलीबाट हरेक दिन २ वटा जिप र अमलटारीबाट ५ वटा जिपमा निकुञ्ज प्रवेश गर्न पाउने व्यवस्था छ । निकुञ्जले तोकेकै जिपबाट मात्र जंगल सफारी (प्रवेश अनुमति) पाइन्छ । एउटा जिपमा एक पटकमा १२ जनाले सफारी गर्न सकिन्छ । जसमा कम्तीमा एक जना नेचर गाइड लैजानु पर्ने व्यवस्था छ । एकजना गाइडले १५ सय देखि ३ हजारसम्म शुल्क लिन्छन् । अनुभवी गाइडले शुल्क केही बढी लिने गर्छन् ।

गत माघ पहिलो साता चितवन निकुञ्जले अमलटारी क्षेत्रबाट निकुञ्जमा प्रवेश गर्न पाउने अनुमति दिएको थियो । त्यसअघि यहाँका दुई होटल टेम्पल टाइगर र थारु भिलेजले मात्र त्यस्तो अनुमति पाएका थिए । यो क्षेत्रमा रहेका दुई वटा ठूला होटल मार्फत मात्र पर्यटक निकुञ्ज छिर्न पाउने यस अघिको एकाधिकार खोसेर सबैलाई अनुमति दिइएपछि यो क्षेत्र हुँदै निकुञ्ज प्रवेश गर्नेको संख्या बढेको हो ।

अमलटारीबाट चितवन निकुञ्ज हुँदै मेघौलीसम्म पुग्न १६ किलोमिटर जंगलको यात्रा गर्नुपर्छ । अमलटारी पोस्टबाट चितवनको मेघौलीसम्म पुग्न जिपमा २,३ घण्टा समय लाग्छ । निकुञ्जको पछिल्लो निर्णयपछि अमलटारी क्षेत्रबाट यहाँका सबै होटल र पर्यटन व्यवसायीका पर्यटकले निकुञ्ज आउजाउ गर्न पाउने भएका हुन् । निकुञ्ज पैदल घुम्ने, जिपमा आउजाउ गर्न पाइने, नारायणी नदीमा डुंगा सयर गर्न पाइने भएपछि नेपाली र विदेशी पर्यटकको संख्या बढेको छ ।

नवलपुर पर्यटन समितिका सचिव धनिराम गुरौका अनुसार पूर्वी नवलपरासीबाट पनि निकुञ्ज प्रवेश गर्न पाइने प्रचार सुरु भएसँगै आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको छ । गत तीन सातामा अमलटारीबाट निकुञ्ज प्रवेश गर्नेको संख्या ९ सय ७५ छ । यो अवधिमा यहाँबाट ७ सय ७५ नेपाली र दुई सय विदेशी पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ । गत कात्तिकदेखि पुससम्म तीन महिनाको अवधिमा यहीं अमलटारी नाकाबाट ४ हजार २५० जनाले मध्यवर्ति क्षेत्रको जंगल घुमफिर गरेका थिए । त्यतिखेर निकुञ्ज प्रवेशको अनुमति सीमित गरिएका कारण यहाँ मध्यवर्ति क्षेत्रको जंगल घुमेर फर्किने चलन थियो । हाल मध्यवर्ति सामुदायिक वन र चितवन निकुञ्ज प्रवेश गरेर (दुवै जंगल) घुम्न पाइने भएकाले पर्यटक बढ्दै गएका छन् । मध्यवर्ति सामुदायिक वन क्षेत्रमा भन्दा निकुन्ज घुमफिर गरेको बढी शुल्क लाग्छ । निकुञ्जमा पर्यटक आउँदा लिइने पैसा सरकारी राजश्वमा जान्छ ।

निकुञ्ज प्रवेशका लागि नेपालीले १५० रुपैयाँ, सार्क क्षेत्रका पर्यटकले १ हजार र अन्य देशका पर्यटकले २ हजार रुपैयाँ शुल्क तिर्नपर्छ । यो क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने हरेक जिपले एक पटक पाँच हजार शुल्क तिर्न पर्छ । सो शुल्क तिरेपछि हरेक जिप प्रवेश गराएवापत निकुञ्जलाई थप ५ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने नियम छ । यहाँको नारायणी नदी फराकिलो क्षेत्रमा फैलिएका कारण डुंगा चढेर निकुञ्ज आसपासको दृष्य अवलोकन गर्ने र नदीका चरा हेर्ने पर्यटकको संख्या पनि बढ्दै गएको छ ।

डुंगा चढ्नका लागि प्रत्येक नेपालीले ३ सय, सार्क क्षेत्रका पर्यटकले ३ हजार र अन्य देशका विदेशीले ४ हजार रुपैयाँ शुल्क तिर्छन् । जिप सफारी, डुंगा सयर र जंगलमा पैदल यात्रा गर्ने व्यवस्थाले पर्यटकको बसाई लम्बिँदै गएको र यसले रोजगारीको व्यवस्था थप मजबुत भएको पर्यटन व्यवसायी तथा थारु कम्युनिटी लजका संचालक बुद्धिसेन थारु बताउँछन् । ती सेवा लिएर गएका पर्यटकले गरेको प्रचारसँगै यहाँ आउने पर्यटकको बसाई लम्बिएको उनको अनुभव छ ।

पर्यटकको संख्या बढ्दै गएपछि रोजगारी पनि बढ्दै गएको छ । निकुञ्ज प्रवेश गर्दा पैदलयात्रीहरुले अनिवार्य दुई जना नेचर गाइड लैजानु पर्ने भएकाले स्थानीय तहमा रोजगारी बढेको पर्यटन समितिका सचिव धनिराम गुरौको भनाइ छ । अमलटारी आसपासको क्षेत्रमा वन्यजन्तुको आहारका लागि ठूला ठूला घाँसे मैदान बनाइएको छ । घाँसे मैदानमा जनावर चर्न आउने भएकाले अवलोकनका लागि सजिलो भएको हो । अमलटारी पोस्टनजिक पर्ने नमुना मध्यवर्ति सामुदायिक वन, कृष्णसार मध्यवर्ति, शान्तिकुन्ज गुन्द्रही ढकाह सामुदायिक वन क्षेत्र ठूलो र फराकिलो छ । यी ४ वटा सामुदायिक वन २ हजार २२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

केही वर्षदेखि गैंडाको वासस्थान यो क्षेत्रमा बढेको छ । खुल्ला घाँसे मैदान, आहाल बस्ने घोल (सिमसार क्षेत्र) यतै धेरै भएकाले वन्यजन्तुको संख्या यो क्षेत्रमा बढ्दै गएको पर्यटन व्यवसायी धनीराम गुरौ बताउँछन । सौराह भन्दा पूर्वी नवलपरासी क्षेत्र तुलनात्मक रुपमा कम कोलाहल हुने भएकाले वन्यजन्तुको चाप यो क्षेत्रमा बढी छ । चितवन निकुञ्जको पश्चिमी क्षेत्रलाई अमलटारी क्षेत्र भनिन्छ । यो निकुञ्जको पश्चिमतिर पर्दछ । अमलटारीमा थारु समुदायले संचालन गरेका अमलटारी थारु होमस्टे, बरौली होमस्टे, गैंडा होमस्टे, चिलाहा र तौल सामुदायिक होमस्टे संचालनमा छन् । यहाँ सबै होमस्टेमा प्रतिरात ५ सय जना बस्न मिल्छ ।

यो क्षेत्रमा नेपालमै घेरै सुविधा दिने र महँगा मानिने होटलहरु संचालनमा छन् । ति सबैमा थारु समुदायको व्यवस्थापन रहेको छ । थारु संस्कृति, नाचगान, खानपिन थारु समुदायकै भएका कारण सो अवलोकनका लागि आउने पर्यटक बढी छन् । अमलटारी क्षेत्रमा संसारभर कहलिएका टाइगर टप्स, टेम्पल टाइगर, मचान कन्ट्री भिल्ला, नाना होलिडेज, हिमालय सेन्चुरी , थारु कम्युनिटी लज, थारु गाउँ रिसोर्ट, बोटगाउ रिसोर्ट, रेनफरेस्ट थारु लज लगायतका होटल संचालनमा छन् ।

यहाँका सबै होमस्टे र ठूला होटलमा थारु समुदायको संस्कृतिसँग जोडिएका गतिविधि बढी हुने गरेका कारण पर्यटकको संख्या बढ्दै गएको पर्यटन व्यवसायी बुद्धिसेन थारु बताउँछन् । पछिल्लो समय थारु संस्कृतिको अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको संख्या बढ्दै गएको छ । यहाँ बोटे, माझी, मुसहर र थारु समुदायको बाहुल्यता रहेका कारण ती समुदायको रहनसहन, पौराणिकता, जीविकोपार्जनको तौरतरिका र साँस्कृतिक गतिविधि अध्ययन अवलोकन गर्न बेलायत, अस्ट्रेलिया, अमेरिका, इटली र भारतबाट समेत विद्यार्थी आउने गरेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×