कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

व्यापारी नआउँदा १८ रुपैयाँ किलोमै अदुवा

तीन वर्षअघिसम्म प्रतिकिलो ४० देखि ५० रूपैयाँमा बिक्री हुँदै आएको अदुवाले गत वर्ष २५ देखि ३० रूपैयाँ पाएको थियो
विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–९ जयतपानीका किसान चन्द्रबहादुर रोकाले १० रोपनी जग्गामा झन्डै दुई दशकदेखि व्यावसायिक अदुवा खेती गर्दै आएका छन् । गत वर्ष उनले प्रतिकिलो ३० रुपैयाँमा अदुवा बिक्री गरेर करिब ४ लाख रुपैयाँ कमाएका थिए । यस वर्ष बाहिरका खरिदकर्ता नआएपछि स्थानीय बजारमा प्रतिकिलो १८ रुपैयाँमै अदुवा बेचिरहेका छन् ।

व्यापारी नआउँदा १८ रुपैयाँ किलोमै अदुवा

सिद्धकुमाख गाउँपालिका–५ दहका नेवबहादुर खड्काले अघिल्लो वर्ष प्रतिकिलो ४० रुपैयाँमा अदुवा बेचेका थिए । गत वर्ष प्रतिकिलो ३० रुपैयाँमा अदुवा बेचे । झन्डै १२ रोपनी जग्गामा अदुवा खेती गरिरहेका उनले यस वर्ष १८ रुपैयाँमै चित्त बुझाउनुपरेको छ । ‘अन्न लगाउने जग्गामा अदुवा खेती गरिरहेका छौं,’ उनले भने, ‘आफैं बाहिर लिएर बिक्री गर्न सकिन्न, गाउँमा आएका व्यापारीले बर्सेनि भाउ घटाइरहेका छन् ।’

सल्यानका किसानले उत्पादन गरेका अदुवाको भाउ प्रत्येक वर्ष खस्कँदै गएको छ । तीन वर्षअघिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री हुँदै आएको अदुवा गत वर्ष २५ देखि ३० रुपैयाँमा बिक्री भयो । यस वर्ष मूल्य १८ देखि २० रुपैयाँमा झरेको छ । बाहिरी जिल्लाबाट आउने व्यापारीले ठाउँअनुसार भाउ तोक्दा पनि किसान समस्यामा परेका हुन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण अदुवा बिक्रीमा समस्या भएको थियो । यस वर्ष भने भाउ नपाएपछि किसानलाई मर्का परेको छ ।

सल्यानका झन्डै ५ हजार किसान परिवार अदुवा खेतीमा निर्भर रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । ‘खेती गर्दा हुने दुःखअनुसारको भाउ पाइएन,’ सिद्धकुमाख गाउँपालिकाका रेशम बोहराले भने, ‘स्थानीय व्यापारीले भाउमा पनि एकरूपता कायम गरेका छैनन् ।’ प्रत्येक वर्ष भाउमा आउने गिरावटका कारण कतिपय किसानले अदुवा लगाउन छाडेको उनको भनाइ छ । उनले १० रोपनी जग्गामा अदुवा खेती गरेका छन् ।

गत वर्ष उनले झन्डै १ सय ३३ क्विन्टल अदुवा प्रतिकिलो ३० रुपैयाँमा बिक्री गरी करिब ४ लाख रुपैयाँ कमाएका थिए । गत वर्षकै हाराहारीमा अदुवा उत्पादन भए पनि २ लाख २० हजार मात्र आम्दानी भएको उनले गुनासो गरे । भर्खरै खनेको अदुवा गुणस्तरीय नभएको भन्दै स्थानीय व्यापारीले बढी मोल नदिएको उनको भनाइ छ । अदुवा खेतीका लागि नेपालभरि नै सल्यानको माल्नेटा प्रख्यात छ । जिल्लामा सबैभन्दा बढी अदुवा उत्पादन हुने ठाउँ पनि माल्नेटा नै हो ।

अर्ग्यानिक अदुवालाई विभिन्न खोट लगाई व्यापारीले बढी भाउ दिन नमान्ने माल्नेटाका किसान दलबहादुर गिरीले बताए । गत वर्ष उनले झन्डै एक सय क्विन्टल अदुवा उत्पादन गरेका थिए । गत वर्ष प्रतिकिलो ३० रुपैयाँमा अदुवा बिक्री भएको थियो । उनले यस वर्ष उत्पादित अदुवा घरमै थन्क्याएर राखेका छन् । ‘पोहोर यस बेलासम्म सबै अदुवा सकिन्थ्यो,’ उनले भने, ‘घाटा आएर कसरी अदुवा बिक्री गर्ने ?’ राम्रो भाउ नआएपछि अदुवा कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ताले गाउँभरिका किसान आजित भएको उनको भनाइ छ ।

बिचौलियाका कारण अदुवाको भाउ खस्किँदै गएको उनको गुनासो छ । भाउ बर्सेनि घटाउन व्यापारीले ठूलो चलखेल गर्ने उनले बताए । मूल्यमा हुने घटबढले विभिन्न समस्या निम्त्याइरहेको छ । माल्नेटाका करिब १ हजार परिवार अदुवा खेतीमा निर्भर रहेको उनले जनाए । प्रत्येक वर्ष माल्नेटाको करिब ३ सय टन अदुवा जिल्ला बाहिर जाने गरेको कृषि विकास कार्यालयको तथ्यांक छ । यसबाट झन्डै २ करोड रुपैयाँ भित्रिने गरेको कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले जनाए ।

‘भारतमा उत्पादन घट्यो वा अन्य जिल्लाबाट गएन भने मूल्य बढ्छ,’ उनले भने, ‘नत्र मूल्य घट्ने समस्याले किसानलाई समस्या बनाएको छ ।’ जिल्लाभरि करिब ३ हजार हेक्टर क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको छ । अदुवाबाट जिल्लामा करिब २० करोड रुपैयाँसम्म भित्रिने गरेको उनले बताए । जिल्लामा उत्पादित अदुवा काठमाडौं, बुटवल, नारायणगढलगायत ठूला सहरमा जाने गरेको छ । एक दशकदेखि भारतमा गइरहेको अदुवा ३ वर्षअघिसम्म युरोपका देशमा पनि गइरहेको थियो ।

प्रकाशित : माघ २७, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×