सुरु भयो ‘फाइभजी’ परीक्षण- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो ‘फाइभजी’ परीक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले ‘फाइभजी’ सेवाको परीक्षण (ट्रायल टेस्टिङ) आइतबारबाट सुरु गरेको छ । काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ । फाइभजी कम्प्याटिबल अर्थात् फाइभजी सुविधा भएका मोबाइल डिभाइस प्रयोगकर्ताले परीक्षण अवधिभर उल्लेखित दुई ठाउँमा फाइभजी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

'हामीकहाँ फाइभजी चल्ने मोबाइल डिभाइसहरू त्यति धेरै रहेनछन्,' टेलिकमका प्रवक्त्ता शोभन अधिकारीले भने, 'सामसङलगायत मोबाइल उत्पादकहरूलाई आफ्ना फाइभजी डिभाइस ल्याएर परीक्षण गर्न हामीले अनुरोध गरिरहेका छौं । अन्य कुन-कुन सेटमा फाइभजी चल्छ, ती पहिल्याएर निर्माताहरूलाई परीक्षणका लागि अनबोर्डिङ गर्ने काम भइरहेको छ ।'

दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा 'फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरी सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मै परीक्षण गर्ने टेलिकमले जनाएको भएता पनि अहिलेसम्म परीक्षण हुन सकेको थिएन । इम्पोर्ट लाइसेन्स, फ्रिक्वेन्सी प्राप्तिलगायतमा भएको ढिलाइ र उपकरण आयातमा समस्या भएकाले परीक्षण मिति पर सर्दै गएको प्रवक्त्ता अधिकारीले बताए । यसपटक भने कम्पनीको १९औं वार्षिकोत्सवका अवसरमा आइतबार फाइभजीको ट्रायल टेस्टिङ सुरु गरिएको हो ।

केही समयपछि पोखरा, वीरगन्जलगायत अन्य स्थानमा पनि परीक्षण गर्दै जाने कम्पनीले जानकारी दिएको छ । दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

प्रकाशित : माघ २२, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्

श्रीलंकाबाट फर्किइन् परराष्ट्रमन्त्री पौड्याल

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीलंकाको भ्रमण सकेर परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार नेपाल फर्किएकी छन् । उनी श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी त्यहाँ गएकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी मन्त्री पौड्यालले श्रीलंकाको राष्ट्रपति रणिल विक्रमासिंगे र प्रधानमन्त्री दिनेश गुणवर्धनेसँग शिष्टाचार भेटवार्ता गरी दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी दिइन् ।

मन्त्री पौड्याललले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायत विषयमा सहकार्यका लागि आग्रह गरेको पनि बताइन् ।

प्रकाशित : माघ २२, २०७९ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×