ठेकेदार संसद्‌मा, सडक अलपत्र- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदार संसद्‌मा, सडक अलपत्र

केही ठाउँमा पर्खाल उठाएको , ग्राभेल तथा बेस बनाएको र सडकमा गिट्टी थुपारेर राख्नेबाहेक अरु काम भएन
आश गुरुङ

लमजुङ — रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस सभापति पूर्णबहादुर तामाङ संसद्मा छन् । उनले निर्माण गरिरहेको सडक भने लमजुङमा अलपत्र अवस्थामा छ । क्व्होलासोंथार गाउँपालिका–१ बागलुङपानीदेखि वडा ३ घलेगाउँसम्मको सडक कालोपत्रको ठेक्का लिएका उनले ९ महिनायता काम नै गरेका छैनन् ।

केही ठाउँमा पर्खाल उठाएको, ग्राभेल तथा बेस बनाएको र सडकमा गिट्टी थुपारेर राख्नेबाहेक अरू काम नभएको स्थानीय बताउँछन् । तामाङको कम्पनी कान्छाराम–नाना जेभीले १० किमि सडक कालोपत्रका लागि ०७८ असोज ३० सम्म सक्ने गरी ०७६ असोज ३० मा सम्झौता गरेको थियो । भ्याटसहित ३४ करोड ७७ लाख रुपैयाँमा कालोपत्र गर्ने भनी सम्झौता गरेकामा सम्झौता सकिएकै १५ महिना कटिसकेको छ । कम्पनीले भने सडक कालोपत्र नगरी यत्तिकै छाडेको छ । ‘सडक बनाउँदैनन्, धूलो मात्रै उडाइएको छ । हिँड्न–बस्नै मुस्किल भयो,’ क्व्होलासोंथार–१ रापासिङकी सूर्यकुमारी गुरुङले भनिन् ।

काठमाडौं गएर निर्माण व्यवसायी सांसद तामाङलाई भेटेरै कुरा गरिएको पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष एवं क्वहोलासोंथार गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर घले बताउँछन् । ‘हामीले मुख्य मान्छेलाई नै भेटेर आएका हौं । अब सडक बन्ला भन्यो, आउँदै आउँदैन,’ उनले भने, ‘बाटो बनाउन बन्द भएको ९ महिना भयो । बाटो अलपत्र पर्‍यो । अब के गर्ने खोइ ?’

निर्माण व्यवसायी र उनका प्रतिनिधि कहिलेकाहीं मात्रै सम्पर्कमा आउने गरेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको भनाइ छ । निर्माण व्यवसायी सम्पर्कमा आउन नचाहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीले बताए । मंसिर ४ को चुनावअघि सडकको काम भइरहेको र त्यसपछि भने अघि बढ्न नसकेको उनको भनाइ छ ।

‘कतिपटक सम्पर्क गर्‍यौं । पत्राचार गरेका छौं । तैपनि निर्माण व्यवसायी आएका छैनन् । प्रतिनिधि पनि आएका छैनन् । काम हुन सकेको छैन,’ उनले भने ।

बैंक धरौटी जफतका लागि बैंकलाई पत्र लेखिसकिएको गिरीले जनाए । म्याद एक पटक थप भइसकेको अवस्थामा पुनः म्याद थपका लागि व्यवसायीले निवेदन दिएको उनले बताए । निर्माण व्यवसायी प्रतिनिधि तेजबहादुर कार्की केही दिनअघि सम्पर्कमा आए पनि अहिले भने सम्पर्कमा छैनन् । निर्माण व्यवसायीले सडक निर्माण गरेबापतको १ करोड भुक्तानी लान बाँकी छ । कतिपय ठाउँमा वाल उठाएको, बेस बनाएको र ग्राभेल गरेको उनले बताए । ‘धेरै पटक फलो गर्‍यौं । काम भएको छ, तर कति प्रतिशत भन्ने यकिन छैन,’ गिरीले भने, ‘पछिल्लो समय भने काम भएको छैन ।’ बागलुङपानी–घलेगाउँ सडक कालोपत्रको काम भइरहेको छ । बागलुङपानीदेखि घलेगाउँसम्म कालोपत्र हुने सडकको चौडाइ ७ मिटरको हुनेछ । सडक चौडा पार्ने, पक्की नाला बनाउने, टेवा पर्खाल लगाउने कार्यक्रमसमेत छ । तर, कतिपय ठाउँमा पहिरो खसेपछि सडकमै सवारीसाधन गुड्न असुविधा भएको सवारी चालक रमेश गुरुङले बताए ।

प्रकाशित : माघ २०, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

माघ २४ र २५ गते पसगाउँ महोत्सव हुने

आश गुरुङ

लमजुङ — क्व्होलासोंथार गाउँपालिका ६, पसगाउँमा माघ २४ र २५ गते १३ औं महोत्सव हुने भएको छ । लमजुङको उत्तरपश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको हो । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमु (गुरुङ) जातिको बाहुल्यता रहेको गाउँ हो ।

गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने ध्येयले महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टेले बुधबार बेंसीसहरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

होमस्टे अध्यक्ष बलराम गुरुङका अनुसार वि.सं. २०६० साल वैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सव आयोजना गरिएको थियो । पछिल्लो समय कोभिड संक्रमण जोखिमका कारण महोत्सवलाई निरन्तरता दिन सकिएको थिएन । ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।

वि.सं. २०६० सालदेखि पसगाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना सँगसँगै आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको थियो । ‘ग्रामीण पर्यटनले बामे सरेकै बेला १० वर्षे माओवादी युद्धले ओझेलमा पर्न गयो । २०६२/०६३ को जनआन्दोलन र १० वर्षे माओवादी युद्ध सकिएपछि पर्यटक आगमन सुरु भइरहेको थियो । फेरि कोरोनाले अवरोध बनायो’ उनले भने, ‘अहिले कोभिड १९ को प्रभाव कम हुँदै गर्दा ग्रामीण पर्यटन व्यवसाय लय तर्फ फर्कंदैछ ।’

कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरुको लागि पसगाउँ परिचित छ । सिल्दु पूजा, छेदुपु पूजा, क्व्होम्रे पूजा, भवानी पूजालगायत विशिष्ट परम्परागत रीतिरिवाज रहेको पसगाउँ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको प्राकृतिक शिवलिंग, भौं भौं ह्राब (बजाउने ढुंगा), सूर्योदय र सूर्यास्त अवलोकनका लागि क्व्होम्रेडाँडासहित ४ वटा प्रशिद्ध डाँडाहरु रहेको स्थानीय तिलबहादुर गुरुङ बताउँछन् ।

पसगाउँ घर भएका क्व्होलासोंथार गाउँपालिका अध्यक्ष समेत रहेका सूर्यप्रसाद गुरुङका अनुसार ढुंगाले छाएका घरहरु नै गाउँको मुख्य मौलिक विशेषता हुन् । हाल २१ घरमा होमस्टे संचालनमा रहेको गाउँमा भूपू सैनिकहरुको अगुवाइमा क्व्होम्रेडाँडामा पिकनिक स्पटको निर्माण गरिएको छ । खानेपानी तथा विजुली बत्तीको पनि व्यवस्था रहेको उनले बताए ।

लमजुङ सदरमुकाम बेंसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पोखरादेखि रामबजार गिलुङ हुँदै, पोखरादेखि थुम्सीकोट हुँदै, तनहुँको दमौली भोर्लेटार गिलुङ हुँदै र बेंसीसहरदेखि घलेगाउँ भुजुङ हुँदै पसगाउँ पुग्न सकिन्छ ।पसगाउँको प्रमुख खाद्यान्न बाली धान, कोदो, मकै हो । यहाँका वासिन्दहरु चिया, अलैंची, एभाकाडो, किवी खेतीतर्फ आर्कषित भएको स्थानीय गोपाल गुरुङले बताए । उनका अनुसार आर्थिक उपार्जन गरी जीविकोपार्जनका लागि युवाहरु वैदेशिक रोजगारीमा छन् । महोत्सवमा स्थानीय कला संस्कृति, हस्तकला तथा खाद्यान्नबाली प्रदर्शन गरिने भएको छ ।

प्रकाशित : माघ १८, २०७९ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×