१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लघु वित्तीय संस्थाका ऋणीहरू आन्दोलित

व्याज तिर्ने भाका माग्दा पनि वित्तीय संस्थाका कर्मचारीहरू घरमै आएर भित्र थुनिदिने र घर बेचिदिने भन्दै धम्की दिन थालेको भन्दै ऋणीहरू आन्दोलित भएका छन्
कमल पन्थी

बर्दिया — ठाकुरबाबा नगरपालिका—२ की सीमा थारुले इनफिनीटी लघु वित्तीय संस्थाबाट गत वर्ष फागुनमा एक लाख ऋण लिइन् । उनले १८ प्रतिशत व्याज र हर्जाना बुझाउँदै आएको बताउँछिन् उनी ।

लघु वित्तीय संस्थाका ऋणीहरू आन्दोलित

तर निर्धारित समयमै साँवा व्याज बुझाउन नसक्दा उक्त संस्थाका कर्मचारीले घरमै आएर धम्की दिने गरेको उनको गुनासो छ । थारुका अनुसार उनीहरूले घरमा ताला लगाएर थुनिदिने धम्की दिँदै आएका छन् ।

'मैले किस्ता र हर्जानासमेत बुझाउँदै आएकी छु । भनेको समय रकम नभएकोले धम्की र दुर्व्यवहार सुन्नु परेको छ,' थारुले बताइन् । उनी जस्तै ठाकुरबाबा—२ कर्मलाकी कमला थारुले गत वर्ष १ लाख ऋण लिइकी थिइन् ।

त मरेर भए पनि रकम तिर्नुपर्छ भन्दै लघुवित्तका कर्मचारीले धम्काउने गरेको उनले बताइन् । दुई महिनाको भाका मागे पनि वित्तीय संस्थाका कर्मचारीले भने दुर्व्यवहार गर्ने गरेको उनको भनाइ छ । ५० हजार ऋण लिएकी उनले ३३ हजार बुझाउन बाँकी रहेको बताइन् ।

ठाकुरबाबा—२ की रिता थारुको अवस्था पनि यस्तै छ । उनले ३ लाख ऋण लिएकी थिइन् । साँवा व्याज बुझाउँदा पनि छिटो सबै रकम बुझाऊ भन्दै कर्मचारीहरू घर बेचिदिने धम्की दिएर गएको बताइन् । उनीहरू जस्तै यस क्षेत्रका थुप्रै महिलाको पीडा साझा छ ।

दुर्व्यवहार र धम्की आउन थालेपछि ऋणी महिलाहरूले ठाकुरबाबास्थित एनएमबी लघु वित्त वित्तीय संस्था लिमिटेडमा तालाबन्दी गरिदिएका छन् । चर्को व्याज, हर्जाना हटाउने र ऋणीलाई धम्काउने काम रोक्नुपर्ने उनीहरूको माग छ । ऋणीमाथि दुर्व्यवहार गर्ने र धम्काउने कर्मचारीमाथि कारबाही गर्नुपर्ने पनि उनीहरूले माग गरेका छन् ।

यस्तै सस्तोमा ऋण पाउने भनिए पनि उनीहरूले व्याज बुझाएको पासबुक वा रसिदसमेत नदिने गरिएको उनीहरुको गुनासो छ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख रमेश ताम्रकारले भने कर्मचारीले ऋणीलाई धम्की नदिएको बताएका छन् । साँवा, व्याज मागे पनि दुर्व्यवहार नगरेको उनले दाबी गरे ।

प्रकाशित : माघ १८, २०७९ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?