भन्सार प्रमुखसहित तीन कर्मचारी कारबाहीमा- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भन्सार प्रमुखसहित तीन कर्मचारी कारबाहीमा

विनोद भण्डारी

विराटनगर — तेस्रो मुलुकबाट प्रतीतपत्र (एलसी) मार्फत आयातित सामानको भन्सार प्रज्ञापनपत्र सिस्टममा प्रविष्ट गरेलगत्तै डिलिट गरेको आरोपमा भन्सार विभागले विराटनगर भन्सार प्रमुखसहित तीन कर्मचारीलाई भन्सार विभाग तथा अर्थ मन्त्रालयमा तानेको छ ।

एक साताअघि देव इन्टरनेसनल काठमाडौंले चीनबाट मगाएको ७३ हजार अमेरिकी डलर बराबरको जुत्ता एवं गार्मेन्टका तयारी सामान भन्सार एजेन्ट शरण खरेलमार्फत ४५ लाख राजस्व घोषणा गरेर सामान छुटाउन प्रज्ञापनपत्र दर्ता गराएको थियो । खरेलले प्रज्ञापनपत्र दर्ता गरेपछि भन्सारले सिस्टममा इन्ट्री गरेलगत्तै डिलिट गरेको भन्सार स्रोतको दाबी छ । यसपछि विभागले भन्सार प्रमुख ताराप्रसाद सापकोटालाई विभाग, अधिकृत नकुल शर्मा र नासु हिमाल दाहाललाई अर्थ मन्त्रालयमा तानेर छानबिन टोली पठायो ।

अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालको नेतृत्वमा आएको टोलीलाई भन्सारले रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान विराटनगर भन्सारमा आइनपुगेको र आईसीपीको गोदाममा पनि नभएको जवाफ दिएको थियो । स्रोतले भन्यो, ‘त्यसपछि टोलीले गोदामको परीक्षण गर्दा रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान फेला पारेपछि १ करोड २५ लाख राजस्व लिएर छाडेको थियो ।’

कोलकाता बन्दरगाहले उक्त सामान उल्लेख गर्दै विराटनगर नाकाका लागि कस्टम ट्रान्जिट डिक्लियरेसन (सीटीडी) फर्म जारी गरेको थियो । एलसी खोलेर मगाइएको विदेशी सामान नआए विदेशी मुद्रा अपचलनको अभियोग लाग्ने र वस्तु आयात भएर भन्सार छले राजस्व अपचलनको अभियोग लाग्ने स्रोतको भनाइ छ । दाहाल नेतृत्वको टोली फर्किसकेको छ । यस विषयमा भन्सारका कुनै पनि अधिकृतले प्रतिक्रिया दिन चाहेनन् । आयातकर्ताका भन्सार एजेन्टले उक्त प्रज्ञापन पत्र दर्ता गरेर त्यसमा उल्लिखित सामान आधा मात्र आइपुगेको र आधा आउन बाँकी रहेको भनेपछि सिस्टममा इन्ट्री भएको प्रज्ञापनपत्रलाई टिप्पणी उठाएर रद्द गरिएको एक अधिकृतको दाबी छ ।

विराटनगर भन्सारले चालु वर्षको ६ महिनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ । सामानको न्यून मूल्यांकन गरेर भन्सार जाँचपास गर्नु र जाँचपास नै नगरी सामान छाडेर राजस्व छली गर्नु भन्सारको पुरानै रोग भएको सम्बद्ध स्रोतको दाबी छ । सात वर्षअघि पनि भारतबाट आएको एक ट्रक ट्रेडिङका सामान भन्सार जाँचपास नै नगरी कर्मचारीले छाडेपछि प्रहरीले बजारबाट नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो ।

विराटनगर भन्सारले चालु आर्थिक वर्ष ६० अर्ब भन्सार राजस्व असुली गर्ने लक्ष्य राखेको छ । ६ महिनामा २८ अर्ब ४० करोड लक्ष्य राख्दा १६ अर्ब ५३ करोड मात्र असुली गरेको छ । लक्ष्यअनुसारको असुली नहुनुलाई तस्करी बढेको, आयातमा प्रतिबन्ध हुनु र एक वर्षदेखि मीरगन्ज पुलबाट ढुवानीका साधन आउन प्रतिबन्ध लाग्नुलाई भन्सार अधिकारीले दोष दिँदै आएका छन् । कार्यालय चालु आर्थिक वर्षमा कुनै पनि महिना राजस्व असुली लक्ष्यको नजिक पुग्न सकेको छैन ।

भन्सारले पुसमा ५ अर्ब २३ करोड ७८ लक्ष्य राख्दा २ अर्ब ४२ करोड १० लाख मात्र असुली गरेको छ । यो लक्ष्यको ४६ दशमलव २२ प्रतिशत हो । भन्सारले साउनमा ३ अर्ब ६४ करोड लक्ष्यमा २ अर्ब ९५ करोड, भदौमा ४ अर्ब ७६ करोडमा ३ अर्ब ९१ करोड, असोजमा ५ अर्ब ५ करोडमा २ अर्ब ७८ करोड, कात्तिकमा ४ अर्ब ७७ करोडमा २ अर्ब ९३ करोड र मंसिरमा ४ अर्ब ९२ करोड लक्ष्य राख्दा २ अर्ब ३३ करोड मात्र असुली गरेको छ ।

प्रकाशित : माघ १७, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

साइबर सुरक्षामा सम्झौता नगर

सम्पादकीय

नेपालको सार्वजनिक सेवा प्रणालीको अनलाइन सर्भर कुन हदसम्म तदर्थ शैलीमा चलिरहेको छ भन्ने अर्को प्रमाण शनिबार देखियो । लगभग मुलुकै ठप्प हुने गरी सरकारी अनलाइन प्रणाली लामो समय अवरुद्ध रह्यो ।

यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयले यात्रुलाई भिसा सेवा दिन प्रस्थानविन्दुमा राखेका १४ र आगमनविन्दुमा राखेका २२ वटा कम्प्युटरमार्फत दिउँसो सवा १२ देखि सवा ४ बजेसम्म र बेलुकी

सवा ७ देखि सवा ८ बजेसम्म गरी ५ घण्टा काम हुन नसक्दा अन्तर्राष्ट्रियतर्फ हजारौंको यात्रा अस्तव्यस्त बन्यो । विदेशबाट आएकाहरू पनि घण्टौंसम्म अध्यागमनमै रोकिए । चर्चाको केन्द्रमा रहेको अध्यागमन सेवा सुधार त कहाँ हो कहाँ, उल्टो एकै दिन लामो अवधि सर्भर बिग्रिएको नकारात्मक कीर्तिमान पो बन्यो !

विमानस्थल मात्र होइन, सिंहदरबारभित्र रहेको एकीकृत डेटा सेन्टर (जीआईडीसी) अन्तर्गत सञ्चालन हुने ४ हजारभन्दा धेरै सरकारी वेबसाइट दिउँसोदेखि साँझसम्म पटक–पटक ठप्प भए । आइतबार पनि यो क्रम देखियो । सरकारी सर्भरमाथि आक्रमण भई सेवा ठप्प हुन पुगेको यस घटनाबाट नेपालको साइबर सुरक्षाका पूर्वाधारमाथि ठूलो प्रश्न उठेको छ । जिम्मेवार नेतृत्व तथा अधिकारीहरूको चरम बेवास्ता र खेलाँचीका कारण अनलाइन प्रणाली यो हदसम्म नाजुक बन्न पुगेको हो । यसबाट साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउन अब पनि ध्यान नपुर्‍याइए भविष्यमा थप ठूलो जोखिम निम्तिन सक्ने देखिएको छ । त्यसैले यो पाटोमा समयानुकूल सुधारका निम्ति यथोचित गृहकार्य गर्नु अपरिहार्य छ ।

डिजिटल रूपान्तरणका लागि मुलुकमा बनेका नीतिहरूकै पनि राम्ररी कार्यान्वयन गरिएको छैन । बनाइएका संरचनाहरू पनि प्रभावकारी हुन सकेका छैनन् । प्रधानमन्त्रीको अध्यक्षतामा डिजिटल नेपाल फ्रेमवर्क (डीएनएफ) निर्देशक समिति गठन भएको चार वर्षमा एक पटक पनि बैठक नबस्नुले नै धेरै कुरा आफैं बोल्छ । पहिलो त, चाहिँदा–नचाहिँदा अनेक काममा व्यस्त हुनुपर्ने प्रधानमन्त्रीलाई यस्तो भूमिकामा किन राखेको ? दोस्रो, नराख्नु प्रधानमन्त्रीलाई राखिसकेपछि आवश्यक कार्यार्थ बैठक डाक्न किन नसकेको ? यो संरचनालाई अलपत्र पारेबाटै अरू धेरै मामिलाझैं डिजिटल रूपान्तरणका सवाल पनि तदर्थ शैलीमै चलेको र राजनीतिक नेतृत्वको प्राथमिकतामा पर्न नसकेको प्रस्ट हुन्छ । अवस्था कस्तोसम्म छ भने, अन्तरसम्बन्धित काममा पनि अन्तरसरकारी निकायबीच उचित समन्वय हुन सक्दैन । सञ्चार मन्त्रालयले आफ्नो मन्त्रालयसँग सम्बन्धित डिजिटल फाउन्डेसनको संरचना बनाउने केही काम गरे पनि अन्य मन्त्रालयसम्बद्ध काम गर्न सकेको छैन । कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारका सार्वजनिक सेवा सुधार्ने काम थाती नै छन् । एकातिर, मन्त्रालय–मन्त्रालयबीच जुँगाको लडाइँकै कारण कामहरू अलपत्र छन् भने सबैलाई समेट्न प्रधानमन्त्रीलाई नेतृत्वमा राख्दा व्यस्तता लगायतका कारण काम बढ्न नसक्ने स्थिति छ ।

डीएनएफ अन्तर्गतकै डिजिटल नेपाल एक्स्लेरेसन प्रोजेक्ट (डीएनए) का लागि नेपाल सरकारले विश्व बैंकबाट १४ करोड अमेरिकी डलर (१८ अर्ब २० करोड रुपैयाँ) ऋण लिने सम्झौता भइसकेको छ । निर्देशक समिति लगायतले काम गर्न नसकेपछि गत भदौमा सरकारले प्रधानमन्त्रीकै अध्यक्षतामा विद्युतीय सुशासन आयोग गठन गरेको छ, जसका निम्ति प्रमुख कार्यकारी अधिकृत पनि नियुक्त गरिएका छन् । तर अहिलेसम्म न सचिवालय बनाइएको छ, न बजेट व्यवस्था नै गरिएको छ । यही अकर्मण्यताको मारमा परेको छ, मुलुकको अनलाइन सेवा प्रणाली तथा साइबर सुरक्षा । यसका कारण सेवाग्राहीहरूले अनावश्यक सास्ती त बेहोर्नुपरेको छ नै, गोपनीयताको सुरक्षा लगायतका चुनौती पनि थपिएका छन् । नागरिकहरूको डिजिटल तथ्यांकको मात्रा बढ्दै जानु तर यसको सुरक्षाका लागि आवश्यक पूर्वाधारहरू मजबुत नतुल्याइनु अति नै चिन्ताजनक अवस्था हो ।

त्यसैले सूचना प्रविधिको आजको युगमा साइबर सम्बन्धी संवेदनशीलतालाई सरकारले गम्भीरतापूर्वक बोध गर्नैपर्छ । सेवाग्राहीको चाप न्यूनाधिक जे होस् कुनै पनि सरकारी वेबसाइटमा घरीघरी गम्भीर समस्या आइरहने दुरवस्था अन्त्य गर्नुपर्छ । शनिबार भएको घटनाबारे अनुसन्धान गरी यथाकारण त पत्ता लगाउनुपर्छ नै, भविष्यमा पनि यस्ता आक्रमण नहोऊन् भनेर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्छ । र, डेटा सेन्टरलाई स्रोतसाधन र दक्ष प्रविधि–जनशक्तिले सुसम्पन्न तुल्याउनुपर्छ । यस सम्बन्धी संयन्त्रहरूमा समयानुकूल सुधार गर्नुपर्छ । र हर कामका लागि निजी क्षेत्रमा निर्भर नभै सरकारी निकायमै प्रविधिज्ञहरू भर्ना गर्नुपर्छ । सेवाप्रवाहको अविच्छिन्नताका निम्ति मात्र होइन, संवेदनशील तथ्यांकको सुरक्षाका निम्ति पनि सरकार गम्भीर बन्नुपर्छ । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनका अनुसार ग्लोबल साइबर सेक्युरिटी इन्डेक्समा सयमा ४४.९९ अंकका साथ नेपाल ९४ औं स्थानमा छ, यो अवस्थामा सुधार ल्याउनुपर्छ ।

प्रकाशित : माघ १७, २०७९ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×