अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने

रासस

काठमाडौँ — अनुमति बिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै अनुमति बिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने जनाएको छ ।

“वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको र बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान गरेको छैन”, बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

बोर्डले वस्तुको विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्न पूर्व स्वीकृतिका लागि निवेद दिनेसम्बन्धी यही असोज २ मा सूचना प्रकाशन गरेको थियो । तर, सर्वोच्च अदालतको अल्पकालीन आदेशले सम्पूर्ण प्रक्रिया स्थगित छन् । वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था छ ।

बोर्डले हालसम्म वस्तु विनिमय बजारसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको बताएको छ । बिना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत् वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न लगानीकर्तालाई बोर्डले आग्रह गरेको छ ।

प्रकाशित : माघ १५, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

इरानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प‚ २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — इरानको उत्तर-पश्चिम क्षेत्रको खोय भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी २ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी मानिसहरू घाइते भएका छन् । भूकम्पबाट दर्जनौं घरहरू क्षतविक्षत भएको इरानको सरकारी समाचार संस्था आईआरनए न्युज एजेन्सीले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार राति पौने १० बजे गएको उक्त भूकम्पमा परी ३ सयभन्दा बढी मानिस घाइते भएको जनाइएको छ । उत्तर-पश्चिम इरानको पूर्वी क्षेत्र अजरबैजान प्रान्तको खोय सहरलाई केन्द्रबिन्दु बनाई भूकम्प गएको आईआरनए न्युज एजेन्सीले उल्लेख गरेको छ । यो टर्कीसँगको सीमाक्षेत्र नजिकै रहेको क्षेत्रसमेत हो ।

क्षतीको यकिन विवरण भने आइसकेको छैन । समाचार एजेन्सी एएफपीका अनुसार अजरबैजानका गभर्नर सादिक मोतमदिनको भनाइलाई उद्धृत गर्दै आईआरएनएले भूकम्पका कारण हालसम्म २ जनाको मृत्यु भएको र ५०० भन्दा धेरै मानिसहरू घाइते भएको उल्लेख गरेको छ ।

भूकम्पको झट्का इरानमा मात्रै नभएर टर्की‚ इराक‚ आर्मिनिया र अजरबैजानमा पनि महसुस गरिएको भूकम्पबारे जानकारी दिने युरोपेली-भूमध्यसागरीय केन्द्रले बताएको छ ।

प्रकाशित : माघ १५, २०७९ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×