सहकारीबाट ७ करोड फिर्ता माग्दै प्रदर्शन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
खोटाङ — लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले करिब ७ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने मागसहित दिक्तेल बजारमा प्रदर्शन गरेका छन् । सञ्चालक समितिको हेलचेक्य्राइँले सहकारी डुबाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![सहकारीबाट ७ करोड फिर्ता माग्दै प्रदर्शन](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/sahakariandoloankavrey-2512023032343-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
४ हजार ५ सय बचतकर्ताको जीवनभरको कमाइ डुबेकाले आन्दोलन गर्नुपरेको स्थानीय धनीराम राईले बताए । सहकारीका तत्कालीन अध्यक्ष स्वर्गीय अनिल जोशी र प्रबन्धक रुकु जोशीले आफूहरूको रकम अपचलन गरेको बचतकर्ताको भनाइ छ ।
अध्यक्ष जोशीले आफन्तका नाममा रहेको खातामा रकम जम्मा गरेको पाइएकाले फिर्ता गर्न पहल सुरु गरिएको सहकारीका निमित्त व्यवस्थापक सुमना राईले बताइन् । ०७८ वैशाख १५ मा कोरोना संक्रमणले अनिलको निधन भइसकेको छ । राईका अनुसार जोशीकी बुहारी रविना श्रेष्ठ जोशीको ज्योति विकास बैंकमा रहेको खातामा २ करोड ४१ लाख ५७ हजार ५ सय ५८ रुपैयाँ, भान्जा दीपेन्द्र श्रेष्ठको सेन्चुरी कमर्सियल र ज्योति विकास बैंकको खातामा ४३ लाख १५ हजार ७ सय ५०, भाइ सन्तोष जोशीको सेन्चुरी कमर्सियल बैंकको खातामा ८५ हजार, अर्का भाइ ईश्वर जोशीको राष्ट्रिय वाणिज्य बैंकको खातामा १९ लाख ९५ हजार ३ सय ५० लगायत अन्य विभिन्न नातेदारको खातामा गरी ३ करोड ६१ लाख ६ हजार रुपैयाँ जम्मा गरेको देखिन्छ । उक्त रकम किन जम्मा गरियो भन्ने खुल्न नसकेको राईको भनाइ छ ।
यसबाहेक हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कित्ता नम्बर ८९३ को तीन रोपनी दुई आना र कित्ता नम्बर ८९४ को तीन रोपनी, एक पैसा, एक दाम गरी ६ रोपनी तीन आना एक पैसा एक दाम जग्गासमेत आफ्नै सहोदर भाइ सुनील जोशीको नाममा पास गरेको पाइएको सहकारीका तत्कालीन सचिव मनोज राईले सुनाए । यसरी अनियमित तवरले गरिएका क्रियाकलापका कारण सहकारी डुबाइएकाले जोशीका परिवारविरुद्ध माघ ५ मा ठगी मुद्दा दायर गरिएको छ ।
उक्त निवेदनमा जोशीका भाइ सुनील, बुहारी रविना, बुवा हरिप्रसाद, तत्कालीन सहकारीकी प्रबन्धक रुकु जोशीलगायत अन्य आफन्त तथा साथी जसुदा पौडेल, राम श्रेष्ठ, ईश्वर श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, सिर्जना खड्का, सन्तोष जोशी, देवराज सुवेदी, जानकी कक्षपति, कविता तिमल्सिना र सन्देश जोशीको समेत नाम उल्लेख छ । उनीहरूले संस्थाको रकम अपचलन, हिनामिना तथा ठगी गरेको निवेदनमा उल्लेख छ । यसबारे अनुसन्धान भइरहेको खोटाङका डीएसपी मन्जिल मुकारुङले बताए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)