तानमा ढाका कपडा बुनेर घरमै आम्दानी

ढाकाका सामान किन्न सांसद, नेतालगायत विभिन्न संघसंस्थाका कर्मचारीसमेत आउँछन्
सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको सियारी–६ की २६ वर्षीया वसन्ती सूर्यवंशी बिहानदेखि साँझसम्म व्यस्त हुन्छिन् । बिहान १० बजे घरको सबै धन्दा सकेर काममा जाने उनी साँझ ५ बजेपछि फर्किन्छिन् । दिनभरि तानमा बसेर ढाकाका साडी बुन्ने उनले घरखर्च चलाउन आँगनकै रोजगारीले सघाएको बताइन् ।

तानमा ढाका कपडा बुनेर घरमै आम्दानी

२० वर्षमा विवाह गरेर आएकी उनले स्नातक दोस्रो वर्ष पढ्दा पढ्दै छाडिन् । पढ्न छाडे पनि केही सीप सिकेर अघि बढ्नुपर्छ भन्ने लागेर गाउँमै तालिम लिएर अहिले त्यसैबाट आम्दानी गरिरहेको उनको भनाइ छ । ‘मासिक ३ वटा साडी बुनेर सक्छु,’ उनले भनिन्, ‘हातले बनाएको ढाकाको प्रतिसाडी ३ हजार रुपैयाँका दरले बिक्री हुन्छ ।’

गाउँमा रहेको महिला समूहका अगुवाले ढाका बुन्ने तालिम आएको जानकारी गराएपछि अवसर सदुपयोग गरेको सूर्यवंशीले बताइन् । ‘तीनमहिने सिकाइले ढाका बुन्ने सीप सिकायो,’ उनले भनिन्, ‘तानमा बसेर साडी, चोलो, ब्लाउज, पछ्यौरालगायत विभिन्न ढाकाका कपडा बुनेर ग्राहकलाई बिक्री गरी पैसा कमाउँछु ।’ सूर्यवंशी आफ्नो समूहकी अगुवा हुन् । अरूलाई नआएको काम उनले सिकाइदिन्छिन् । उनी जस्तै सियारी–७ की पूजा अधिकारी तानमा बसेपछि एउटा पछ्यौरा नबुनी उठ्दिनन् । तानमा उनको हात अत्यन्तै छिटो चल्छ ।

‘आफूले गर्न सके जति कमाइने भएपछि रहर लाग्छ,’ उनले भनिन्, ‘जति धेरै मिहिनेत र उत्पादन, त्यति कमाइ ।’ विगत २ वर्षदेखि चलिरहेको उद्योगमा काम गरेर ढाका बुन्न सक्ने महिला भन्ने पहिचान बनाएकामा खुसी लाग्ने गरेको उनले बताइन् । काम गर्दा साथीभाइसँग हँसीमजाक गर्ने, दुःखसुख साट्ने गर्दा जति नै पीडा भए पनि मन हल्का हुने गरेकाले काम नछाडीकन गरिरहेको उनको भनाइ छ । ‘घरमा दुई–चार पैसा चाहिए पनि कि त श्रीमान्को मुख ताक्नुपर्ने कि अर्काकामा मजदुरी गर्न जानुपर्थ्यो,’ उनले भनिन्, ‘सीपसँगै आम्दानी पनि राम्रो हुँदै आएको छ, यसैलाई सकुन्जेल गर्नेछु ।’ ढाकाको कमाइबाटै छोराछोरीको पढाइ खर्च र घरको आर्थिक गर्जो टार्न सक्दा आफूलाई आत्मसन्तुष्टिसमेत मिलेको अधिकारीले बताइन् ।

वसन्ती र पूजासहित ८ जना स्थानीय महिलाले प्रत्यक्ष रोजगारी पाइरहेको सियारी गाउँपालिका–७ मा रहेको सियारी ढाका उद्योग स्थानीय बजारमा नाम कमाएको उद्योगमा पर्छ । उक्त उद्योग विगत २ वर्षदेखि सञ्चालित छ । तत्कालीन गाविस छँदा गाउँका महिलाले केही रकम भए पनि बचत गर्नुपर्छ भन्ने उद्देश्यले बचत समूह बनाएका थिए । ५ रुपैयाँ बचतबाट सुरु भएको समूह हाल श्री नारी एकता महिला विकास बचत ऋण तथा सहकारी संस्था लिमिटेडका नामबाट परिचित छ । ०६३ सालमा स्थापित संस्थामा ७ सय ५० बढी महिला सदस्य रहेको अध्यक्ष हुमा भुर्तेलको भनाइ छ । नारी एकताकै पहलमा स्थानीय महिला दिदीबहिनीलाई तीनमहिने ढाका बुनाइ तालिम दिइएको थियो ।

तालिमबाट सिकेर अघि बढेका महिलालाई रोजगार प्रदान गर्न सियारी गाउँपालिकाको कार्यालयबाट पहिलो वर्ष ८ लाख र दोस्रो वर्ष ५ लाख रुपैयाँ सहयोग प्राप्त गरेपछि स्थानीय बजार लक्षित ढाका उद्योग सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् । सहकारीकी पूर्वअध्यक्ष इन्दिरा अर्याल पाल्पाकी ढाका व्यवसायी थिइन् । उनी सियारीमा बसाइँ सरेर आएपछि महिला लक्षित कार्यक्रम गर्नुपर्छ भन्ने सोचअन्तर्गत ढाका बुन्ने तालिम चलाइएको भुर्तेलले बताइन् । एक/दुई वटाबाट सुरु गरेकामा अहिले ६ वटा तानमा ढाकाका साडी, सल, थान कपडा आदि बुनिने गरेको पूर्वअध्यक्ष अर्यालले जनाइन् ।

दिनभरि घरमा फाल्तु बस्नुभन्दा दिदीबहिनीले आफैं कमाएर परिवारको खर्च धान्न सक्ने र सिकाएपछि काममा आउने तालिम दिनुपर्छ भन्ने लागेर तालिम दिइएको उनले बताइन् । ‘हामीले उद्योग चलाएर स्थानीय महिलालाई अघि बढाउने पहल नै थालेका हौं,’ उनले भनिन्, ‘स्थानीय सरकार आएपछि हामीले पाएको सहयोगले उद्योग फराकिलो बनाउँदै अघि बढ्नेछौं ।’ हाल पालिकाबाट विनियोजित ३ लाख रुपैयाँबाट थप तान बनाई अन्य महिलालाई समेत स्वरोजगार बन्ने माध्यममा जोड्ने उनको भनाइ छ ।

उद्योगमा उत्पादित सामग्री सियारीको बजार, बुटवल बजार र स्थानीय अन्य पालिकाका बजारमा बिक्री हुने गरेको छ । ‘उत्पादित सबै ढाका खपत हुन्छ,’ अध्यक्ष भुर्तेलले भनिन्, ‘हातले बुनेको भनेर मन पराउने र किन्ने धेरै ग्राहक आउनुहुन्छ ।’ उद्योगका लागि सहकारीको भवन सानो भइसकेको महसुस भएकाले प्रदेश सरकारसँग भवन निर्माणका लागि बजेट सहयोग माग्ने तयारी रहेको भूर्तेलले बताइन् ।

उद्योगमा अवलोकनका साथै ढाकाका वस्तु खरिद गर्न लुम्बिनी प्रदेशका सांसद, नेतालगायत विभिन्न संघसंस्थाका कर्मचारीसमेत आउने गरेको भूर्तेलले जनाइन् । उद्योगमा विदेशी पर्यटकसमेतको आगमन गराई हातबाट बुनेका ढाकाका कपडाको बजारीकरण बढाउन सकिने उनको भनाइ छ । ‘हालसम्म बजारीकरणको समस्या छैन,’ उनले भनिन्, ‘उत्पादित सबै ढाका बिक्री भएको छ । तर यति उत्पादनले मात्रै उद्योग निरन्तर रहँदैन, यसलाई बढाएर अझ धेरैलाई रोजगारी दिने चाहना छ ।’ सहकारीले बचत संकलनबाट खर्च व्यवस्थापन गर्न सकिरहेकाले ढाकामा बढी मुनाफा नराखीकन श्रमबापतको फिर्ती रकममात्र लिएर बिक्री गरिरहेको उनको भनाइ छ ।

प्रकाशित : माघ १०, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?