बाँझो र घरघडेरी बढ्दा कृषि बालीको क्षेत्र घट्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँझो र घरघडेरी बढ्दा कृषि बालीको क्षेत्र घट्यो

सीमा तामाङ

काठमाडौँ — मुलुकमा कृषियोग्य भूमि घरघडेरीमा परिणत हुँदा र बाँझो राख्ने प्रचलन बढ्दा कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भूक्षेत्र घट्दै गएको छ । गत आर्थिक वर्ष समग्रमा देशभर कृषि बालीले ढाकेको क्षेत्र ५० लाख ६७ हजार ७३५ हेक्टर थियो । जुन अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ९ प्रतिशतले कम हो । अघिल्लो वर्ष यस्तो जग्गा ५१ लाख १४ हजार ७५९ हेक्टर थियो ।

भूक्षेत्र घटे पनि यस्ता कृषि बालीको उत्पादनमा भने शून्य दशमलव ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन (एकीकृत) प्रतिवेदन र तालिकामा उल्लेख छ । अघिल्लो वर्ष २ करोड ३३ लाख ७८ हजार ९६ टन कृषि बाली उत्पादन हुँदा यस वर्ष २ करोड ३५ लाख ६२ हजार १६८ टन फलेको छ । मुलुकमा पूर्वाधार निर्माण गर्ने क्रम बढ्दा पनि कृषियोग्य भूमि घटिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । प्लटिङमार्फत कृषियोग्य भूमिलाई घरघडेरीमा परिणत गर्दा र भएका जग्गाजमिन पनि बाँझो राख्ने प्रचलन बढ्दा कृषि बालीले ढाकेको भूक्षेत्र घटेको उनले स्विकारे ।

कृषि बालीले ढाकेको क्षेत्र सबैभन्दा बढी कर्णाली र सबैभन्दा कम मधेस प्रदेशमा घटेको प्रतिवेदनमा छ । गत वर्ष वाग्मतीमा खाद्य तथा अन्य बालीले ढाकेको भूक्षेत्र १.२ प्रतिशतले बढेको छ । कृषि बालीको उत्पादन भने २.२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । सुदूरपश्चिममा कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भूक्षेत्र घटेको छ । अघिल्लो वर्ष शून्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदा गत वर्ष ४.२ प्रतिशतले ह्रास आएको हो ।

मधेसमा पनि कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्रफल ०.१ प्रतिशतले बढेको छ । प्रदेश १ मा पनि कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष १.५ प्रतिशतले बढेको थियो । लुम्बिनीमा पनि कृषि बालीले ढाकेको क्षेत्र ०.८ प्रतिशतले घटेको छ । कर्णालीमा पनि समग्र कृषि बालीले ढाकेको क्षेत्रमा ३.२ प्रतिशतले ह्रास आएको छ । गण्डकीमा पनि १.० प्रतिशतले घटेको छ ।

समग्र कृृषि बालीको भूक्षेत्र घटे पनि मुलुकमा तरकारी, फलफूल र मसलाका उत्पादन क्रमशः ७.०, ४.९ र ५.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन ३.९, मासु उत्पादन ४.५ र अन्डा उत्पादन ३.५ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनअन्तर्गत सबैभन्दा बढी दाउरा उत्पादन ५८.८ प्रतिशतले बढेको छ । सबैभन्दा कम काठ उत्पादन १३.१ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल भने १.६ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो क्षेत्रफल ०.९ प्रतिशतले बढेको थियो ।

खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा प्रदेश १ को हिस्सा सबैभन्दा बढी २१.१ र कर्णालीको सबैभन्दा कम ६.३ प्रतिशत छ । तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा वाग्मतीको हिस्सा सबैभन्दा बढी ५२.७ र सबैभन्दा कम कर्णालीको ४.५ प्रतिशत छ ।

फलफूल बालीले ढाकेको क्षेत्रफलमा सबैभन्दा बढी मधेसको ३४.५ प्रतिशत छ । सुदूरपश्चिममा ने ५.७ प्रतिशत मात्रै छ । मसला बालीले ढाकेको क्षेत्रफलमा प्रदेश १ को हिस्सा सबैभन्दा बढी ३९.४ प्रतिशत र गण्डकीको ७.१ प्रतिशत मात्रै छ ।

क्षेत्रफलका आधारमा फलफूलमा मात्रै मधेस अघि रहँदा उत्पादनका आधारमा भने खाद्य तथा अन्य बाली, तरकारी तथा वागवानी र फलफूलमा समेत मधेसकै वर्चस्व छ । खाद्य तथा अन्य बाली उत्पादनमा मधेसको सबैभन्दा बढी २७.३ प्रतिशत छ । सबैभन्दा भने कम कर्णालीको ४.७ प्रतिशत मात्रै छ । तरकारी तथा वागवानीमा पनि मधेस नै अघि छ । कर्णाली भने ४.५ प्रतिशतले पछि छ । फलफूलमा समेत मधेसको हिस्सा ३२.५ प्रतिशत हुँदा सुदूरपश्चिमको ६.३ प्रतिशत मात्रै छ । मसलाजन्यमा भने प्रदेश १ को सबैभन्दा बढी २७.५ प्रतिशत छ भने गण्डकीको ९.५ प्रतिशत मात्रै छ ।

हालसम्म देशभर ३ खर्ब १५ अर्ब ६१ करोड रुपैयाँ क्षेत्रगत कृषि कर्जा विस्तार भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष ४२ प्रतिशतले कर्जा विस्तार वृद्धि हुँदा गत वर्ष १४.२ प्रतिशत कर्जा विस्तार भएको हो । कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६९ अर्ब ४४ करोड कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाह हुँदा सबैभन्दा कम सिँचाइमा १३ करोड १ लाख रुपैयाँ मात्रै प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा सबैभन्दा बढी वाग्मतीमा ३४.४ प्रतिशत प्रवाह हुँदा सबैभन्दा कम कर्णालीमा १.६ प्रतिशत मात्रै छ । यस्तै प्रदेश १ मा १७.३, मधेसमा १७.१, गण्डकीमा ८.९, लुम्बिनीमा १५.९ र सुदूरपश्चिममा ४.८ प्रतिशत छ ।

प्रकाशित : माघ ६, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

४६ पालिकामा पुगेन राष्ट्रिय बिजुली

केही ठाउँमा सोलारको भर छ तर घाम नलागेका बेला न सोलार चार्ज हुन्छ, न त्यसले उज्यालो दिन्छ अनि गाउँ नै अन्धकारमय बन्छ ।
सीमा तामाङ

काठमाडौँ — भोजपुरस्थित हतुवागडी–२ रानीबासकी सुम्निमा राई कक्षा १० मा पुगिसकिन् । तर उनले बिजुली बत्तीको उज्यालोमा पढ्न पाएकी छैनन् । टुकी बत्ती हुँदै सोलारको उज्यालोमै उनको दैनिकी बित्दै छ । तर घाम नलागेका बेला न सोलार चार्ज हुन्छ, न त्यसको बत्ती बल्छ । अनि गाउँ नै अन्धकारमय बन्न पुग्छ । 

‘सोलार नबल्दा टुकी बत्तीको उज्यालोमा खाना पकाउँछौं, खान्छौं,’ उनले भनिन्, ‘बिहान, दिउँसोको उज्यालो र सोलारको उज्यालोमा मात्रै पढ्न पाउँछौं ।’ रानीबासका हरेक घरमा छुट्टै सोलार पनि चार्ज गरेर राखिएको हुनेसमेत उनले सुनाइन् । तर लगातार पानी पर्दा, घाम नलाग्दा सोलारको समेत चार्ज सकिएर बन्द हुने र टुकी बत्तीको भर पर्नुपरेको उनले जनाइन् ।

‘गाउँपालिकाको चुनावअघि नै बत्तीको पोल गाड्न खाल्डो खनेका थियौं, मंसिरको चुनाव आउनुभन्दा अलि अघि पोल पनि गाडिसक्यौं,’ उनले भनिन्, ‘अब बत्तीको उज्यालोमा पढ्न पाइने भयो, बत्ती आउने भयो भनेको अझै आएन ।’

आम निर्वाचनअघि नै पोल गाड्ने काम भए पनि त्यसपछि केही प्रगति हुन सकेन । न तार तन्काउन थालियो । न बत्ती ल्याउने काम नै सुरु हुन सक्यो । सोलार चार्ज नहुँदा राति पढ्न र गृहकार्यसमेत गर्न नपाइने उनले सुनाइन् । ‘घाम नलागेका बेला सोलार चार्ज हुँदैन, त्यसपछि न पढ्न पाइन्छ, न अरू केही,’ उनले भने, ‘कहिले पानी पर्छ, कहिले घाम लाग्दैन ।’

मुलुक लोडसेडिङमुक्त भइसक्दा पनि भोजपुरस्थित हतुवागडी गाउँपालिकामा बल्ल १८.७५ प्रतिशतले विद्युतीकरण भएको छ । भोजपुरकै आमचोक र साल्पासिलिछो गाउँपालिकामा अझै विद्युतीकरण हुन सकेको छैन । बाजुरास्थित गौमुल गाउँपालिका पनि विद्युत्विहीन हो । गौमुल–२ का लक्ष्मण रोकाया बाजुराकै सदरमुकाम मार्तडीमा पढ्न बसेका छन् । ‘मार्तडी बजारमा समेत राष्ट्रिय प्रसारण लाइन पुगेको महिना दिन मात्र भयो । यहाँ पहिला त्रिवेणी जलविद्युत् आयोजनाको बत्ती बाल्थ्यौं,’ उनले भने, ‘सदरमुकाममा बत्ती आइपुगे पनि हाम्रोमा छैन ।’

‘सदरमुकाम आउँदा मोबाइल, टर्च लाइट, सोलार चार्ज गरेर फर्कन्छौं र केही दिनलाई काम चल्छ,’ रोकायाले भने, ‘उज्यालोका लागि झरो नै बाल्छौं, जिजुबाजेले पनि त्यही बाल्नुभयो, हामी पनि त्यही बाल्दै छौं, हाम्रा सन्ततिले पनि त्यही बाल्छन् जस्तो छ ।’ राजनीतिक दलका प्रतिनिधिले बत्ती ल्याउने घोषणा सधैं गर्ने गरे पनि अहिलेसम्म आफूहरूले राष्ट्रिय प्रसारणको बिजुली उपभोग गर्न नपाएको उनको भनाइ छ । बाजुराको २९ हजार ८४ घरधुरीमध्ये १३.४४ प्रतिशतमा मात्रै विद्युतीकरण भएको छ ।

गौमुलसहित बाजुराका हिमाली, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, जगन्नाथ गाउँपालिका पूर्णरूपमा विद्युत्विहीन छन् । भोजपुर र बाजुराका जस्तै मुलुकका ४६ पालिकामा नेपाल विद्युत् प्राधिकरणले बिजुली पुर्‍याउन सकेको छैन ।

मुलुकका ४७१ पालिकामा मात्र ९० देखि १ सय प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्यांक ०७९ मा उल्लेख छ । ११३ पालिकामा ६५ देखि ९० र ४५ पालिकामा ३५ देखि ६५ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणको तथ्यांक छ । मुलुकका ६३ पालिकामा ५ देखि ३५ र १५ पालिकामा शून्यदेखि ५ प्रतिशत विद्युतीकरण भएको छ ।

कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युत् पहुँच पुगेको प्राधिकरणले जनाएको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशतले राष्ट्रिय ग्रिड र ०.१४ प्रतिशतले ग्रिडबाहिरबाट विद्युत् पाएका छन् । सबैभन्दा बढी मधेसमा ९९.९५ र सबैभन्दा कम कर्णालीमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश १ मा ९१.२३, वाग्मतीमा ९७.४७, गण्डकीमा ९७.७६, लुम्बिनीमा ९६.७३ र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले बताएको छ ।

राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य, लघु जलविद्युत् (माइक्रोहाइड्रो) लगायतमार्फत विद्युतीकरण गर्ने सरकारको कार्यक्रम छ । प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआईबी) बाट २० अर्ब सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युतीकरण गर्दै छ ।

०८२ सालभित्र देशभरका सबै घरघरमा बत्ती पुर्‍याउने गरी काम भइरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । सबै पालिकामा विद्युतीकरणका लागि धमाधम टेन्डर भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । धेरै योजनामध्ये केहीको सम्झौता भइसकेको र कुनै सम्झौता हुने चरणमा रहेको उनको भनाइ छ । कुनै भने ठेक्का प्रक्रियामा गइसकेको उनले जनाए ।

प्रकाशित : पुस २७, २०७९ ०९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×