कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

१५ दिनभित्रै काठमाडौंका सडक खाल्डाखुल्डी मुक्त हुनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकाका सडक खाल्डाखुल्डी मुक्त बनाउन उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थालेका छन् । श्रेष्ठले काठमाडौं उपत्यकामा १५ दिनभित्र र देशभर १ महिनामा खाल्डाखाल्डीमुक्त सडक बनाउने मन्त्रालयको योजनाअनुसार सक्रिय हुन सम्बन्धित सबैलाई निर्देशन दिए ।

१५ दिनभित्रै काठमाडौंका सडक खाल्डाखुल्डी मुक्त हुनुपर्छ : मन्त्री श्रेष्ठ

श्रेष्ठले बुधबार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, उपत्यकाका तीन वटै सडक डिभिजनका प्रमुख, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, ललितपुरका मेयर चिरिबाबु महर्जन, काठमाडौं उपत्यका विकास प्राधिकरण आयुक्त जानुका ढकाल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायतका सरोकारवालालाई बोलाएर छलफल गरेका हुन् ।

छलफलमा मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका सडक ज-जसको मातहतमा हो, त्यसको पहिचान गरी सम्बन्धित पक्षले सडकको अवस्था निर्क्यौल गरी गुणस्तरीय बनाउन आग्रह गरे । सडकमा समस्या भए वा मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायले तुरुन्तै काम गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । ‘अब हिजोको जुन शैलीमा काम हुन्थ्यो, त्यसमा परिवर्तन आवश्यक छ, यो वा त्यो बहानामा काम ढिलो हुनु हुँदैन’ उनले भने, ‘काठमाडौं उपत्यकाका सडकलाई एउटै फ्रेममा ल्याएर काम गर्न पनि निर्देश गर्छु ।’

कार्यक्रममा मेयर बालेन्द्र शाहले मन्त्रालय, सडक विभागलगायत अन्य निकायसँग समन्वय गर्न आफू तयार रहेको बताए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने सार्वजनिक खरिद ऐन, २०६३ मा आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित : माघ ४, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×