जनकपुरका व्यवसायी भन्छन् : पर्यटकको ओइरो छ, तर व्यापार छैन

श्यामसुन्दर शशि

जनकपुर — मंसिर दोश्रो सातादेखि जनकपुरमा दैनिक २ हजारभन्दा धेरै पर्यटक आउने गरेका छन् । तर बसमा आउने यी पर्यटकहरुबाट जनकपुरका व्यावसायीहरूले खासै लाभ भने लिन सकेका छैनन् ।

स्थानीय व्यावसायीहरु हाकाहाकी भन्छन् –‘देख्दा पर्यटकको ओइरो छ तर व्यापार भने पटक्कै छैन ।’ मंसिर दोश्रो सातादेखि माघ दोश्रो सातासम्म करिब दुई महिना दैनिक २ हजारभन्दा अधिक पर्यटक जनकपुर आउने गरेको जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण बताउँन् । रमणका अनुसार पछिल्लो पटक शैक्षिक भ्रमण,कर्मचारीहरुको भ्रमण तथा जानकी दर्शनका लागि दैनिक सयौं आन्तरिक पर्यटक पनि यहाँ आउन थालेका छन् ।

‘होटलमा बस्ने, रेष्टुरेन्टमा खाना खाने, वरिपरिका धार्मिक स्थलहरुको अवलोकन गर्ने अनि सर–सामान खरिद गर्ने आन्तरिक तथा वाह्य पर्यटक खर्च गरेर जान्छन् तर खानपिनका सामानसहित बसमा आउने, आफैं खाना पकाउने अनि आएकै दिन फिर्ता जाने भारतीय पर्यटकबाट जनकपुरको व्यावासायीलाई खासै लाभ छैन,’ वरिष्ठ उपाध्यक्ष रमणले कान्तिपुरसँग भने ।

भन्सार कार्यालय जनकपुरबाट प्राप्त जानकारी अनुसार डिसेम्बर ३१ तारेखको दिन ८ सय तथा जनवरी १ तारिखको दिन १६ सय चार प्यांग्रे गाडी जटही नाकाबाट जनकपुर प्रवेश गरेका थिए । अचेल दैनिक १५० भन्दा अधिक गाडी जनकपुर आउFछन् । यसका अतिरिक्त विद्यालय अध्ययन अवलोकन, कर्मचारीहरुको भ्रमण आदि प्रयोजनका लागि पनि त्यतिकै संख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

अचेल जनकपुरका गोपाल धर्मशाला, पगलाबाबा धर्मशाला, माडवारी सेवा समिति, रौनियार धर्मशाला लगायत धर्मशाला मात्र होइन होटल सीताशरण, मानकी, वेलकम, रामासहितका होटल तथा लजहरु पनि भरिभराउ छन् । गोपाल धर्मशालामा मात्र दैनिक १२ देखि १५ वटा ठूला बस आउने गरेका छन् । जसमा एक हजारभन्दा धेरै पर्यटक हुन्छन् ।

स्थानीय व्यवसायीहरूका अनुसार तर ती पर्यटकहरु दिनभर मात्र बस्छन् । आफैसँग ल्याएका खाद्यान्नबाट खाना पकाउँछन् । खान्छन् अनि सोही दिन भारत फिर्ता जान्छन् । यसरी पर्यटकहरू आउने गरे पनि यसले पर्यटन व्यवसायमा पर्याप्त लाभ नमिल्ने स्थानीय व्यवासायहरूको भनाइ छ ।

प्रकाशित : पुस २५, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्

मेरो नाम मात्रै लिन निषेध गरिएको ठाउँमा उभिँदा नयाँ अनुभूति भयो : राउत

कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भएको बताए । 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राउतले भने, 'कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अभुनूति दिएको छ । यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु ।'

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दलहरूमा उत्साह र आवेग रहेको भन्दै दिएको अभिव्यक्तिमा राउतले भने, 'प्रधानमन्त्रीले नयाँ दलहरुमा आवेग पनि छ भन्नुभयो । हामीमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान पनि रहेको छ । नयाँ दलहरूमा रहेको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा रहेको हो । त्यसलाई सकरात्मक परिवर्तनको लागि प्रयोग गरिनेछ ।'

राउतले मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै संघीयतालाई थप बलियो बनाउनुपर्ने उनको धारणा थियो । विगतमा दरबारमा टिकट काटेर पनि हेर्न नपाउने मुलुकको सर्वोच्च निकायमा जनताको सन्तान पुगेको भन्दै जनमत पार्टी गणतान्त्रिक व्यवस्थाप्रति कटिबद्ध रहेको बताए । उनले लोकतान्त्रिक व्यवस्थाको निम्ति जनमत पार्टी सदैव लाग्ने धारणा राखे । यस क्रममा उनले नयाँ पार्टीहरू लोकतान्त्रिक व्यवस्थाकै कारणले संसद्मा पुगेको बताए ।

सरकारले बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीका आकांक्षा पूरा गर्न लाग्नुपर्ने राउतको भनाइ थियो ।

राउतले आफ्नो निर्वाचन क्षेत्रबाट विगतमा संसद्मा प्रतिनिधित्व गर्ने स्वर्गीय गजेन्द्रनारायण सिंहलाई स्मरण गरेका थिए । मंसिर ४ को निर्वाचनमा आफूसँग पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति पनि सम्मान रहेको भन्दै उनले स्मरण गरेका थिए ।

प्रकाशित : पुस २५, २०७९ २०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×