२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

विकास खर्च बढाउन भौतिक मन्त्रीलाई परिसंघको आग्रह

काठमाडौँ — उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नेपाल उद्योग परिसंघले विकास खर्च बढाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले पूर्वाधारको क्षेत्रमा लगानीको आवश्यकता रहेकोमा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरेको हो ।

विकास खर्च बढाउन भौतिक मन्त्रीलाई परिसंघको आग्रह

अध्यक्ष अग्रवालले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए । ‘पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको छ,’ उनले मन्त्रीसमक्ष भने, ‘निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग छिटो समन्वय गरी, विकास खर्च बढाउन एवम् बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिन सुझाव दिन चाहन्छौं ।’

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा उपप्रधानमन्त्री श्रेष्ठ समक्ष पेश गरे । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्रमा रहेको तरलता संकट हटाउनुपर्ने तथा उच्च ब्याजदर घटाउनुपर्ने सुझाव दिएको छ ।

औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत परिसंघले सुझाएको छ । मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्त्वपूर्ण रहेको बताए । ‘जहाँ समस्या छन्, समाधान गर्दै, कमजोरी भएका ठाउँमा सच्याउँदै र जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं,’ मन्त्री श्रेष्ठले भने ।


प्रकाशित : पुस १९, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?